Logo

कहाँ जान्छन नेपालमा हराएका, चोरी भएका हजारौं मोबाइल ? पत्ता लगाउन प्रहरी असफल

कहाँ जान्छन नेपालमा हराएका, चोरी भएका हजारौं मोबाइल ? पत्ता लगाउन प्रहरी असफल



काठमाडौं । आर्थिक रुपमा विश्वकै गरिब देशमा दर्ज भएपनि धेरैजसो नेपालीका हातमा अहिले पनि लोभलाग्दा स्मार्टफोन देखिन्छन । पछिल्लो समय बिस्तार भएको सञ्चारको पहुँच र वैदेशिक रोजगारीमा जानेले परिवालाई नयाँ–नयाँ स्मार्टफोन पठाइदिने गरेका कारण धेरै मोबाइल उपभोक्ताले गाउँमा पनि महँगा मोबाइल फोन चलाइरहेका छन् ।

laxmi

शहरमा हुनेहरुको त कुरा बेग्लै भयो । शहरिया जनसंख्या त नयाँ मोडलका स्मार्टफोन चलाउन अभ्यस्त भइसकेका छन् । अहिले नेपालीका हातमा धेरैजसो १० हजारदेखि १ लाख ५० हजारसम्मका मोबाइल स्मार्टफोन देख्न सकिन्छ ।

तर, पछिल्लो समय यस्ता महँगा मोबाइल हराउने, चोरी हुनेजस्ता पीडामा धेरै नेपाली रहेको आफ्नो उजुरी लिएर प्रहरीकोमा पुग्नेहरुको संख्याले बताउँछ । मोबाईल हराउने, चोरी हुने संख्या बढिरहँदा हराएका तथा चोरी भएका मोबाइल खोजीदिन प्रहरी भने असफल बनिरहेको छ ।

महानगरिय प्रहरी परिसर टेकुका अनुसार पछिल्लो ३ बर्षको तथ्यांक हेर्दा हराएका तथा चोरी भएका मोबाईल भेटाउन कठिन हुने गरेको छ । प्रहरी परिसर टेकुका अनुसार पछिल्लो ३ आर्थिक बर्षमा मात्रै मोबाईल हराएको भन्दै ४४ हजार ३ सय ५७ निवदेन दर्ता भएका थिए । तर, प्रहरीले भने उजुरीको जम्मा ११ दशमलव ४७ प्रतिशत अर्थात ५ हजार ८९ मात्रै मोबाईल पत्ता लगाउन सफल भयो ।

प्रहरीका अनुसार शहरी क्षेत्रमा पछिल्लो समय मोबाईल पकेट मार्नेहरुको संख्या बढिरहेका छ । तर, मोबाईल चोरले पकेट मारेको त्यस्तो माबोइल लुकाउने तरिकामा समेत परिवर्तन भएको प्रहरीको बुझाई छ । पहिले–पहिले पाकेटमारहरुले पकेट मारेको वा चोरेको मोबाईल सिमकार्ड फ्याँक्दै, नयाँ सिमकार्ड राख्थे र मोबाईल ट्रयाक गर्न सजिलो हुन्थ्यो । तर, हाल मोबाईल चोरहरुले मोबाईलमा सिम नराखेरै प्रयोग गर्ने गरेकाले पनि ट्रयाक गर्न गाह्रो भएको छ ।

प्रहरी परिसरका अनुसार पहिले हराएका तथा चोरी भएका मोबाईलहरु फेला पर्ने दर ५० प्रतिशत बढीसम्म हुन्थ्यो । तर, हाल हराएका मोबाईल फेला पर्ने दर १० प्रतिशतभन्दा पनि कम छ । लकडाउन हुनुअघि प्रहरी परिसर टेकुमा मासिक १ हजारदेखि १ हजार ६ सयसम्म मोबाईल हराएका निवेदन आउने गरेका थिए ।

लकडाउन सुरु भएको महिना फागुनमा मात्रै टेकु प्रहरीमा १ हजार ५ सय १७ ओटा मोबाईल हराएको निवेदन दर्ता भएका थिए । त्यसमध्ये १ सय ८४ ओटा मोबाईल भेटिएका थिए । यस्तै माघ महिनामा १ हजार ६ सय ४८ मोबाईल हराएको निवेदन दर्ता भएकोमा त्यसमध्ये ७ दशमलव १० प्रतिशत अर्थात १ सय १७ ओटा मोबाईल भेटिएका हुन ।

तर लकडाउन सुरु भएपछि चैत, बैशाख, जेठ र असार गरी ४ महिनामा ८ सय ७५ ओटा मोबाईल हराएको निवेदन दर्ता भएका छन । जसमध्ये १ सय २ ओटा मोबाईल भेटिएका छन् । लकडाउनका कारण मान्छेको भिडभाड नहुने र घरभित्रै मानिसहरु प्राय हुने हुनाले चोरीमा कमी भएको प्रहरी परिसर टेकुको बुझाई छ ।

यस्तै आर्थिक बर्षहरुको कुरा गर्ने हो भने आर्थिक बर्ष २०७४ ७५ मा १५ हजार ७ सय ८७ मोबाईल हराएको निवेदन दर्ता भएका थिए । त्यसमध्ये भेटिने मोबाईलको संख्या जम्मा ९ दशमलव ६२ प्रतिशत अर्थात १ हजार ५ सय १८ ओटा मोबाईल भेटिएका छन । यस्तै, आर्थिक बर्ष २०७५ ७६ मा भने १६ हजार १९ मोबाईल हराएको निवेदन दर्ता भएकामा भेटिने मोबाईको संख्या भने २ हजार १ सय ९९ मात्र छ । साथै आर्थिक बर्ष २०७६ ७७ को असार ३० गतेसम्म १२ हजार ५ सय ५१ वटा मोबाईल हराएको निवेदन दर्ता भएका थिए । जसमध्ये १० दशमलव ९३ प्रतिशत मोबाईल अर्थात १ हजार ३ सय ७२ ओटा मात्रै भेटिएका छन् ।

मोबाईल चोरले बढी भीडभाड भएको स्थानबाट पाकेट मारेर ल्याएका मोबाईलहरु कतिपय सिम झिकेर बालबच्चालाई गेम खेल्नका लागि दिने गर्नाले पनि प्रहरीलाई मोबाईल ट्रयाक गर्न असहज भएको छ । यस्तै केही चोरहरुले भने मोबाईल चोरेर सिमाना कटाई भारत र अन्य देशमा पठाउने गरेको पनि खुलेको छ । अन्य देशमा पुर्याएपछि नेपाल प्रहरीले उक्त मोबाईल भटाउन असम्भव हुन्छ ।

हाल हराएको मोबाईलबारे उजुरी गर्न दर्ता गर्नका लागि प्रहरी परिसर टेकुले दर्ता शाखामै व्यवस्था गरेको छ । शाखाले हराएको मोबाईल धनीको नाम, आईएमईआई नम्बर, हराएको मितिलगायतका सामान्य कुराहरुको जानकारी लिन्छ । सोही जानकारीअनुसार चोरले उक्त मोबाईलमा सिम राख्ने वित्तिकै ट्रयाक गर्न मिल्ने परिसरको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
MBL