Logo

कसले पाउला स्याटेलाइट राख्ने जिम्मा, छनोट गर्न समिति बन्दै

कसले पाउला स्याटेलाइट राख्ने जिम्मा, छनोट गर्न समिति बन्दै


रक्षा रेग्मी
0
Shares

काठमाडौं । नेपाल दुरसञ्चार प्राधिकरणले नेपालको भूउपग्रह (स्याटेलाइट) राख्न इच्छुक कम्पनीको पहिलो सूची(सर्ट लिष्ट) टुङ्गो लगाउन छनोट समिति गठन गर्ने भएको छ । समितिमा नेपाल दूरसञ्चार प्राधिकरणका प्रतिधिलगायत यस क्षेत्रका विज्ञ रहने छन् । समितिले पहिलो चरणमा स्याटेलाइटका लागि आवेदन दिएकामध्ये उत्कृष्ट ६ कम्पनी छनोट गर्ने नेपाल दूरसंचार प्राधिकरणले जानकारी दिएको छ ।

प्राधिकरणले आह्वान गरेको बोलपत्रमा विभिन्न मुलुकका २० कम्पनीले स्याटेलाइट राख्न प्रस्ताव पेस गरेका थिए । ती कम्पनीले पेस गरेको प्रस्तावको अध्ययन गरेर पहिलो चरणको सूची(सर्ट लिष्ट) तयार गरिने प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले जानकारी दिए । सर्ट लिष्टमा पर्ने कम्पनीसँग थप व्यवसायिक र वित्तीय प्रस्ताव माग गरिने पनि उनले बताए । ‘सर्ट लिष्ट तयार गर्न कम्तीमा एक महिना लाग्छ,’ अर्यालले भने ‘त्यसपछि सूचीमा परेका कम्पनीसँग व्यावसायिक योजना माग गर्छौं ।’ स्याटेलाइट सम्बन्धी कम्तिमा ५ देखि १० बर्षको अनुभव भएको कम्पनीमात्र सर्ट लिस्टिङ गरिने बताइएको छ ।
उनका अनुसार चालु आर्थिक बर्षबाटै स्याटेलाइट राख्ने काम शुरु गर्ने गरी तयारी गरिएको छ । कम्पनीको प्राविधिक,आर्थिक तथा बिजनेश मोडालिटीका आधारमा उत्कृष्ट एक कम्पनी स्याटेलाइटका लागि छनोट हुनेछ ।

कम्पनी छनोटको अन्तिम प्रक्रिया र व्यवसायिक प्रक्रियाका बारेमा अन्तिम निर्णय भने सरकारले गर्नेेछ । त्यस्तै कम्पनीहरूको प्रस्ताव अध्ययन गरेर कस्तो व्यापार मोडलमा स्याटलाइट राख्ने भन्ने विषयमा भने प्राधिकरणले नै तय गर्ने बताइएको छ । सर्ट लिष्टमा छानिने कम्पनी कम्तिमा स्याटेलाइट राख्ने, सञ्चालन गर्ने र मर्मत गर्ने सम्मको हुनुपर्ने छ । कम्पनीको आर्थिक क्षमता, प्राविधिक क्षमता, कार्य अनुभव तथा संचालन अनुभवको पनि यसमा अध्ययन गरिनेछ ।

सरकाले यसअघि पनि स्याटेलाइट राख्न नेपाली कम्पनीबारे अध्ययन गरेको थियो । तर नेपाली कम्पनी योग्य नदेखिएपछि अन्तरराष्ट्रिय बोलपत्र आह्वान गरिएको हो । नेपाली कम्पनीसँग स्याटेलाइट सम्बन्धी प्राविधिक ज्ञानका साथै लगानी समेत कमी भएकोले अन्तरराष्ट्रिय कम्पनी खोज्नु परेको अर्यालले जानकारी दिए । सूचना तथा संचार मन्त्रालयले ३ बर्षअघि गरेको प्रारम्भिक अध्ययन अनुसार स्याटेलाइट राख्न शुरुमै ३० अर्व रुपैयाँ लाग्ने देखिएको थियो । त्यस्तै स्याटेलाइट राखेको १५ वा २० बर्षपछि बर्षपछि पुनः अर्को ३० अर्व खर्च हुनेछ । स्याटेलाइटको लाइफटाइम १५ देखि २० बर्षको हुने हुँदा पछि फोरी सोही बराबरको रकम खर्च हुने बताइएको छ ।

कुन–कुन कम्पनीले पेस गरे प्रस्ताव ?

नेपालको स्याटलाइट राख्न २० वटा विदेशी कम्पनीले प्रस्ताव पेस गरेका छन् । जसमा चिनियाँँ कम्पनीहरु चाइना ग्रेटवाल इन्डस्ट्री कर्पोरेसन, चाइना रकेट कम्पनी लिमिटेड र चाइना न्यु स्पेस कमर्सिलय स्याटलाइट डिजाइन इन्ट्रिगेसन इन्कर्पोरेटेड रहेका छन् ।

यसैगरी अमेरिकी कम्पनीमा स्पेस सिस्टमरलोरल एलसीसी (एसएसएल), पउलस्याट एलसीसी र स्पेस पार्टनरसीप इन्टरनेसनल छन् ।

भारतबाट एन्ट्रिक्स कर्पोरेसन र एनिएरा कम्युनिकसेन्स एन्ड गिजरले प्रस्ताव पेस गरेकोे छ । थाइल्यान्डबाट थाइकम पब्लिक कम्पनी लिमिटेड र आजियाटा–थाइकम र सिंगापुरबाट युटेलस्याट एसिया पेट लिमिटेड र एसईएस वल्र्ड स्काइज सिंगापुर पेट लिमिटेड छन् ।

कोरियाको केटीस्याट कम्पनी लिमिटेड, क्यानडाको टेलेस्याट, इजराइलको इजराइल एरोस्पेस इन्डस्ट्रिज लिमिटेड, जापानको स्काई पर्फेक्ट जेएसएटी कर्पोसेन, फ्रान्सको थालेज एलिना स्पेस, साउदी अरबको अरब स्याट कर्पोरेट स्ट्राटेजी, रसियाको जेएससी एकेडेमिसियन एफ रेसेटनेभ (इन्फरमेसन स्याटलाइट सिस्टम) र लग्जेम्बर्गको इन्टेलस्याटले प्रस्ताव पेस गरेका छन् ।

स्याटलाइट कसरी राख्ने ?

सरकारले छानेको कम्पनीले अन्तरराष्ट्रिय मापदण्ड तथा राष्ट्रिय आवश्यकता हेरेर स्याटेलाइट राख्छ । त्यस्तै उपलब्ध स्पेक्ट्रम अनुसार डिजाइन गरि लञ्चरबाट लञ्च गर्ने छ । स्याटेलाइट अफिसमा पुग्छ । सो स्याटेलाइट कन्ट्रोल गर्न कन्ट्रोल स्टेशन बनाउनुपर्छ । जहाँबाट एन्टेना,क्षमता,व्याण्डवीथलगायतको कन्ट्रोल गरिन्छ । त्यस्तै सो कम्पनीले स्याटेलाइट आवश्यक जनशक्ति समेत तयार पार्नु पर्छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL