Logo

एकैरात ४ एनसेल टावरमा आगजनी, आगजनीबाट एनसेललाई करौडौंको क्षति

एकैरात ४ एनसेल टावरमा आगजनी, आगजनीबाट एनसेललाई करौडौंको क्षति



काठमाडौं । खैरहनी नगरपालिकामा रहेको एनसेल टावरमा अज्ञात समूहले आगजनी गरेको छ । खैरहनी नगरपालिका–२ मा केशवराज दवाडीको जग्गामा राखिएको एनसेलको टावरमा आगजनी भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको हो ।

प्रहरीका अनुसार आगलागीबाट जेनेरेटर र ट्रान्सफर्मरमा क्षति पुगेको छ । आइतबार राति १०ः४५ बजे अज्ञात समूहले टावरमा आगजनी गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले बताए । कोइरालाका अनुसार दमकल, नेपाल प्रहरी र स्थानीयवासीको सहायताले राति नै आगो नियन्त्रणमा लिइएको थियो । प्रहरीले आगो लगाउने समूहको खोजी गरिरहेको जानकारी दिएको छ ।

त्यसतै सिन्धुलीको मरिण गाउँपालिका–७ मा रहेको एनसेलको टावरमा पनि गएराती आगजनी गरेको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक श्यामबहादुर खत्रीका अनुसार एनसेलको टावर पूर्णरूपमा क्षति भएको छ । उनका अनुसार टावरमा कसले आगजनी गर्याे भन्ने खुल्न सकेको छैन । घटनामा संलग्नको खोजी भइरहेको र घटनाको आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जानकारी दिएको छ ।

गएरातिनै रामेछापको एनसेल टावरमा समेत आगजनी भएको छ । अज्ञात समूहद्वारा दोरम्बा गाउँपालिका–७ गुम्सीमा रहेको एनसेल टावरमा आगजनी गरेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिएका छन । आगलागीका कारण टावरमा रहेका तारहरु जलेर नष्ट भएको पाठकले जमानकारी दिएका छन । प्रहरीले घटनामा संलग्नको खोजीकार्य गरिरहेको छ ।

त्यसतै पाल्पाको बगनासकाली गाउँपालिका–९ स्थित बगनासडाँडामा रहेको एनसेलको टावरमा समेत आगजनी भएको छ । आइतबार राति करीब पौने १० बजेको समयमा टावरमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख दीपेन्द्र जिसीले बताए ।

आगलागीबाट टावरमा पूर्णरूपमा क्षति पुगेको छ । सो टावरमा बोरामा खर राखेर आगो सल्काएको प्रहरीले जानकारी दिएको छ । आगलागीबाट टावरको जेनेरेटर, बिटिएस सिस्टम, जिएसएम एन्टेना, ब्याट्री प्यानल, मिटरबक्ससहित तार पूर्णरूपमा नष्ट भएको प्रहरीले जानकारी दिएको छ/रासस

प्रतिक्रिया दिनुहोस्
MBL