Logo

कोरोना भाइरस संक्रमण रोकथाम कोषमा एनसेलको १० करोड योगदान

कोरोना भाइरस संक्रमण रोकथाम कोषमा एनसेलको १० करोड योगदान



काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि स्थापना गरेको कोषमा एनसेलले १० करोड रुपैयाँ योगदान गरेको छ । उक्त सहयोग कोभिड–१९ रोकथाम, नियन्त्रण तथा उपचारका लागि अत्यावश्यक व्यक्तिगत सुरक्षा उपकरण (पीपीई), स्वास्थ्य सामग्री, पीसीआर परीक्षण किट किन्न तथा क्वारेन्टाइनका साथै संक्रमित बिरामीको उपचारमा उपयोग हुने कम्पनीले जानकारी दिएको छ ।

एनसेलका प्रमुख कार्यकारी अधिकृत एण्डी चोङ्गले मंगलबार प्रधानमन्त्रि तथा मन्त्रिपरिषदको कार्यलयका सचिव नारायणप्रसाद बिडारीलाई १० करोडको चेक हस्तान्तरण गरेका छन् ।

‘सिंगो विश्व कोभिड–१९ विरुद्ध लडिरहँदा नेपाल पनि एकजुट भएर यो संक्रमणसँग जुधिरहेको छ । कोभिड–१९ बाट हरेक नागरिकलाई जोगाउनुका साथै सम्भावित संक्रमणको उपचारका लागि हामीले सम्पूर्ण ध्यान केन्द्रित गरेका छौं,’ बिडारीले भने, ‘सरकारको यो सत्प्रयासमा एनसेलजस्तो निजी क्षेत्रको ठूलो सेवाप्रदायकले गरेको योगदान सराहनीय छ । यो सहयोगले तात्कालिक सेवा प्रवाहमा ठूलो भूमिका खेल्नेछ ।’

‘एनसेल सधैं जिम्मेवार कर्पोरेट नागरिकको रूपमा रहिआएको छ । सामाजिक उत्तरदायित्वअन्तर्गत एनसेलले सरकारको कोभिड–१९ कोषमा गरेको १० करोड रुपैयाँ सहयोग यसकै निरन्तरता हो । यो सहयोगसँगै हामी सरकार र आमनागरिकसँग एक भई कोभिड–१९ विरुद्ध लड्न र संक्रमण फैलिन नदिन प्रतिबद्ध रहेको जानकारी गराउन चाहन्छौं । हामी विश्वस्त छौं, यो हाम्रो योगदानले कोभिड–१९ रोकथामका लागि स्वाथ्यकर्मीहरूलाई चाहिने अत्यावश्यक स्वास्थ्य सामग्री तथा उपकरणहरुको खरिदमा सरकारलाई सहयोग हुनेछ,’ एनसेलका प्रमुख कार्यकारी अधिकृत एण्डी चोङ्गले भने ।

स्थापनाकालदेखि एनसेलले विभिन्न सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत नेपालको सामाजिक, आर्थिक विकासमा सहयोग पु¥याउँदै ८० करोड रुपैयाँभन्दा बढी योगदान गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL