Logo

बीमामा ‘कालोधन’ रोक्न बीमा समितिको नयाँ कदम, बीमा पोलिसीबाट कर्जा लिन कडाई

बीमामा ‘कालोधन’ रोक्न बीमा समितिको नयाँ कदम, बीमा पोलिसीबाट कर्जा लिन कडाई



काठमाडौं । बीमा समितिले बीमालेखबाट कर्जा लिन पाउने मौजुदा व्यवस्थालाई कडाई गरेको छ । यस अघि एकल बीमा गरेको १ महिना र सावधिक बीमा गरेको १ बर्षमा बीमितहरुले समर्पण मुल्य कर्जा पाउँदै आएकोमा समितिले आज एक सकुर्लर जारी गर्दै त्यसलाई रोकेको छ ।

laxmi

समितिका अनुसार अबका दिनमा एकल बीमामा बीमा गरेको एक बर्ष र साबधिक बीमामा बीमा गरेको दुई बर्ष पछि मात्रै बीमितहरुले बीमा लेख धितोमा राखेर कर्जा पाउने छन् । विशेषगरी पछिल्लो समय एकल बीमा गराउँदा स्रोत नखुलेको रकम (कालोधन) भित्रिएको आशंकामा त्यसलाई निरुत्साहित गर्न उक्त व्यवस्था गरिएको बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिए । ‘पछिल्लो समय ठूलो रकमको एकल बीमा गराउने र त्यसको एक महिनामा ऋण लिएर चलाउने प्रवृत्ति बढेको छ,’ उनले भने, ‘यसो गर्दा बीमा क्षेत्रमा स्रोत नखुलेको रकम भित्रन सक्ने भन्दै बीमा समितिले नयाँ व्यवस्था लागू गरेको हो ।’

सरकारले बीमालाई प्राथमिकता दिँदै बीमा गराउँदा त्यसबापत तिर्ने प्रिमियम वातपको रकममा स्रोत खोज्ने गरेको छैन । त्यसैको फाइदा लिँदै कतिपय व्यक्तिले बीमाको नाममा स्रोत नै नखुलेको रकम प्रवेश गराउने आशंका बढेकाले त्यसलाई निरुत्साहित गर्न नयाँ व्यवस्था गरिएको समेत उनले जानकारी दिए ।

यसैगरी सावधिक बीमालाई पनि निरन्तरता दिनका लागि कर्जा लिने समयलाई थप कडाई गरिएको पौडेलले जानकारी दिए । ‘अहिले बीमा गरेको एक बर्षमै कर्जा लिन पाउने व्यवस्था छ,’ उनले भने, ‘यसो गर्दा धेरै जसो बीमालेख बीचमै टुट्ने र बीमा लेख परिपक्क हुनेबेलासम्म निरन्तरता नपाउने भएकाले त्यसलाई रोक्न सावधिक बीमा गराएको दुई बर्ष पछि मात्रै कर्जा पाउने व्यवस्था गरेका हौं ।’

समितिका अनुसार बीमकले अधिकतम एक आर्थिक वर्षभित्र मात्र बीमालेख ‘ब्याकडेट’ गर्न सक्नेछ । तर एकल बीमा शुल्क भुक्तानी गर्ने गरी जारी गरिएको बीमा लेखको हकमा भने त्यस्तो व्यवस्था गर्न पाइने छैन ।

प्रतिक्रिया दिनुहोस्
MBL