Logo

एमसीसीको म्याद थप्न अमेरिकालाई नेपालको पत्र, कोरोना संक्रमण देखाइयो कारण

एमसीसीको म्याद थप्न अमेरिकालाई नेपालको पत्र, कोरोना संक्रमण देखाइयो कारण



काठमाडौं । सरकारले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को मिति थप गर्न आग्रह गरेको छ । सम्झौता संसदबाट अनुमोदन गरी असार १६ देखि कार्यान्वयन थाल्ने समय गुज्रिएपछि अर्थमन्त्रालयले असार १५ गते सोमबार अमेरिकास्थित एमसीसी कार्यालयलाई पत्र लेख्दै कार्यान्वयनमा जाने समय थपबारे छलफल गर्न आग्रह गरेको हो । अर्थ मन्त्रालय स्रोतका अनुसार पत्रमा कोरोना संक्रमण (कोभिड–१९) महामारीका कारण पूर्वतयारी गर्न नसकिएको भन्दै पत्राचार गरिएको छ ।

laxmi

कोभिड-१९ का कारण केही महिना म्याद थप गर्नका लागि छलफल गर्न प्रस्ताव गरिएको छ । एमसीसीलाई पठाएको पत्रमा संसदबाट अनुमोदनको विषय उल्लेख नगरिएको र कोभिड–१९ का कारण काम प्रभावित भएकाले कार्यान्वयनमा जाने मिति थप गर्ने विषयमा छलफलका लागि आग्रह मात्रै गरिएको स्रोतको दाबी छ ।

२०१७ सेप्टेम्बरमा नेपालले एमसीसीसँग करिब ५५ अर्ब अनुदानका लागि सम्झौता गरेपछि त्यसलाई संसदबाट अनुमोदन गर्नुपर्ने प्रक्रिया र सर्त अघि बढाएको थियो । तर, एमसीसी कार्यान्वयनमा जाने समय नजिकिँदै गर्दा सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीभित्र सम्झौतामा भएको प्रावधानका विषयमा विवाद सुरु भएको थियो ।

सत्तारूढ दलभित्रको किचलोका कारण कार्यान्वयनमा जानुअघि संसदबाट अनुमोदन हुनुपर्ने एमसीसीको सर्त पूरा भएको छैन । सभामुख अग्नि सापकोटाले असार १० गते संसद्को बजेट अधिवेशन १७ गतेसम्मका लागि स्थगित गर्ने घोषणा गरेपछि असार १६ गतेभित्र एमसीसी संसदबाट अनुमोदन हुने सम्भावना टुंगिएको थियो ।

मन्त्रिपरिषद्को बिहीबारको बैठकले संसद्को बजेट अधिवेशन स्थगित गर्न गरेको सिफारिस राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबारै स्वीकृत गरेपछि हिउँदे अधिवेशन सुरु नहुन्जेल एमसीसी पास हुने सम्भावना पनि टरेको छ । सम्झौताका प्रावधानलाई लिएर सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीभित्र भइरहेको विवादका बीच एमसीसीको कार्यान्वयन सुरु हुने म्याद गुज्रिएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL