Logo

सरकारले ल्यायो कोरोना ट्रेसिङ एप, इन्नोभेसन र प्रविधिलाई एकिकृत गरेर अघि बढाउन विज्ञहरुको जोड

सरकारले ल्यायो कोरोना ट्रेसिङ एप, इन्नोभेसन र प्रविधिलाई एकिकृत गरेर अघि बढाउन विज्ञहरुको जोड



काठमाडौं । सरकारले कोभिड १९ को महामारीलाई रोक्न र कोरोना भाइरसको ट्रेसिङ गर्न नयाँ एप ल्याउने भएको छ । सरकारले हालको विभिन्न कार्यहरुलाई एउटै एपमा समावेश गर्नेगरि एकिकृत एप ल्याउन लागेको प्रधानमन्त्रीका आइटी सल्लाहकार अश्गर अलीले जानकारी दिएका छन ।

एपको निमार्ण कार्य सम्पन्न भईसकेको छ । परीक्षणमा चरणमा रहेकाले केही दिनमै प्रधानमन्त्री केपीशर्मा ओलीले उक्त एप सार्वजनिक गर्नेछ । ‘कोभिड एनपी’ नाम रहेको एप प्ले स्टोरमा उपलब्ध भइसकेको जानकारी दिदै उनले भने, ‘यो एपले ब्लूटूथ ट्राकिङ्गमार्फत कोरोना भाइरसको संभावित संक्रमितहरुलाई पत्ता लगाउन सहयोग गर्नेछ ।’

यसअघि गत चैत्र २५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रको नाममा सम्बोधन गर्दै कोरोना भाइरसको संक्रमितहरुको पहिचान गर्न एउटा ट्रेसिङ्ग एप बनाउने बताएका थिए । अहिले सोहि अनुसार सो नयाँ एप तयार पारिएको हो । एपमा अनुमतिसहित लोकेसनको बारेमा समेत जानकारी दिने सुबिधा रहेको छ भने यसले तपाईँको फोन नम्बर हेर्नसक्ने सुविधा रहेको छ । कोभिड १९ ट्रेसिङ गर्ने सो सरकारी एपबाट अनलाइन सपिङ्ग समेत गर्नसकिने सुविधा रहेको छ । एपलाई संचार तथा सूचना प्रविधि मन्त्रालय अन्तरगतको राष्ट्रिय सूचना प्रविधि केन्द्रले तयार पारेको हो ।

उक्त कार्यक्रममा नेपाल टेलिकमका प्रवन्ध निर्देशक डिल्लि अधिकारीले यस एपको लागि टेलिकमले डेटा प्रशोधन तथा ओटिपी जेनेरेट गर्ने काम भइसकेको बताए । यसैगरी प्रदेश ५ सरकारले पनि नेपाल ट्रेस नाम गरेको कन्ट्याक्कट ट्रेसिङ एप सार्वजनिक गरिसकेको छ । यो एपले ब्लुटुथ प्रविधिमा आधारित रहेर डेटा एनालाइसिस गर्दै रिपोर्ट दिनेछ ।

शनिवार नेपाल सरकारका प्रतिनिधिहरुसहित विभिन्न विज्ञहरुसँग भएको छलफलमा इन्टिग्रेटेड ट्रेसिङ तथा स्व परिक्षण एप ल्याउन जोड दिएको छ । कोरोना नियन्त्रण र रोकथाममा प्रविधिको क्षेत्रबाट उल्लेख्य प्रयास भइरहेको भन्दै सरकारले सबैलाई एकिकृत गरेर प्रभावकारितामा जोड दिन आवश्यक रहेको बिज्ञहरुले सुझाएका छन ।

पूर्वमन्त्री गणेश शाहको संयोजकत्वमा आयोजना भएको छलफल कार्यक्रममा नाष्टका उपकुलपति डा. सुनिल बाबु श्रेष्ठले धेरै युवा, स्टार्टअप र सस्थाहरुले नयाँ इन्नोभेसन, एप्लिकेशन, रोबोट, भेन्टिलेटरलगायतका प्रविधिहरुको विकासमा काम गरिरहेको हुँदा यसलाई अझ प्रभावकारी बनाउन सरकार र नाष्टले सहकार्य गर्ने बताए ।

प्रधानमन्त्रीका आइटी सल्लाहकार अश्गर अलिले सरकारले विपद व्यवस्थापन केन्द्रमा आइटीको समुह बनाएर भइरहेका प्रयासलाई एकिकृत गर्न लागिएको जानकारी दिए । डेटा एनालाइसिस गरि त्यसलाई नलेजमा रुपान्तर गरेर काम गर्नुपर्ने आवश्यक्ता रहेको बताउदै उनले सरकारले यस तर्फ काम गरिरहको बताए । सूचना तथा सञ्चार मन्त्रालयका पुर्व सहसचिव विरेन्द्र मिश्रले प्रदेश ५ सरकार र नगरपालिकाहरुले प्रयोग गरिरहेका विभिन्न एप्लिकेशनहरु प्रभावकारी भएको भन्दै सरकारले त्यसलाई एउटै ड्यासबोर्डमा ल्याउन सके अझ राम्रो हुने बताएका छन ।

प्रदेश ५ आइसिटी बोर्डका कार्यकारी निर्देशक अनुप बास्कोटाले प्रदेश ५ सरकारले ल्याएको नेपाल ट्रेसिङ एप्लिकेशनमार्फत कारोना संक्रमितलाई ट्राक गर्न सकिने भएपनि अझै नेपालमा प्रविधिको इप्लिमेन्टेसनमा समस्या रहेको बताए । प्रविधि बनाउन सजिलो भएपनि यसको सहि तरिकाले प्रयोग गर्न कठिन भएको उनको बुझाई छ । प्रदेश ५ ले विकास गरेको प्रविधि प्रदेश ६ र अन्यमा पनि प्रयोग गर्न लागिएको जानकारी दिदै उनले धेरै एप्लिकेशन सञ्चालन भएपनि त्यसको मोनिटरिङ, डेटा ब्यवस्थापन र सुरक्षाको कुरामा भने विशेष ध्यान दिनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL