Logo

एनसेलको टावरमा शृङ्खलाबद्ध आगजनी, र क्षतिप्रति नेपाल दूरसञ्चार प्राधिकरणको ध्यानाकर्षण

एनसेलको टावरमा शृङ्खलाबद्ध आगजनी, र क्षतिप्रति नेपाल दूरसञ्चार प्राधिकरणको ध्यानाकर्षण



काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले विगत केही समयको अन्तरालमा मोबाइल सेवाका टावरहरुमा क्षति पुर्‍याइ सेवा अवरुद्ध गर्ने कार्य भएको प्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

दूरसञ्चार प्राधिकरणले बुधबार एक विज्ञप्ति जारी गर्दै दूरसञ्चार सेवा हाल अत्यावश्यक सेवाको रुपमा स्थापित भैसकेको अवस्थामा यसरी सेवा अवरुद्ध हुँदा त्यसको प्रत्यक्ष असर आम नेपाली उपभोक्ताहरुमा पर्ने जनाएको छ ।

तसर्थ नेपाली जनतासँग प्रत्यक्ष सरोकार राख्ने अति आवश्यक दूरसञ्चार सेवाको पूर्वाधारका रुपमा रहेका टावर लगायतका प्रणालीमा क्षती नपुर्याउन र त्यस्तो कार्य तत्काल बन्द गरी निर्वाध रुपमा दूरसञ्चार सेवा सञ्चालन गर्ने वातावरण बनाउन सम्वन्धित सबैमा प्राधिकरणले अनुरोध गरेको छ ।

पछिल्लो समय दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको मोबाइल टावरमा आगजनी गरी सेवा अवरुद्ध गर्ने र भौतिक पूर्वाधारमा क्षति पुर्याउने काम हुँदै आइरहेको छ । कानुन विपरित एनसेलको मोबाइल टावरमा बेला बेला आगजनी गरी सेवा अवरुद्ध गर्ने र भौतिक पूर्वाधारमा क्षति पुर्याउने काम भई रहेको छ ।

यस्ता कारणले उपभोक्ताहरु सरकारले अत्यावश्यक भनि मानेको दूरसञ्चार सेवा प्रयोग गर्नबाट बञ्चित हुने गरेको छन् । टावरमा क्षति पुग्दा त्यस्ता टावरले काम गर्दैन र त्यस क्षेत्रमा बसोबास गर्ने मानिसहरुले फोन गर्न सक्दैनन् नत देश विदेशबाट आएको उठाउन नै सक्छन् ।

दूरसञ्चार सेवाका टावरहरुमा आगजनी गर्नु सार्वजनिक अपराध भएको र यस्ता कार्य दूरसञ्चार ऐनमा पनि वर्जित गरिएको छ । तरपनि प्रत्येक वर्ष जस्तो एनसेलका टावरहरुमा क्षति पुर्याई मानिसहरुमा डर, त्रास पैदा गराउने, आम जनमानसलाई सेवाबाट बञ्चित गर्ने, व्यवसाय गर्ने वातावरणलाई दुरुत्साहन गर्ने लगायतका कार्यहरु भई रहेको एनसेलले जनाएको छ ।

सन् २०१९ मा मात्र एनसेलका ३० जिल्लामा रहेका ५० भन्दा बढि टावरहरुमा आगजनी गरी क्षति पुर्यार्ईका थिए । यसका कारणले गर्दा २५० भन्दा बढि टावरहरुले प्रदान गर्ने दूरसञ्चार सेवा प्रभावित भएको थियो । सन् २०२० को वितेका दुई हप्तामा पनि देशका विभिन्न जिल्ला जस्तै तनहुँ, बारा, गोर्खा, सुर्खेत, नुवाकोट, ललितपुर लगायतका जिल्लामा रहेका टावरहरुमा आगजनी गरिएको छ ।

यी घटनाहरुले सरकारले शान्ति सुरक्षाको प्रत्याभुति दिन नसकेको, आम उपभोक्ताहरु सञ्चार जस्तो अत्यावश्यक सेवाबाट बञ्चित भएको, कानुन बमोजिम स्थापना भई संचालनमा रहेको कम्पनीको भौतिक पूर्वाधारमा क्षति पुर्याएको स्पष्ट हुन्छ ।

प्रतिक्रिया दिनुहोस्
MBL