Logo

हवाई उडान खोलेको सरकारले लामो दूरीका यातायात सञ्चालनका लागि किन दिएन ग्रीन सिग्नल ?

हवाई उडान खोलेको सरकारले लामो दूरीका यातायात सञ्चालनका लागि किन दिएन ग्रीन सिग्नल ?



काठमाडौं । सरकारले जारी लकडाउन खुकुलो पार्दै आगामी भदौ १ गतेदेखि आन्तरिक तथा अन्तरराष्ट्रिय उडान खुला गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले आन्तरिक तथा अन्तरराष्ट्रिय उडान खुल्ला गर्ने निर्णय गरेपनि लामो समयदेखि ठप्प रहेको लामो दूरीको यातायातबारे भने कुनै निर्णय लिएको छैन् ।

आन्तरिक तथा अन्तरराष्ट्रिय उडान खुल्ला भएपछि देश बिदेशबाट आवतजावत बढने निश्चित भएपनि लामो दूरीका यातायात नचले सर्वसाधारण कसरी जिल्ला–जिल्लासम्म र घरसम्म पुग्न सक्छन भन्ने प्रश्न पनि आएको छ । धेरैले हवाई यातायात भन्दा पनि सर्वसाधारणका लागि पहिला लामो दूरीका सार्वजनिक यातायात सञ्चालन गर्नुपर्ने पनि बताउँदै आएका थिए ।

तर, सरकारले सोमबार एक जिल्लाबाट अर्को जिल्लामा यात्रुवाहक बस सञ्चालन गर्न दिनेमात्र निर्णय गरेको स्रोतले बताएको छ । मन्त्रिपरिषद बैठकले यसबारे सामाजिक दूरी कायम राख्नुका साथै स्वास्थ्य सुरक्षा सर्तकता अपनाउँदै छोटो दूरीका अन्तर जिल्ला यात्रुबाहक बस सञ्चालन गर्न दिने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । यसअघि सरकारले एउटा जिल्लाभित्रमात्रै स्वास्थ्य सुरक्षा सर्तकता अपनाएर बस सञ्चालन गर्न दिने निर्णय गरेको थियो । यो नियम उपत्यकाको हकमा भने लागू थिएन ।

सरकारले लामो दूरीका यातायात सञ्चालनमा अहिले व्यवसायीले छोटो दूरीमा सरकारी निर्देशन विपरित सवारी सञ्चालनमा गरेको अटेरी हुनसक्ने अनुमान गरिएको छ । तर, कोरोनाको जोखिम बढ्ने भन्दै गत चैतदेखि नै बन्द हुँदै आएको आन्तरिक तथा अन्तरराष्ट्रिय व्यवसायिक उडान खोल्ने निर्णय गर्दा चैतदेखि नै बन्द लामो दूरीको यातायात खोल्ने निर्णय नआउँदा व्यवसायी निराश भएका छन् । लामो समयदेखि थन्किएका सवारी मर्मत तथा व्यवस्थित गर्नका लागि पनि व्यवसायीलाई करीब १ महिना लाग्न सक्ने बताउँछन् । यस्तोमा सरकारले हवाई उडान जस्तै लामो यातायातका सवारी खोल्ने मिति नतोकेर निराश पारेको व्यवसायी बताउँछन् ।

सार्वजनिक यातायात व्यवसायी भने लामो रुटको सार्वजनिक सवारीसाधन चलाउने गरी विभागमा प्रस्ताव गरिएको बताउँछन । हवाई यातायातमा कोरोना संक्रमण नहुने तर सार्वजनिक यातायातमा कोरोना संक्रमण हुने जस्तो सरकारी व्यवहार देखिएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले बताए ।

सिटौलाले लामो रुटको सार्वजनिक सवारी संचालनको लागि सरकारलाई आफुहरुले प्रस्ताव पठाएको बताउँदै भने–‘जिल्लाभित्रै सवारीसाधन चलाउने निर्णय गरेसँगै लामो रुटको पनि सवारीसाधन संचालन गर्ने निर्णय गर्नुपर्ने हो । तर, सरकारले त्यसो गरेर । यता अन्य रातो नम्बर प्लेटका साना गाडीहरुले भने यात्रुसँगै महंगो भाडा असुलेर ब्रम्हलट गरिरहेका छन ।’ उनले भने –सरकारको यस्तो निर्णय हामी मान्दैमान्दैनौ, हामीले जसरी पनि सार्वजनिक यातायात संचालन गर्ने प्रस्ताव राखेका छौं,’ उनले भने, ‘आजको पत्रकार सम्मेलनमा हामीले यी सबै कुराको उठान गर्नेछौं ।’

तर, यातायात व्यवस्था विभागले भने पहिलो चरणमा जिल्लाभित्रै र त्यसपछि विस्तारै अन्तरजिल्ला हुँदै देशभर सार्वजनिक सवारीसाधन चलाउने तयारी गरिरहेको बताउँछन । सरकार भने महासंघ लगायतका व्यवसायीले छोटो दूरीमा सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय गरेको लामो समयसम्म पनि अझै आनाकानी गरेको बताउँछ ।

सरकारले बैंक किस्ताको म्याद थप र पुनर्कर्जा लगायतको व्यवस्था गरेर उनीहरूको माग पूरा गरे पनि व्यवसायी अझै तयार भएका नभएको सरकारी दाबी छ । सोमबार यातायात व्यवस्था विभागसँग छलफल गरी थप मागमा सहमति गरेका छन् र लामो र मध्यम दूरीका सार्वजनिक यातायात सञ्चालन गर्ने बताएका छन् । महासंघ र विभागबीच सोमबार भएको छलफमा लामो तथा मध्यम दूरी खुलाउन उच्चस्तरीय समितिलाई निर्णय गर्न विभागले तत्काल सिफारिस गर्ने सहमति भएको छ ।

यातायात मजदुरको एक लाखको कोरोना बीमामा सरकारले ५० प्रतिशत र यातायात व्यवसायीले ५ प्रतिशत अनुदान व्यवस्था गनर्,े कोरोनाका कारण यातायात क्षेत्रमा कुनै पनि किसिमको मानवीय दुर्घटना भएमा क्षतिपूर्तिका लागि कोष स्थापना गर्न सम्बन्धित मन्त्रालयलाई विभागले पहल गर्ने सहमति भएको छ ।

यातायात मजदुरलाई आवश्यक स्वास्थ्य उपकरणको व्यवस्था व्यवसायीले नै गर्ने तर यात्रुको स्वयंले व्यवस्था गर्नुपर्ने सहमति भएको छ । उपत्यकाका बस स्टेसनमा स्वचालित सेनिटाइजेसन काठमाडौँ महानगरपालिकाले राख्ने भएको छ । यससँगै बिहीबारदेखि छोटो दूरीमा सार्वजनिक यातायात सञ्चालन हुने भनिएको छ । तर, लामो दुरीमा कहिलेदेखि सवारी चल्छन भन्ने टुंगो छैन् ।

खर्बौ रुपैयाँ लगानी भएको र लाखौं मजदूर कर्मचारी आश्रित रहेको यातायात क्षेत्रमा देखिएको अन्यौलता साँच्चै निराशा लाग्दो छ । अहिले यथास्थितिको लकडाउन साउन ७ गते सकिँदैछ । त्यसपछिको चरणमा लकडाउनलाई अझै खुकुलो बनाउने सरकारले निर्णय गरिसकेको छ । साउन ८ देखि सिनेमा घर, लामो दुरीका सवारीसाधन, कलेज, विद्यालय लगायत सीमित केही क्षेत्रलाई बन्द गरी अन्य उद्योग, व्यापार, व्यवसाय सञ्चालनमा थप सहजता मिलाइने भएका छ ।

प्रतिक्रिया दिनुहोस्
MBL