Logo

डिजिटल नेपालको गति सुस्त रहेको सरोकारवालाहरुको भनाई

डिजिटल नेपालको गति सुस्त रहेको सरोकारवालाहरुको भनाई



काठमाडौं । सरकारले ल्याएको डिजिटल नेपालको गति सुस्त किसिमको भएको सरोकारवालाहरुले बताएका छन् । एजेण्डा प्लसले आयोजना गरेको काठमाडौं डिबेट अन्तरगतको डिजिटल नेपालको गति विषयक अन्तरक्रिया कार्यक्रममा सरोकारवाला निकायहरुले डिजिटल नेपालको गति सुस्त भएको बताएका हुन् ।

laxmi

कार्यक्रममा बोल्दै पूर्व मन्त्री ईन्जिनियर गणेश शाहले डिजिटल नेपालको अभियान सहि भएपनि यसको काम भने सुस्त गतिमा रहेको बताए । उनले डिजिटल नेपालको अभियानलाई सफल पार्न सबैको उत्तिकै भूमिका हुनुपर्ने भन्दै यसलाई स्पष्टरुपमा अगाडि बढाउनुपर्ने बताए ।

त्यसैगरि नेपाल दूरसंचार प्राधिकरणका बोर्ड सदस्य चन्द्रमणि चौलागाईँले नेपालमा सेवा संचालन गर्न चाहने दूरसंचार सेवा प्रदायकहरुलाई नरोकिने बताए । उनले अहिले दूरसंचारको क्षेत्रमा भारतीय जियोको मोडल दिर्घकालिन किसिमको नभएको भन्दै नेपालमा दुई मोबाइल अपरेटरहरुको हालिमुहाली रहेको बताए । चौलागाईँले उदार नीतिभित्र नेपाल टेलिकम र एनसेलको मोनोपोली भएको स्पष्ट पारे ।

अन्तरक्रिया कार्यक्रममा ईन्जिनियर एडा रिजालले अहिले नेपालमा उत्पादित जनशक्तिहरु खपत गर्नसक्ने अवस्था नभएको भन्दै नेपालभित्रै बस्ने वातावरण बनाउनुपर्ने बताईन् । उनले नेपालमा दूरसंचार सेवाहरु महंगो र गुणस्तरीय नभएको भन्दै त्यसलाई सबैको पहुँचमा पुर्याउनुपर्नेमा जोड दिईन् ।

काठमाडौं डिबेटमा विज्ञको रुपमा बोल्दै पूर्व सहसचिव विरेन्द्र कुमार मिश्रले डिजिटल नेपालको अभियान ठूलो स्तरमा भएको र यसका विभिन्न क्षेत्रहरुलाई छुट्टाछुट्टैरुपमा ब्याख्या गरिनुपर्ने र त्यसलाई अगाडि बढाउनुपर्ने सुझाव दिए ।

क्यान महासंघ नेपालका पूर्व अध्यक्ष ईन्जिनियर विनोद ढकालले सरकारले निजी क्षेत्रसँग सहकार्य गर्न नचाहँदा समस्या देखिएको भन्दै डिजिटल नेपाल यसअघि निजी क्षेत्रले ल्याएको ई नेपालकै परिस्कृत रुप भएको दाबी गरे । उनले सरकारले हालै ल्याएका सूचना प्रविधि ऐनमा राम्रा प्रावधानहरु भएपनि अन्य विषयहरु अनावश्यकरुपमा राख्दा समस्या देखिएको बताए ।

त्यस्तै अधिवक्ता बाबुराम अर्यालले दूरसंचार सेवा प्रदायकहरु र सेवाग्राहीबिच देखिएको खाडललाई पुर्नुपर्ने आवश्यकता रहेको भन्दै कतिवटा कम्पनीहरु आवश्यक पर्दछन भन्ने बारेमा स्पष्ट हुनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL