Logo

कोरोना बीमामा आकर्षण : छोटो अवधिमै ११ लाखले गराए बीमा, ५ जना संक्रमितले लिए भुक्तानी

कोरोना बीमामा आकर्षण : छोटो अवधिमै ११ लाखले गराए बीमा, ५ जना संक्रमितले लिए भुक्तानी



काठमाडौं । बैशाखको पहिलो साता विश्वभर कोरोना भाईरसका संक्रमितको संख्या उच्च हुँदा नेपालमा भने छिटफुट देखिन थालेको थियो । छिटफुट भाईरसका संक्रमित भेटिँदा बीमा क्षेत्रको नियामक निकाय बीमा समितिले कोरोना भाईरस बीमा लेख सार्वजनिक गर्यो ।

छिमेकी भारतलगायत विश्वका केही देशमा लागू भएको उक्त बीमा सेवा नेपालमा एकाएक चर्चामा आयो अर्थात चाँडै ठूलो संख्यामा बिमितहरु यसमा जोडिए ।
हालसम्म ११ लाखभन्दा बढीले कोरोना बीमालेख खदि गरेको बीमक संघका महासचिव चंकी क्षेत्रीले बताए ।

कोरोनाको बीमाका लागि प्रतिव्यक्ति १ हजार बीमाशुल्क तोकिएको छ भने परिवारका लागि भने प्रतिब्यक्ति ६ सय रुपैयाँमै १ लाखको बीमा हुने समितिले जारी गरेको निर्देशिकामा उल्लेख छ । यस्तै प्रतिव्यक्ति ५ सय रुपैयाँ तिरेर समेत ५० हजारको कोरोन बीमा गर्न सकिने समितिको निर्देशिकामा उल्लेख छ ।

महामारीले थला परेको बीमा क्षेत्रलाई बीमा समितिले उक्त बीमालेख सार्वजनिक गरेपछि केही राहत मिलेको थियो । तर, चाँडै ठुलो संख्यामा संक्रमितसँगै बिमित पनि थपिएपछि बीमा कम्पनीहरुले कम्पनीको चुक्ता पुँजीभन्दा दायित्व बढी हुने भन्दै थप कोरोना बीमा गर्न नसक्ने जानकारी समितिमा दिएका थिए ।

समितिले सोही अनुसार कोरोना बीमा सेवा स्थगित गरेको थियो । तर, दायित्व बहन गर्ने जिम्मा बाँडफाँड भएपछि स्थगित भएको २४ घण्टामै पुनः कोरोना बीमा संचालनमा आएको थियो ।

दावी भुक्तानीको अवस्थाा के छ ?
नेपालमा हालसम्म ५ जनालाई विभिन्न कम्पनीले कोरोना बीमा दावी रकम भुक्तानी गरेका छन् । नेपाल बीमक संघका महासचिव चंकी क्षेत्रीका अनुसार विभिन्न कम्पनीबाट ५ जनाको बीमा दावी भुक्तानी भएको हो । नेपालमा हाल बीमा समितिले तोकेअनुसार अस्पतालको रिपोर्ट हेरेर दावी भुक्तानी गर्ने गरिएको उनको भनाई छ ।

उनका अनुसार बीमा रकम दावी भुक्तानी गर्न बिमीतको पीसीआर टेष्ट हुनेवित्तीकै दावीका लागि योग्य हुने उल्लेख छ । तर, हालसम्म अस्पतालले पुर्ण रुपमा कोरोना भएको पुष्टि गरेमा दावी भुक्तानी गर्ने गरिएको छ । अस्पतालले कोरोना पुष्टि गरेर अस्पतालमा बसेको रिपोर्ट बुझाउनुुपर्ने उनको भनाई छ ।

छिमेकी देश भारतमा कोरोना पुष्टि भएर घरमै बसेको अवस्थामा पनि अर्थात अस्पतालमा बसेको प्रमाण नभईकनै बीमा दावी भुक्तानी गर्ने गरिएको छ । तर, नेपालमा अहिले अस्पतालकै सिफारिसलाई मात्र मान्यता दिइएको अवस्था छ ।

नेपालमा पनि स्थिती भयावह भएर घरमै क्वारेन्टाईनमा बस्नुपर्ने अवस्थामा आएमा यस्तो व्यवस्था गर्न सकिने महासचिव क्षेत्रीले बताए । उनका अनुसार नेपालमा पनि पीसीआर टेष्ट गरेर घरमै बस्नुपर्ने अवस्था आएमा त्यस्तो व्यवस्था हुनसक्ने छ ।

प्रतिक्रिया दिनुहोस्
MBL