Logo

बैशाखदेखि ‘आइएमइआई’ दर्ता नभएका मोवाइल नचल्ने, चोरी र भन्सार छली रोकिने

बैशाखदेखि ‘आइएमइआई’ दर्ता नभएका मोवाइल नचल्ने, चोरी र भन्सार छली रोकिने


रक्षा रेग्मी
0
Shares

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले राष्ट्रिय उपकरण पहिचान रजिस्ट्री (एनईआईआर) निर्देशिका लागू गर्ने भएको छ । मोवाइल चोरीको समस्या समाधान तथा राष्ट्रिय उपभोक्ता सुरक्षा प्रत्याभुती गर्ने उद्देश्यले अनुरुप प्राधिकरणले नयाँ रणनीति अपनाएको हो ।

पछिल्लो समय मोवाइल चोरी हुने र उक्त मोवइल अपहरण तथा अन्य आपराधिक क्रियाकलापमा प्रयोग हुने क्रम बढेपछि नयाँ निर्देशिका लागू गर्न लागिएको नेपाल दूरसञ्चार प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले जानकारी दिए । ‘एनईआईआर निर्देशिका बैशाख १ गतेदेखि लागु गरिने छ,’ उनले भने, ‘सो निर्देशिका कार्यान्वयमा आएपछि मोवाइलको तस्करी तथा कालोबजारी रोकिनुका साथै हराएका मोवाइलको ट्रयाकीङ तथा व्लकिङ समेत गर्ने छ ।’

प्राधिकरणका अनुसार हाल चोरी भएका मोवाइलहरु आपराधिक क्रियाकलाप प्रयोग हुने क्रम बढेको छ । निर्देशिका लागूसँगै चोरीको मोवाइल किनबेच रोकिनुका साथै आपराधिक क्रियाकलाप समेत कम हुने प्राधिकरको दावी छ । साथै, सो निर्देशिकाले भन्सार छलीलाई हटाएर देशको राजस्व बढाउन समेत सहयोग गर्ने अर्यालले जानकारी दिए ।

अर्यालका अनुसार सो व्यवस्था दुई चरणमा लागु गरिने भएको छ । जसअन्तर्गत पहिलो चरणमा नेपाल टेलिकम, एनसेललगायत सेवा प्रदायक तथा आयतकर्ताहरुले आयात गरेको मोवाइलको आइएमइआई इएसएन तथा एमइआइडी नम्बर दर्ता शुरु गर्नेछन् । यसैगरी, व्यक्तिगत मोवाइलको आइएमइआइलगायत नम्वर भने प्राधिकरणका अनुसार दर्ता गरिनेछ । हराएका तथा चोरी भएका मोवाइल सेटको ट्रयाकिङ पनि एनटिएकै निमय अनुसार गरिन्छ ।

नयाँ निर्देशिका अनुसार सेवा प्रदायकले आगामी असोजसम्ममा राष्ट्रिय उपकरण पहिचान दर्ता(एनइआइआर) जडान गर्नुपर्ने हुन्छ । साथै, दोश्रो चरणमा सेवा प्रदायकहरु आफैले ‘फ्रड म्यानेजमेन्ट सिस्टम’ लागू गर्नुपर्ने हुन्छ ।

नयाँ व्यवस्था लागूभएसँगै प्रयोगकर्ता तथा मोवाइल विक्रेताहरुको काम बाँडफाड गरिने अर्यालले जानकारी दिए । बैशाख १ देखि आइएमइआइ दर्ता नगरी नयाँ मोवाइल सेटबाट फोन गर्न मिल्ने छैन । तर, पुराना मोवाइलको हकमा भने सेवाप्रदायकहरुलाई नै अध्ययन गर्न लगाइने भएको छ । जसमा पुराना आइएमइआइ नम्वर जुधेका वा गलत भएका मोवाइलहरुलाई अन्तरिक रुपमा व्यवस्था गरिने प्राधिकरणले बताएको छ ।

एनईआईआर सिस्टम लागुभएसँगै मोवाइल चोरी भएमा तथा हराएमा तुरुन्तै ट्रयाक गर्न सकिन्छ भने त्यसबाट हुने आपराधिक क्रियाकलाप समेत कम हुनेछ । साथै, अवैधानिक रुपमा मोवाइल आयात गर्न नपाइने भएकोले भन्सार छली नहुने र देशको राजस्व समेत बृद्धि हुने अर्यालले जानकारी दिए ।

यससँगै आगामी दिनमा गलत आइएमइआइ नम्वर भएका मोवाइल बजारमा नआउने उनले बताए । एनटीएले मोवाइल विक्रेता तथा प्रयोगकर्तालाई मोवाइलको आइएमइआइ नम्बर तुरुन्त रजिष्ट्रर गर्न लगाईने छ ।

प्रतिक्रिया दिनुहोस्
MBL