Logo

दूरसंचार प्राधिकरणले गर्यो एकैदिन ४ कार्यविधि स्वीकृत, मोबाईल टावर निर्माणमा कडाई

दूरसंचार प्राधिकरणले गर्यो एकैदिन ४ कार्यविधि स्वीकृत, मोबाईल टावर निर्माणमा कडाई



काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले बालबालिकालाई अनलाईन जोखिमबाट बचाउन बाल सुरक्षा निर्देशिका सहित अन्य ४ कार्यविधि स्वीकृत गरेको छ ।

laxmi

प्राधिकरणको बोर्ड बैठकले अनलाईन बालरक्षा निर्देशिका, सेयर खरिदविक्री विनियमावली, टावर निर्माण तथा संचालनसम्बन्धी विनियमावली र मोबाइल व्यालेन्सको प्रयोग गरी विद्युतीय माध्यमबाट वस्तु तथा सेवा खरिद गर्ने सम्बन्धी कार्यविधि, २०७६ स्वीकृत गरेको हो ।

अनलाईन बाल सुरक्षा निर्देशिका, २०७६

प्राधिकरणले स्वीकृत गरेको अनलाईन बाल सरक्षा निर्देशिकामा बालबालिकालाई असर पार्ने खालका कन्टेन्टमा रोकावट गर्ने कुरामा जोड दिईएको छ । बालबालिकाहरुले पछिल्लो समय धेरैजसो समय मोबाईल ट्याव्लेट लगायतका विद्युतिय सामग्रीमा ध्यान दिने हुनाले यसबाट हुने खतराबाट बालबालिकालाई बचाउने उद्देष्यले उक्त निर्देशिका ल्याईएको हो ।

निर्देशिकामा बालबालिकालाई असर पार्ने खालका अनलाईन कन्टेन्टहरुमा सकभर रोकावट गर्ने र अभिभावक, सेवाप्रदायकलगायतले ध्यान दिनुपर्ने उल्लेख छ । यसका लागि प्राधिकरणले सेवाप्रदायक, अभिभावक, नियामक निकायलगायतले कन्टेन्टमा विशेष ध्यान दिनुपर्ने उल्लेख गरेको छ । बालबालिकालाई विभिन्न यौनजन्य सामग्रीको पहुँचबाट बचाउने कुरामा समेत उक्त निर्देशिकाले जोड दिएको छ ।

नेपाल दूरसञ्चार प्राधिकरण (अनुमतिपत्र प्राप्त व्यक्तिको शेयर खरिद विक्री) विनियमावली, २०७६

प्राधिकरणको सोमबारको बोर्ड बैठकबाट स्वीकृत यो विनियमावलीमा कुनैपनि सेवाप्रदायकले सेयर खरिदविक्री गर्दा प्राधिकरणको निर्देशन बमोजिम गर्नुपर्ने उल्लेख छ । विनियमावलीमा कालोसूचीमा परेको कर चुक्ता नगरेको कम्पनीलाई भने अनुमतिप्राप्त संस्था वा व्यक्तिले सेयर बेच्न नहुने उल्लेख छ ।

यस्तै विनियमावलीमा अनुमतिप्राप्त संस्थाको व्यक्तिले आफ्नो मृत्युपश्चात उसको सेयर ईच्छ्याएको व्यक्तिको नाममा गरेको १५ दिनभित्र प्राधिकरणमा विवरण बुझाउनुपर्ने भएको छ । यस्तै सेयर खरिदविक्री गर्दा प्राधिकरणको स्वीकृति लिनुपर्नेसमेत विनियमावलीमा उल्लेख छ ।

दूरसञ्चार टावर निर्माण तथा संचालन सम्बन्धी विनियमावली, २०७६

प्राधिकरणले विभिन्न सेवाप्रदायकले बनाउने टावरसम्बन्धी विनियमावली समेत स्वीकृत गरेको छ । ७ मिटरभन्दा अग्ला टावर बनाउन प्राधिकरणको अनुमति लिनुपर्ने र ५० मिटरभन्दा अग्ला टावर बनाउन नागरिक उड्यन प्राधिकरको अनुमति लिनुपर्ने भएको छ ।

यस्तै उक्त विनियमावलीमा विमानस्थल वरिपरी टावर स्थापना गर्दासमेत विमानस्थलको अनुमति लिएर मात्रै बनाउने पाउने उल्लेख गरिएको छ । सेवाप्रदायकहरुले बिटीएस टावर विभिन्न स्थानमा बनाईरहेको बेलामा यसमा एकरुपता ल्याउन उक्त विनियमावली लागु गरिएको प्राधिकरणले जानकारी दिएको छ । यस्तै टावर निर्माण गर्ने सेवाप्रदायकले विद्युतीय जोखिमको बारेमा ध्यान दिनुपर्ने र चट्याङलाई समेत ध्यानमा राखेर काम गर्नुपर्ने बताईएको छ ।

मोबाइल व्यालेन्सको प्रयोग गरी विद्युतीय माध्यमबाट वस्तु तथा सेवा खरिद गर्ने सम्बन्धी कार्यविधि, २०७६

प्राधिकरणले मोबाईलको ब्यालेन्सबाटै बस्तु तथा सेवा खरिद गर्न मिल्नेगरी विद्युतीय माध्यमबाट बस्तु तथा सेवा खरिद सम्बन्धी कार्यविधि पनि स्वीकृत गरेको छ । उक्त कार्यविधिमा सेवाग्राहीले अव कुनै मूल्य अभिवृद्धि कर विनै सिमकार्डमा भएको ब्यालेन्समार्फत बस्तु तथा सेवा खरिद गर्न सक्नेछन । प्राधिकरणले एकचोटीमा बढीमा १ हजार रुपैयँसम्मको र १ महिनामा १० हजार रुपैयाँसम्मको बस्तु तथा सेवा खरिद गर्नसकिने गरी उक्त कार्यविधि बोर्डबाट स्वीकृत गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL