Logo

ईन्टरनेट जोड्दै हुनुहुन्छ ? यस्ता छन वर्ल्डलिंक, भायनेट र सुविसुदेखि टेलिकमसम्मका प्याकेज

ईन्टरनेट जोड्दै हुनुहुन्छ ? यस्ता छन वर्ल्डलिंक, भायनेट र सुविसुदेखि टेलिकमसम्मका प्याकेज



काठमाडौं । पछिल्लो समय नेपालमा इन्टरनेट सेवा प्रदायक (आइएसपी) हरुको प्रतिस्पर्धाले ग्राहकलाई सुलभ मूल्यमै इन्टरनेट सेवा उपलब्ध भएको छ । नेपालको इन्टरनेट बजारमा वर्ल्डलिंक, भायनेट, सुविसुजस्ता प्रमुख खेलाडीहरुको चर्को प्रतिस्पर्धा छ । जसमा नेपाल टेलिकमसमेत अर्को मुख्य प्रतिस्पर्धी रहेको छ ।

नेपाल दूरसंचार प्राधिकरणले हाल नेपालमा नेटवर्क सेवा उपलब्ध गराउने उद्देश्यले विभिन्न १४ ओटा कम्पनीलाई सेवाप्रदायकको लाईसेन्स दिएको छ । जसमध्ये कुनैबेलाका राम्र्रै मानिने ब्रोडलिंक, क्लासिक टेक, वेब सर्फरलगायत कम्पनीहरु भने आफ्नो सेवामा निस्क्रिय भएका छन । सेवामा चुस्तता नदिएकै कारण कतिपय जेनतेन चलिरहेका छने भने कतिपय कम्पनीहरु बन्द हुने अवस्थामा समेत पुगेका छन । तर भायानेट वर्ल्ड लिंक, सुविसुलगायत केही कम्पनीहरु भने पछिल्लो समय थप आक्रामक बजार बिस्तारमा ब्यस्त छन् । अहिले बजारमा ग्राहकले यिनै कम्पनीहरुको ईन्टरनेट बढी प्रयोग गरिरहेका छन।


पछिल्लो समय दिनहुँ इन्टरनेट प्रयोगकर्ताहरु बढिरहेका छन् । कार्यालयदेखि घरसम्म इन्टरनेटको उपयोग निकै समान्य भइसकेको छ । यस्तोमा बजारमा प्रतिस्पर्धी कम्पनीहरुले दिनहुँ ग्राहकहरु आफुतिर आकर्षिग गर्न नयाँ–नयाँ प्याकेजहरु पनि ल्याइरहेका छन् । के तपाईँ घर वा कार्यालयमा ईन्टरनेट जोड्ने सोच बनाउँदै हुनुहुन्छ ? यदि त्यस्तो हो भने तपाईँलाई घरमा कुन ईन्टरनेट जोड्दा मूल्य कति पर्छ, फाईदा के छ भन्नेलगायतका कुरा बुझ्न आवश्यक हुन्छ ।

हाल नेपालका विभिन्न ईन्टरनेट सेवाप्रदायकहरुले ग्राहकको सहजताका लागि विभिन्न प्याकेजहरु ल्याएका छन । जसको कारण तपाईँलाई आफ्नो घरमा ईन्टरनेट जोड्दा शुल्क र सुविधामा समेत सहज हुने गर्छ । बन्छ । यस्तै विभिन्न सेवाप्रदायकहरुले ग्राहकको सहजीकरणकै लागि भनेर टिभी सेवा, युट्युवलगायतका अन्य सेवापनि इन्टरनेटमार्फत नै उपलब्ध गराउँदै आएका छन । ग्राहकहरुको सहजताका लागि हाल नेपालमा ईन्टरनेट प्रदान गर्ने केहि ईन्टरनेट सेवाप्रदायकको विभिन्न प्याकेजको बारेमा बिजखबरले विस्तृत जानकारी प्रस्तुत गरेको छ ।

वर्ल्डलिंक
नेपालकै ठुलो ईन्टरनेट सेवाप्रदायक मानिएको वर्ल्डलिंकले २५ देखि ६० एमबीपीएस स्पिडका १ महिने, ३ महिने र १२ महिने प्याकेजहरु उपलब्ध गराउँदै आएको छ । कम्पनीका अनुसार आफ्ना ग्राहकका लागि २५ एमबीपीएस स्पिड ईन्टरनेटको प्रतिमहिने प्याकेजको १ हजार ५ सय ५० रुपैयाँ तोकिएको छ । उक्त प्याकेजमा एउटा टिभी, नेटटिभी लगायत जोड्न मिल्ने सुविधा छ ।

यस्तै कम्पनीले ३ महिने प्याकेजको ४ हजार ५ सय र १२ महिने प्याकेजको १५ हजार रुपैयाँ तोकेको छ । यस्तै कम्पनीले उक्त प्याकेजहरुमा २ ओटा टिभी जोड्न मिल्ने सुविधासहित प्रतिमहिना १ हजार ८ सय रुपैयाँको प्याकेज समेत उपलब्ध गराउँदै आएको छ । उक्त प्याकेजको मूल्य प्रति ३ महिनाको ५ हजार ४ सय र प्रति १२ महिनाको प्याकेजमा १७ हजार ५ सय रुपैयाँ शुल्क लाग्छ ।


साथै कम्पनीले ४० एमबीपीएसमा २ टिभी जोड्न मिल्ने र ३ टिभी जोड्न मिल्ने सुविधा राखेको छ । जसको मूल्य प्रतिमहिना क्रमशः १ हजार ८ सय ५० र २ हजार रुपैयाँ तोकिएको छ । यस्तै कम्पनीले ६० एमबीपीएस स्पिडको १ महिने प्याकेजको २ हजार ७ सय रुपैयाँ तोकेको छ । कम्पनीले ६० एमबीपीएस स्पिडको ३ महिने र १२ महिने प्याकेजको मूल्य क्रमशः ७ हजार ८ सय र २६ हजार रुपैयाँ राखेको छ । उक्त प्याकेजहरुमा ३ ओटा टिभी र नेट टिभी सँगै युट्युव पनि हेर्न सकिने सुविधा राखिएको छ ।


सुविसु
नेपालको अर्काे ईन्टरनेट सेवाप्रदायक सुविसुले पनि ३०, ४० र ७५ एमबीपीएसका १ महिने, ३ महिने, ६ महिने र १२ महिने प्याकेजहरु उपलब्ध गराउँदै आएको छ । कम्पनीले उपलब्ध गराएका उक्त प्याकेजहरुको शुल्क भने वल्र्डलिंकको भन्दा फरक छ । कम्पनीले ३० एमबीपीएस स्पिडको १ महिने प्याकेजको १ हजार १ सय ५८ रुपैयाँ लिने गरेको छ । यस्तै कम्पनीले अन्य ३, ६ र १२ महिने प्याकेजको क्रमशः ३ हजार ३ सय २४, ६ हजार ३ सय ४५ र ११ हजार ४ सय ९० रुपैयाँ लिने गरेको छ ।


यस्तै कम्पनीले ४० एमबीपीएस स्पिडको भने १ महिने प्याकेजको १ हजार ३ सय ५८ रुपैयाँ लिने गरेको छ । कम्पनीका अनुसार ४० एमबीपीएस स्पिडको ३, ६ र १२ महिने प्याकेजको मूल्य क्रमशः ३ हजार ९ सय २३, ७ हजार ५ सय ४४ र १३ हजार ८ सय ९० रुपैयाँ लिने गरेको छ ।
यस्तै कम्पनीले उपलब्ध गराउने ७५ एमबीपीएस स्पिडको पनि १, ३, ६ र १२ महिने प्याकेज छन । जसको मूल्य क्रमशः २ हजार ५८, ६ हजार २३, ११ हजार ४ सय ७५ र २२ हजार २ सय ९० रुपैयाँ राखिएको छ । कम्पनीले नेट टिभीको लागि पनि छुट्टै प्याकेज उपलब्ध गराउँदै आएको छ । साथै कम्पनीले पहिलोपटक ईन्टरनेट जोड्दा उपकरणसहितको पैसा लिने गरेको छ ।

भायानेट
यस्तै अर्काे सेवाप्रदायक कम्पनी भायानेटले भने २५, ३०, ३५, ४० र ६० एमबीपीएस स्पिडको सेवा दिँदै आएको छ । कम्पनीले उक्त स्पिडको ईन्टरनेटलाई विभिन्न ३ भागमा विभाजन गरेर प्याकेज छुट्टयाएको छ । कम्पनीले उपलब्ध गराएको उक्त प्याकेजहरुमा टिभी जोड्न मिल्ने सुविधासमेत समावेश गरिएको छ ।

कम्पनीले उपलब्ध गराउने २५ एमबीपीएस स्पिडको ईन्टरनेको १ महिने प्याकेजको मूल्य १ हजार ५ सय रुपैयाँ राखिएको छ । यस्तै ३० एमबीपीएस स्पिडको अन्य ३ महिने र १२ महिने प्याकेजको मूल्य भने ४ हजार ५ सय र १३ हजार ५ सय रुपैयाँ तोकिएको छ ।

यस्तै कम्पनीले उपलब्ध गराउने ३५, र ६० एमबीपीएस स्पिडको प्रतिमहिने प्याकेजको मूल्य क्रमशः १ हजार ७ सय र २ हजार २ सय रुपैयाँ राखिएको छ । जसमा ४० एमबीपीएस स्पिडको ईन्टरनेट भने ३ महिने र १२ महिने प्याकेजमा मात्रै उपलब्ध छ जसको मूल्य ५ हजार १ सय र १५ हजार ३ सय रुपैयाँ राखिएको छ ।


नेपाल टेलिकम
नेपालकै ठुलो दूरसंचार सेवाप्रदायक नेपाल टेलिकमले पनि एफटिटिएचमार्फत सेवाग्राहीको घरसम्म ईन्टरनेट पुर्याउने गरेको छ । जसको मूल्य अन्य ईन्टरनेट सेवाप्रदायकको तुलनामा सस्तो भएको टेलिकमको दावी छ । कम्पनीले घरमा ईन्टरनेट जोड्न चाहनेका लागि व्यक्तिगत र संस्थागततर्फतका विभिन्न प्याकेजहरु उपलब्ध गराउँदै आएको छ । कम्पनीले व्यक्तीगत तर्फ ८, १८, ३५ र ५५ एमबीपीएस स्पिडका १, ३, ६ र १२ महिने प्याकेजहरु उपलब्ध गराउँदै आएको छ । कम्पनीका अनुसार ८ एमबीपीएस स्पिडको ४ प्याकेजको मूल्य क्रमशः ८ सय, २ हजार ३ सय, ४ हजार ३ सय र ८ हजार रुपैयाँ तोकेको छ ।

यस्तै कम्पनीले १८, ३५ र ५५ एमबीपीएस स्पिडको ईन्टरनेटमा भने १ महिने प्याकेज राखिएको छैन । १८ एमबीपीएस स्पिडको ईन्टरनेटको अन्य ३, ६ र १२ महिने प्याकेजको मूल्य क्रमशः ४ हजार ६ सय, ८ हजार र १३ हजार ८ सय रुपैयाँ तोकिएको छ । यस्तै ३५ एमबीपीएस स्पिडको पनि ३ ओटै प्याकेजको क्रमशः ५ हजार ७ सय, ९ हजार २ सय र १६ हजार रुपैयाँ मूल्य तोकिएको छ ।


साथै कम्पनीले छुट्याएको संस्थागत प्रयोगकर्ताका लागि पनि १० र २० एमबीपीएस स्पिडको ३, ६ र १२ महिने प्याकेज उपलब्ध गराउँदै आएको छ । कम्पनीका अनुसार १० एमबीपीएस स्पिडको ३ महिने प्याकेजको मूल्य १० हजार ३ सय रुपैयाँ पर्दा ६ र १२ महिने प्याकेजको क्रमशः १८ हजार ४ सय र ३४ हजार ५ सय रुपैयाँ राखिएको छ । यस्तै संस्थागत प्रयोगकर्तातर्फकै २० एमबीपीएस स्पिडको ३ ओटै प्याकेजको मूल्य भने क्रमशः १९ हजार ५ सय, ३६ हजार ८ सय र ६९ हजार रुपैयाँ तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL