Logo

बजारमा चिनीको कृत्रिम अभाव श्रृजना गरेर मूल्य बढाइयो, उपभोक्ता ठगिदा सरकार निरिह

बजारमा चिनीको कृत्रिम अभाव श्रृजना गरेर मूल्य बढाइयो, उपभोक्ता ठगिदा सरकार निरिह



काठमाडौं । पछिल्लो समय नेपाली बजारमा चिनीको मूल्य एक्कासि बढ्यो । उपभोक्ताले प्रतिकिलो ८० रुपैयाँ हाराहारीमा खरिद गरिरहेको चिनीको मूल्य अहिले ९० देखि ९५ रुपैयाँ पुगेको छ । उपभोक्ताले एक्कासी मूल्य बढेकोबारे प्रश्न गर्दा व्यापारीले होलसेल मूल्यमै भएको वृद्धिका कारण मूल्य बढेको बताउने गरेका छन् ।

तर, बजारमूल्य अनुगमन र नियमनको जिम्मेवारी बोकेको रहेको वाणिज्य विभागले भने बजारमा कृत्रिम अभाव देखाएर मूल्य बढाएको बताउँछन् । विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीका अनुसार विभिन्न उद्योगहरुमा तथा पसलहरुमा पनि चिनीको अभाव देखाउने प्रवृत्ति पछिल्लो समय बढेको छ र पछिल्लो समय कृत्रिम अभाव बढाएर चिनीको मूल्यवृद्धि गरिएको छ ।

सुवेदी बजारमा चिनीको अभाव कृत्रिम रहेको र कसैले अभाव छ भन्छ भने त्यो मूल्य बढाउने नियत मात्रै हो । पछिल्लो समय उद्योगीले नै जबर्जस्ती चिनीको मूल्य बढाउने उद्देश्यले चिनीको अभाव देखाउन खोजेको पनि उनले आरोप लगाए । ‘हाल बजारमा चिनीको स्टक भरपुर मात्रामा छ, माग धान्न कुनै गाह्रो छैन्,’ उनले भने, ‘बजारमा अभावजस्तो देखियो भने त्यो मूल्यवृद्धिका लागि हो भन्न सकिन्छ ।’

उद्योगीहरुले आफुले उत्पादन गरेको बस्तुको मूल्य बढाउनका लागि चाडबाडको अवसर पारेर बस्तुको कृत्रिम अभाव श्रृजना गर्ने गरेका छन् । यस्तो प्रवृत्तिलाई नियन्त्रण गर्न वाणिज्य विभागले पछिल्लो समय तरकारी, चिनीलगायतका अत्यावश्यक बस्तुको अनुगमन बढाएको समेत महानिर्देशक सुवेदीले बताए । उनका अनुसार पछिल्लो समय विभागले खासगरी चिनी र तरकारीको अनुगमन तीब्र पारेको छ ।

विभागले चिनीका विभिन्न शंकास्पद गोदामहरु सिल गरिसकेको छ र अन्य स्थानमा अनुगमन जारी रहेको पनि सुवेदीले बताए । पछिल्लो समय बजारमा चिनीको आपूर्ति सहज बनाउन सरकारले सरकारी कम्पनी साल्ट ट्रेडिङ र खाद्य तथा व्यापार कम्पनीलाई यो बर्ष ३० हजार मेट्रिक टन बढी चिनी खरिद गर्ने अनुमति दिइसकेको छ ।

यसकारण पनि बजारमा चिनीको अभाव नहुने महानिर्देशक सुवेदी बताउँछन् । यी दुई सरकारी कम्पनीले गत बर्ष भने चिनी खरिद गरेका थिएनन् ।

विभागले बजारमा चिनीको कृत्रिम अभाव र मूल्यवृद्धि रोक्न अनुगमन गरिरहेको दाबी गरेपनि उपभोक्ताले अहिलेपनि महँगो मूल्यमा चिनी खरिद गर्न बाध्य छन् । हुन त पछिल्लो समय धेरैजसो खाधान्न र तरकारीमा उपभोक्ताको ढाड सेक्नेगरि निरन्तर मूल्यवृद्धि भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL