Logo

टेलिकमले अघि बढायो ४ अर्बको अप्टिकल फाईबर परियोजना : सर्भे सकेर टेण्डर डकुमेन्ट तयार गर्दै

टेलिकमले अघि बढायो ४ अर्बको अप्टिकल फाईबर परियोजना : सर्भे सकेर टेण्डर डकुमेन्ट तयार गर्दै



काठमाडौं । पछिल्लो २ बर्षदेखि अन्यौलमा परेको कर्णाली र सुदूरपश्चिमको मध्यपहाडी लोकमार्गको अप्टिकल फाईबर परियोजना नेपाल टेलिकमले अघि बढाएको छ । कम्पनीले करीब ४ अर्ब रुपैयाँको उक्त परियोजना अघि बढाउने समझदारी पत्रमा हस्ताक्षर गरेको केही दिनमै सर्भे सकेर टेण्डरको डकुमेन्ट तयार गरिरहेको जानकारी दिएको हो ।

अघिल्ला परियोजनाको सन्तोषजनक काम गरिरहेको टेलिकमले कर्णाली र सुदूरपश्चिमको परियोजना पनि सोही अनुरुप अघि बढाउने बताएको छ । नेपाल दूरसंचार प्राधिकरणले टेलिकमलाई गत मंसिर १९ गते उक्त परियोजना हस्तान्तरण गरेको थियो ।

परियोजना हस्तान्तरण लगत्तै काम अघि बढाएको टेलिकमले हाल कर्णाली र सुदूरपश्चिम प्रदेशमा सर्भे सम्पन्न गरेको प्रवन्ध निर्देशक डिल्लीराम अधिकारीले जानकारी दिए । उनका अनुसार टेलिकमले प्राधिकरणसँग समझदारी पत्रमा हस्ताक्षर गरेको ३० दिनभित्र सहमति हुनेगरी काम गरिरहेको हो । प्राधिकरणले मंसिर १९ गते ३० दिनभित्रमा सम्झौता हुनेगरी टेलिकमसँग समझदारी पत्रमा हस्ताक्षर गरेको थियो ।

आफुले पाएको परियोजना समयमै सम्पन्न गर्न दिनरात नभनी विभिन्न स्थानमा धेरै टोली खटाई काम अघि बढाईएको टेलिकमका प्रवन्ध निर्देशक अधिकारीले बिजखबरलाई जानकारी दिए । ‘हामीले काम समयमै सम्पन्न गर्ने उद्देश्य लिएर कर्णाली र सुदूरपश्चिममा ४ टोली खटाएर सर्भे गरेका थियौं,’ उनले भने, ‘हाल सर्भेको काम सम्पन्न भएर टेण्डर डकुमेन्ट बनाउन लागेका छौं ।’

नेपाल दूरसंचार प्राधिकरणले स्मार्ट टेलिकमले पाएको उक्त परियोजनामा सन्तोषजनक काम नभएपछि टेलिकमलाई हस्तान्तरण गरेको थियो । प्राधिकरण र नेपाल टेलिकमबीच २ बर्षभित्र २५ सय किलोमिटर अप्टिकल फाईबर विछ्याउने सहमतिसहित उक्त परियोजनाको समझदारी पत्रमा हस्ताक्षर भएको थियो ।

कर्णाली र सुदुरपश्चिम प्रदेशका मध्यपहाडी लोकमार्ग, पूर्व–पश्चिम, उत्तर–दक्षिणका साथै हुलाकी मार्गहरु, जिल्ला सदरमुकाम र नगरपालिकाहरुलाई समेत उक्त आयोजनामार्फत सूचना महामार्गको सञ्जालमा जोड्ने लक्ष्य रहेको छ ।

नेपाल टेलिकमले निर्माण गर्ने उक्त आयोजनाले बाँके, बर्दिया र रुकुमको मुसिकोटदेखि बैतडीको झुलाघाटसम्म २० जिल्लामा नेटवर्क विस्तार हुनेछ । उक्त आयोजना अन्तर्गत मध्यपहाडी लोकमार्ग, पूर्व–पश्चिम राजमार्ग र हुलाकी राजमार्गमा न्यूनतम ९६ कोरको तथा जिल्ला सदरमुकाम र नगरपालिकासम्म न्यूनतम क्रमशः ४८ र २४ कोरको अप्टिकल फाइबर नेटवर्क विस्तार गरिने टेलिकमले जानकारी दिएको छ ।

उक्त नेटवर्क आवश्यकता अनुसार ४ सय गिगाबिट प्रति सेकेण्डसम्म क्षमता अभिवृद्धि गर्न सकिने गरी १ सय गिगाविट प्रति सेकेण्ड क्षमताका पोर्ट तथा १० गिगाविट प्रति सेकेण्ड क्षमताका पोर्ट वा दुवैको मिश्रण रहेका कोर राउटर प्रयोगमा ल्याइनेछ । उक्त अप्टिकल फाइबर सञ्जालमा करीब २६ स्थानमा डिडब्ल्युडिएम र ५२ स्थानमा राउटर प्रयोगमा आउनेछन् । विस्तृत अध्ययनपश्चात एक महिनाभित्र उक्त अप्टिकल फाईबर विस्तार सम्बन्धी सम्झौता गरीसक्ने समझदारीमा उल्लेख छ । गत कार्तिकको मन्त्रिपरिषद बैठकले स्मार्टसेलले पाएको उक्त करिव ३ अर्बको परियोजना स्मार्टबाट खोसेर नेपाल टेलिकमलाई दिने निर्णय गरेको थियो ।

स्मार्ट टेलिकमले परियोजना पाएको २ बर्षमा पनि काम गर्न नसकेपछि टेलिकमले उक्त परियोजना पाएको थियो । उक्त परियोजना नेपाल दूरसंचार प्राधिकरणले २०७४ भदौ ३ गते स्मार्ट टेलिकमसँग ५ नम्बर प्रदेशका २ जिल्ला, कर्णाली र सुदूरपश्चिमका सबै जिल्ला छुनेगरी २ हजार ५ सय १२ किलोमिटर अप्टिकल फाईबर विछ्याउन सम्झौता गरेको थियो । तर भनेबमोजिम स्मार्ट टेलिकमले काम नगरेपछि गत मंसिर ५ गतेको मन्त्रिपरिषद बैठकले स्मार्ट टेलिकमको ३ अर्ब ९४ करोडको उक्त परियोजना नेपाल टेलिकमलाई हस्तान्तरण गर्ने निर्णय गरेको थियो ।

यस्तै टेलिकमले पाएको प्रदेश १,२ र ३ को परियोजनाको भने काम धमाधम भईरहेको टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिईन । उनले विभिन्न ५ कम्पनीसँग निर्माण सम्झौता गरेको उक्त परियोजनाको काम सन्तोषजनक रुपमा भईरहेको बताईन । नेपाल टेलिकमको उक्त परियोजनामा प्रदेश नम्बर २ मा ७० किलोमिटरभन्दा बढी फाईबर विछ्याईसकिएको छ । यस्तै प्रदेश १ मा उपकरण धमाधम ल्याईँदैछ भने प्रदेश ३ का विभिन्न स्थानमा राउटर र डीडल्युडीएम राख्ने काम भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL