Logo

सुनको मूल्य बढेसँगै व्यापार ठप्प, बैंकमै थुप्रियो सयौं किलो सुन

सुनको मूल्य बढेसँगै व्यापार ठप्प, बैंकमै थुप्रियो सयौं किलो सुन



काठमाडौं । पछिल्लो समय सुनको मूल्यमा लगातार रेकर्ड ब्रेक हुने क्रम जारी छ । अन्तरराष्ट्रिय बजारमा लगातार उकालो लागिरहेको सुनको मूल्य नेपालमा पनि दिनहुँ उच्च गतिमा बढिरहेको छ । गत बर्षको साउन १९ गतेदेखि आइतबारसम्म नेपालमा सुनको मूल्यमा प्रतितोला ३३ हजार ३ सय रुपैयाँले बढेको छ ।

laxmi

गत बर्षको साउन १९ गते ६६ हजार ३ सय रुपैयाँ प्रतितोला पर्ने सुन हाल बढेर ९९ हजार ६ सय रुपैयाँ पुगेको छ । यसबीचमा सुनमा लगानी गर्नेहरुले मात्रै करिव ४५ प्रतिशत नाफा आर्जन गरिसकेका छन् । नेपालमा सुनको मूल्य अन्तरराष्ट्रिय बजारको तुलनामा केही बढी पर्न आउँछ । सरकारले सुन आयात गर्दा लगाएको राजस्व समेत यसमा पर्ने हुँदा केही महंगो हुने व्यवसायीहरु बताउँछन् ।

सुनको सिजन मानिने तजिको पूर्वाद्धमा समेत अहिले सुनको कारोबार भने ठप्प छ । सुनको मूल्य लकडाउनकै अवधिमा पनि प्रतितोला २५ हजार रुपैयाँ बढीले बढेको छ । जसकारण हाल सुन किन्नेहरु शतप्रतिशत घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघका बरिस्ठ उपाध्यक्ष माणिकरत्न शाक्य बताउँछन् ।

हाल बजारमा सुनको कारोबार ठप्प हुँदा बैंकहरुमा मात्रै ३ सय ३० किलोभन्दा बढी सुन थन्किएको उनको भनाई छ । गत बर्षहरुमा दैनिक ३३ देखि ४० किलोसम्म विक्री हुने सुन हाल प्रतिदिन करिब करिव २ देखि ३ किलो मात्रै हुन्छ ।

यसरी व्यापार नै नहुँदा बजारमा चाहिनेजति सुन बैंकमा थुप्रिएको छ । तर अझै सुनको मूल्यले दैनिक नयाँ रेकर्ड राख्ने क्रम यो बर्षको अन्त्यसम्म चल्ने उनको भनाई छ । अन्तररष्ट्रिय बजारमा मूल्य बढ्ने प्रक्षेपण भएपछि नेपालमा पनि यसको मूल्य बढ्ने संकेत देखिएको उनले बताए ।

पछिल्लो ७ महिनादेखि विश्वभर फैलिएको कोरोना भाईरसको महामारी (कोभिड–१९) का कारण विश्व अर्थतन्त्र नै डामाडोल भएसँगै सुनको मूल्यमा वृद्धि भइरहेको हो । कोरोनाका कारण विश्वका ठुला खानीजन्य उद्योग, कलकारखानाहरु संचालनमा नआउँदा सुनलगायत महत्वपूर्ण धातुको उत्खनन नै रोकियो । यसरी सुनसँगै अन्य धेरै धातुहरुको उत्खनन र प्रशोधन रोकिँदा सुनको मूल्यले भने दिनप्रतिदिन आकाश चुमिरहेको छ ।

अन्तरराष्ट्रिय बजारमा मात्रै सुनको मूल्य पछिल्लो एक बर्षमा ३८ दशमलव ४२ प्रतिशतले उकालो लागेको छ । गत बर्षको जुलाईमा १ हजार ४ सय २० डलर प्रतिऔंस पर्ने सुन यो बर्षको जुलाईमा बढेर १ हजार ९ सय ७५ डलर प्रतिऔंस पुगेको छ ।

सन २०२० को अन्त्यसम्ममा अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस २२ सय डलर पुग्ने प्रक्षेपण गरिएको छ । पछिल्लो १ बर्षमा प्रतिऔंस ५ सय ४७ डलरले बढेको सुनको मूल्यले अझै नयाँ रेकर्ड कायम गर्ने विज्ञहरु बताउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL