Logo

नेपालको ईन्टरनेट कनेक्सन समुन्द्रसम्म पुर्याउन कम्पनी छनोट, दुई महिनाभित्रै काम सुरु हुने

नेपालको ईन्टरनेट कनेक्सन समुन्द्रसम्म पुर्याउन कम्पनी छनोट, दुई महिनाभित्रै काम सुरु हुने



काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले नेपालको ईन्टरनेट कनेक्सन सिधै समुन्द्रसम्म पुर्याउने अध्ययनका लागि कम्पनी छनोट गरेको छ । उक्त अध्ययनका लागि सर्टलिस्टमा परेका ५ ओटा कम्पनीमध्ये प्राधिकरणले सिभिल इन्फरमेटिक्स एण्ड सोलुसन्स र स्मार्ट म्यानेजमेन्ट एण्ड रिसर्च टिम जेभीलाई छनोट गरेको हो ।

नेपालले हाल भारतका विभिन्न ३ नाका र चीनको रसुवागढी नाकाबाट ईन्टरनेट कनेक्सन भित्र्याईरहेको छ । जसको कारण छिमेकी देशहरुमा ईन्टरनेटमा केही गडबडी भए नेपालमा त्यसको असर पर्ने गरेको छ । नेपालले अन्य देशबाट भन्दा पनि समुन्द्र सतहसम्मै आफ्नै केवलमार्फत ईन्टरनेट कनेक्सन गर्न सम्भाव्यता अध्ययनका लागि गत जेठ २ गते टेन्डर आह्वान गरेको थियो ।

प्राधिकरणले टेन्डरमा आवेदन दिएका कम्पनीहरुमध्ये विभिन्न ५ ओटा कम्पनीलाई सर्टलिस्टमा राखेको थियो । सोही सर्टलिस्टमा रहेका कम्पनीमध्ये उक्त सम्भाव्यता अध्ययनको ४१ लाख ८१ हजार रुपैयाँको टेण्डर उक्त कम्पनीले हात पारेको हो । प्राधिकरणले नेपालको ईन्टरनेट भरपर्दो बनाउने उद्देश्यले नेपालको आफ्नै इन्टरनेट कनेक्सन केबल समुन्द्रसम्म पुर्याउनका लागि उक्त सम्भाव्यता अध्ययन गर्न लागेको हो ।


प्राधिकरणले भूपरिवेष्ठित मुलुकले पाउने सुविधाअन्तर्गत नेपालबाट सीधै समुन्द्रसम्म आफ्नै ब्रोडब्यान्ड इन्टरनेटका लागि तार बिछ्याउने कामको सम्भाव्यता अध्ययन गर्न टेण्डर आह्वान गरेको थियो । अबको २ महिनाभित्र छनोट भएको कम्पनीले अध्ययनको काम सुरु गर्ने प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले जानकारी दिए । सीधै समुद्रसम्म नेपालको ईन्टरनेट केवलको पहुँच पुर्याउँदा ईन्टरनेट गुणस्तरिय तथा भरपर्दाे र सस्तो हुन जाने प्राधिकरणले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL