Logo

नेपालमा कुन मोवाइलको बजार हिस्सा कति ? सवैभन्दा अघि सामसुङ पछ्याउँदै हुवावे

नेपालमा कुन मोवाइलको बजार हिस्सा कति ? सवैभन्दा अघि सामसुङ पछ्याउँदै हुवावे


रामराजा श्रेष्ठ
0
Shares

काठमाडौं । विश्व बजारमा उच्च स्थान बनाउन सफल रहेको सामसुङ मोवाइलले नेपालमा पनि सोही अनुरुप बजार विस्तार गरेको छ । नेपालमा कुल विक्री हुने मोवाइलको ५० प्रतिशतभन्दा बढी हिस्सा सामसुङले नै ओगटेको तथ्याङ्कले देखाएको छ ।

गत आर्थिक वर्षमा नेपालमा कुल १८ अर्ब १९ करोड ७६ लाख ८५ हजार रुपैयाँ बरावरको ४९ लाख ९० हजार ९ सय थान मोवाइल सेट विक्री भएको थियो । सोमध्ये मूल्यको आधारमा सामसुङले ५३ प्रतिशत हिस्सा ओगटेको त्रिभुवन विमानस्थल भन्सार कार्यालय दिएको तथ्याङ्कमा उल्लेख छ ।

भन्सार कार्यालयले दिएको तथ्याङ्क अनुसार सामसुङले पछिल्लो ४ वर्षमा आफ्नो बजार हिस्सा १६ प्रतिशतले बढाएको छ । सन् २०१३ मा सामसुङको बजारमा हिस्सा नेपालीमा कुल विक्री हुने मोवाइलको ३७ प्रतिशत रहेको थियो । लेटेष्ट मोडल र ग्राहकको विश्वासका कारण विश्व बजारमै पछिल्लो समय सामसुङको बजार हिस्सा बढेकोे सामसुङ मोवाइलको नेपाल स्थित आधिकारी विक्रेता आईएमएस ग्रूपका अध्यक्ष दिपक मलहोत्रा बताउँछन् । तर, सामसुङ नोट ७ मा देखिएको समस्याका कारण पछिल्लो समय विश्व बजारमा सामसुङले आफ्नो बजार हिस्सा गुमाइरहेको छ ।

mobile_data

यसैगरी दोस्रो स्थानमा हुवावे मोवाइल रहन सफल भएको छ । सन् २०१६ सम्म आईपुग्दा हुवावेको बजारमा हिस्सा ८ प्रतिशत पुगेको छ । नेपाली बजारमा सन् २०१४ बाट विक्री शुरु गरेको हुवावेले सोही वर्ष १ प्रतिशत बजार हिस्सा लिएको थियो । तर, पछिल्लो समय क्रमिक रुपमा बढेको तथ्याङ्कले देखाएको छ ।

मूल्यको आधारमा कलर्स मोवाइल तेस्रो स्थानमा रहेको छ । नेपाली बजारमा पछिल्लो समय कलर्सको बजार हिस्ता उच्च रुपमा घटेको देखिन्छ । सन् २०१३ मा १६ प्रतिशत बजार हिस्सा लिन सफल भएको कलर्सले सन् २०१६ सम्म आइपुग्दा आफ्नो बजार हिस्सा गुमाउँदै ६ प्रतिशतमा सिमित हुन पुगेको छ ।

यसैगरी सन् २०१४ मै नेपाली बजारमा भित्रिएको जियोनीले पनि मूल्यको आधारमा ४ प्रतिशत बजार हिस्सा ओगटेको छ । विक्री शुरु गरेकै वर्ष १ प्रतिशत बजार हिस्ता ओगटेको जियोनीले सन् २०१५ र २०१६ मा ४ प्रतिशत हिस्सा लिन सफल भएको छ ।

पाँचौ र छैठौं स्थानमा रहेको लाभा र माइक्रो म्याक्सले आफ्नो बजार हिस्सा गुमाउँदै ३/३ प्रतिशतमा सिमित भएका छन् भने कार्वनले पनि आफ्नो बजार हिस्सा ७ प्रतिशतले गुमाउँदै ३ प्रतिशतमा झरेको छ । सन् २०१३ मा १० प्रतिशत बजार हिस्सा ओगट्न सफल भएको कार्वन सन् २०१६ सम्म आइपुग्दा ३ प्रतिशतमा खुम्चिएको छ ।

भन्सारका अनुसार नेपाली बजारमा इन्टेक्स र नोकिया मोवाइलको बजार हिस्सा २/२ प्रतिशत रहेको छ भने पानासोनीलगायत अन्य मोवाइलको बजार हिस्सा १७ प्रतिशत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL