Logo

टेलिकमको गुणस्तरमा सुधार, प्रतिघण्टा १ लाखले गर्छन रिचार्ज

टेलिकमको गुणस्तरमा सुधार, प्रतिघण्टा १ लाखले गर्छन रिचार्ज


रक्षा रेग्मी
0
Shares

काठमाडौं । नेपाल टेलिकमले पछिल्लो समय आफ्नो सिस्टम अपग्रेड गरेसँगै रिचार्जमा समस्या आउन छाडेको छ । सिस्टम अपग्रेड गरेपछि रिचार्ज नहुने समस्या हट्नुका साथै रिचार्ज क्षमतामा समेत बढेको टेलिकमको प्रवक्ता प्रतिभा बैद्यले बताइन् ।

बैद्यका  अनुसार हाल पिक आवरमा प्रतिघण्टा १ लाख जनाले एनटिसिको ‘रिचार्ज कार्ड’ रिचार्ज गर्ने गरेका छन् । जसअनुसार  प्रतिमिनेट झण्डै १ हजार ७ सयले रिचार्ज गर्छन् । विशेषगरी, बेलुका ६ देखि ७ बजेको समयलाई मोवाइल रिचार्जका लागि ‘पिक आवर’ मानिन्छ ।

टेलिकमले रिचार्ज सिस्टम अपग्रेड नगर्दा एकै पटक बढी रिचार्ज हुँदा बढी समस्या देखिएको थियो । रिचार्ज कार्डमा समस्या देखिएको गुनासो आउन थालेसँगै टेलिकमले हार्डवेयर र सफ्टवेयर अपग्रेड शुरु गरेको हो ।

टेलिकमका अनुसार हाल दैनिक करिव १४ लाख ४० हजार रिचार्ज कार्ड प्रयोग हुने गरेको छ । जुन मासिक ४ करोड ३२ लाख हो र वार्षिक ५१ करोड ८४ लाख हो ।

पहिला सानो रिचार्ज कार्ड प्रयोग गर्दा छिनछिनमै रिचार्ज गरिरहनुपर्ने भएकाले रिचार्ज नुहने वा सयम लाग्ने समस्या आउने गरेको थियो  । सो समस्या हटाउन टेलिकमले सिस्टम अपग्रेड गर्नुभन्दा अघि ५० को रिचार्ज कार्ड बजारमा ल्याउन छोडेको थियो ।

त्यस्तै टेलिकमले सिस्टममा लोड कम गर्न मोबाइल पोइन्ट अफ सेल्स (एमपीओस) सिस्टमबाट रिचार्जको सुविधा पनि दिएको छ । जसअनुसार जीएसएम प्रिपेड, पोस्टपेड मोबाइल, ल्यान्डलाइन र एडीएसएललगायत सबै प्रकारका सेवाको बिल भुक्तानी गर्न सकिन्छ । टेलिकमका अनुसार एमपीओएसबाट प्रिपेड मोबाइलमा १० देखि ५ हजार रुपैयाँसम्म रिचार्ज गर्न सकिन्छ । पोस्टपेड मोबाइल र ल्यान्डलाइनको १ सय देखि ५ हजार रुपैयाँसम्म बिल भुक्तानी गर्न सकिन्छ । एडीएसएल इन्टरनेटको ५ सय रुपैयाँदेखि ५ हजार रुपैयाँसम्म बिल भुक्तानी गर्न सकिन्छ ।

एमपीओस इलेक्ट्रोनिक सिस्टम हो । टेलिकमका आधिकारिक विक्रेता तथा रिटेलरकोमा आफ्नो नम्बर दिएपछि उनीहरूले कार्डविना  रिचार्ज गरिदिन्छन् । यसमा रिचार्ज गरेको केही समयमै म्यासेज आउने भएकोले विश्वसनीय समेत रहेको बताइएको छ ।

टेलिकमसँग जीएसएम र सीडीएमए गरी १ करोड २३ लाख ३१ हजार ग्राहक छन् । जीएसएमका मात्रै १ करोड १० लाख ग्राहक छन् । टेलिकमले हाल  १ सय, २ सय, ५ सय, र १ हजार रुपैयाँका कार्ड बिक्री गर्दै आएको छ ।

टेलिकमले सम्पूर्ण सेवाका लागि एउटै रिचार्ज कार्डको प्रयोग गरी एकद्वार प्रणालीका लागि कन्भरजेण्ट रियल टाइम बिलिङ (सीआरटीबी) सिष्टम सञ्चालनमा ल्याएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL