Logo

एनसेल र धुलिखेल अस्पतालबीच सम्झौता, टेलिमेडिसिनका लागि एनसेलले अस्पताललाई सहयोग गर्ने

एनसेल र धुलिखेल अस्पतालबीच सम्झौता, टेलिमेडिसिनका लागि एनसेलले अस्पताललाई सहयोग गर्ने



काठमाडौं । एनसेल प्राईभेट लिमिटेडले धुलिखेल अस्पताल र युनिभर्सिटी अस्पताल सँग सम्झौता गरेको छ । कम्पनीले आफ्नो व्यवसायिक सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त २ अस्पतालसँग टेलिमेडिसिन र हेल्थ इन्फर्मेटिक्स् कार्यक्रम संचालन गर्नका लागि सम्झौता गरेको हो । प्रविधि तथा तथ्याङ्कमा आधारित स्वास्थ्य सेवा प्रदान गर्ने विधि अपनाई ग्रामिण, दुरदराजका सेवाबाट बन्चित समुदायहरुलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने गरी उक्त सम्झौता गरेको एनसेलले जानकारी दिएको छ ।

laxmi

उक्त पहल अन्तर्गत एनसेलले टेलिमेडिसिन उपकरण र सेवा प्रवाहका लागि आवश्यक कनेक्टिभिटी पुर्वाधार निर्माण गरी धुलिखेल हस्पिटललाई हस्तान्तरण गर्नेछ । यसका साथै दुई वर्षका लागि यो कार्यक्रमको संचालन गर्न आवश्यक पर्ने अन्य स्थानिय आपुर्ति र सेवाहरु खरिदका लागि एनसेलले आर्थिक सहायता पनि धुलिखेल हस्पिटललाई प्रदान गर्ने जानकारी दिएको छ ।

धुलिखेल हस्पिटलका तर्फबाट मानव संसाधन जस्तै चिकित्सक र परामर्शदाता लगायत कार्यक्रम संचालनका लागि आवश्यक अन्य सहयोगहरु प्रदान हुनेछ । हस्पिटलले कार्यक्रमलाई सफलता पुर्वक संचालन गर्न आवधिक ट्रेनिङ्गहरु र अनुगमन लगायतका कामहरु समेत गर्नेछ ।

साथै धुलिखेल हस्पिटलमा ‘एनसेल, धुलिखेल हस्पिटल–काठमाडौं युनिभर्सिटी हस्पिटल टेलिमेडिसिन एण्ड हेल्थकेयर इन्फर्मेटिक्स् सेन्टर’ स्थापना हुनेछ । यस सेन्टरले टेलिमेडिसिन र हेल्थ इन्फर्मेटिक्स्सँग सम्बन्धित कार्यहरु तथा नवीन खोजका बारेमा निर्देश गर्नेछ ।

एनसेलका प्रमुख कार्यकारी अधिकृत एण्डि चोङ्ग र धुलिखेल हस्पिटलका निर्देशक डा रमेश मकाजुले सोमबार एक कार्यक्रम माझ टेलिमेडिसिन र हेल्थकेयर इन्फर्मेटिक्स् कार्यक्रम संचालन गर्न सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन ।

यस सहकार्यलाई पाँच वर्षको लागि निरन्तरता दिने योजना एनसेल र धुलिखेल हस्पिटल–काठमाडौ युनिभर्सिटी हस्पिटलको रहेको छ । यसका लागि दुई वर्ष पछि कार्यक्रमको मुल्याङ्कन पश्चात यो सम्झौतामा नविकरण हुनेछ । पाँच वर्ष पछि पनि दीर्घकालीन रुपमा संचालनमा रहने गरी यसको विकास गर्नु यस सहकार्यको उदेश्य रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL