Logo

कोइला खानी र कारखानाका कर्मचारीका लागि बनाइएको थियो फिल्टर भएको मास्क, कोरोना संक्रमणबाट बच्न उपयोगी नहुने

कोइला खानी र कारखानाका कर्मचारीका लागि बनाइएको थियो फिल्टर भएको मास्क, कोरोना संक्रमणबाट बच्न उपयोगी नहुने



काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का अनुसार कोरोना सर्नबाट जोगिने एउटा अंगका रूपमा मास्कको प्रयोग निकै महत्वपूर्ण र अनिवार्य गर्नुपर्छ । नाक, मुख र चिउँडो छोपिने गरी मास्क अनुहारमा लगाउनुपर्छ । मास्क लगाउँदा मुख र मास्कबीच कुनै खाली ठाउँ छोड्न हुँदैन । संक्रमित व्यक्तिको मुख र नाकबाट निस्किने पानीको थोपाबाट संसर्गका अरूलाई कोरोना सर्ने सम्भावना बढी हुन्छ ।

विज्ञहरूका अनुसार अन्य कोरोनाबाट जोगिने उपायसँगै उपयुक्त तरिकाले मास्क लगाउँदा कम्तीमा ६० प्रतिशत संक्रमणको कडी तोड्न सकिन्छ । मास्क लगाउँदा संक्रमणको विस्तारमा उल्लेखनीय कमी ल्याउँछ ।

यसैक्रममा पछिल्लो समय नेपालमा निकै लोकप्रिय बनेको फिल्टर(भल्भ)भएको मास्क लगाउनु भने जोखिम भएको विज्ञहरूले बताएका छन् । सार्वजनिक स्थलमा भल्भ भएको मास्क लगाउने चलन तुरुन्त बन्द गर्नुपर्ने बताउँदै स्वास्थ्य विज्ञहरुले कोरोना संक्रमितले भल्भ भएको मास्क लगाउँदा यसमा भएको भल्भ भएर तीव्र वेगका साथ भाइरस वातावरणमा फैलिने र यसले छेउछाउमा भएका व्यक्ति संक्रमित हुने उच्च जोखिम हुने उल्लेख गरेका छन् ।

विश्वभरका धेरै स्थानमा भल्भ भएको मास्क नलगाउन सुझाव दिइएको छ । अष्ट्रेलियाको भिक्टोरिया राज्यका शीर्ष स्वास्थ्य अधिकारीले भल्भ भएको मास्क नलगाउन चेतावनी पनि दिएका छन् । भल्भ भएको मास्क लगाउँदा दोस्रो व्यक्तिलाई जोखिम बढी हुने भन्दै अधिकारीहरुले यस्तो मास्क नलगाउन चेतावनी दिएका छन् ।

प्राध्यापक ब्रेट सटनले सामाजिक सञ्जाल ट्वीटरमा एक पोस्ट गरेका छन् । जसमा उनले भल्भ भएको मास्क लगाउँदा श्वासप्रश्वासमा सहज हुने र मास्क पनि ओसिलो हुँदैन । ‘तर, यसमा तपाईंले श्वासप्रश्वासको क्रममा भाइरस बाहिर छाड्न सक्नुहुन्छ । त्यसैले सायद यसले तपाईंलाई सुरक्षित राख्न सक्छ, तपाईं संक्रमित हुनुहुन्छ भने अन्य मानिसलाई भने संक्रमण हुनबाट बचाउन सक्दैन’, उनले भने ।

फस्ट कम्पनीका अनुसार शुरुआती समयमा यस्ता मास्क कारखाना र कोइला खानीमा काम गर्ने मानिसका लागि लगाउन बनाइएको थियो । कारखाना वा खानीमा भल्भ भएको मास्क लगाएर काम गर्दा मानिसहरुलाई श्वासप्रश्वासका लागि पनि सहज हुने र हानिकारक धुलो पनि रोक्न सकिने भएकाले यस्ता मास्क प्रयोग गरिन्थ्यो ।

आमव्यक्तिले मास्क लगाउँदा आफू कोरोनाबाट सुरक्षित रहेको बुझ्ने गरेका छन् । तर आफू मात्र नभई नजिकको व्यक्तिले मास्क लगाएको छ भने मात्र आफू सुरक्षित रहन सकिन्छ । सबैले मास्क लगाए मात्र एक–अर्कालाई संक्रमणवाट सुरक्षित पार्न सकिन्छ ।-विभिन्न अन्तराष्ट्रिय मिडियाका सामग्रीमा आधारित अनुवाद

प्रतिक्रिया दिनुहोस्
MBL