Logo

आज लकडाउनको ७२ औं दिन : सरकारी निर्णयको अवज्ञा गर्दै देशैभर व्यवसाय सञ्चालनमा, जनता पनि प्रतिकारमा

आज लकडाउनको ७२ औं दिन : सरकारी निर्णयको अवज्ञा गर्दै देशैभर व्यवसाय सञ्चालनमा, जनता पनि प्रतिकारमा



काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड–१९) को संक्रमण फैलन नदिन नेपाल सरकारले लागू गरेको लकडाउन (बन्दाबन्दी)को आज ७२ औं दिन हो । आज सरकारले जारी गरेको आठौं चरणको लकडाउन सुरु भएको छ ।

सरकारले जेठ २० सम्मका लागि सातौ चरणको लकडाउन लागू गरेकोमा गत शनिबारमात्र जेठ ३२ सम्म थप १२ दिन लकडाउन लम्ब्याउने घोषणा गरेको थियो । सरकारले नेपालमा कोरोना संक्रमण नियन्त्रणका लागि भन्दै पहिलोपटक चैत ११ गते बिहान ६ बजेदेखि चैत १८ बिहान ६ बजेसम्म लकडाउन घोषणा गरेको थियो ।

यस्तै दोस्रो चरणमा लकडाउनको अवधि थप गर्दै चैत २५ सम्म बढाइएको थियो । यस्तै सरकारले तेस्रो चरणमा चैत्र २६ देखि वैशाख ३ मध्यरातसम्म, चौथो चरणमा वैशाख १५ मध्यरातसम्म र पाँचौं चरणमा वैशाख २५ मध्यरातसम्म लकडाउनको अवधि लम्ब्याउँदै गएको थियो । यसैक्रममा सरकारले छैटौंपटक जेठ ५ मध्यरातसम्मका लागि लकडाउनको अवधि थप गरेको थियो ।

सरकारले अहिले आठौं चरणमा जेठ ३२ सम्म लकडाउन गर्ने घोषणा गर्दै अन्तरराष्ट्रिय सीमानाका र विमानस्थल आगामी असार १६ गतेसम्म बन्द गर्ने निर्णय पनि गरेको छ । सरकारका प्रवक्ता अर्थमन्त्री डा युवराज खतिवडाका अनुसार सीमा क्षेत्रमा आवागमन स्थगन गर्दै गर्दा त्यहाँबाट आउने जाने कुरालाई अलि कडाइ गरिने र सीमा वारिपारि गर्ने विषयमा विश्व स्वास्थ्य संगठनको मापदण्डनुसार जाँच गरेर मात्रै लाने वा लैजाने कुरा पालना गर्न गराउनका लागि छिमेकी मुलुकसँग सहकार्य गर्ने निर्णय भएको छ । बन्दाबन्दी अवधिमा यसको ढाँचाबारे कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको सिफारिसका आधारमा मन्त्रिपरिषद्ले थप निर्णय गर्ने मन्त्री डा खतिवडाको भनाइ छ ।

तर, सरकारले २१ गतेदेखि हुने लकडाउनको मोडालिटीबारे सरकारले स्पष्ट नपार्दा थप अन्यौलता बढेको छ । विभिन्न सञ्चारमाध्यममा प्रेषित फरक–फरक समाचारका कारण पनि जनतामा उकुसमुकुस पैदा भएको छ । सरकारले उच्चस्तरीय समितिको सिफारिसका आधारमा लकडाउनको मोडालिटी तय गर्ने भनेसँगै लकडाउन खुकुलो होला कि थप कडा होला भन्नेमा धेरैको जिज्ञासा रहेको छ । छिमेकी भारतले लकडाउन कायम राखेपनि आजदेखि धेरै क्षेत्र र व्यवसायमा लकडाृन खुकुलो बनाएको छ र जनजीवन सहज बनाउने प्रयास गरेको छ । यस्तोमा नेपालले संक्रमणको गति तीब्र भएका बेला अब कसरी लकडाउन ह्याण्डल गर्छ चन्नेमा धेरैको चासो रहेको छ ।

लामो लकडाउनका कारण अफ्ठ्यारोमा परेका व्यवसायीहरुले सररकारको लकडाउन लम्बयाउने निर्णयको अवज्ञा गर्न थालेका छन् । मंगलबारमात्र जोरपाटी र पुल्चोकका व्यवसायीले आफ्नो व्यवसाय खोलेर सरकारी निर्णयको अवज्ञा गरेका थिए । त्यहाँ व्यवसाय बन्द गर्न खटिएका प्रहरीविरुद्ध व्यवसायी तथा सर्वसाधारणले समेत प्रतिकार गरेका थिए ।

यस्तै देशका विभिन्न स्थानमा व्यवसायीहरुले बजार खोल्न थालेका छन् । बुधबारदेखि काठमाडौंको मुख्य व्यापारिक केन्द्र दरबारमार्गका व्यवसायीहरुले राजधानीको दरबारमार्ग क्षेत्रका व्यवसाय आजबाट सुरु गर्ने भएका छन् । सरकारले लकडाउनको मोडालिटी तय नगरेको भन्दै आक्रोशित भएका व्यवसायीहरुले आजबाट व्यवसाय सुरु गर्ने बताएका छन् । दरबारमार्ग डेभलपमेन्ट बोर्डको मंगलबार भएको अनौपचारिक छलफलले बुधबारदेखि दरबारमार्ग क्षेत्रको व्यवसाय संचालन गर्ने निर्णय गरेको हो ।

यस्तै नेपाल मदिरा व्यवसायी महासंघले आज व्यवसाय सञ्चालन र करसम्बन्धमा सरकारी निर्णयको विरोध गर्दै आन्तरिक राजश्व विभाग घेराउ गर्दैछ । महासंघका सबै जिल्लाका संघहरुले सम्बधित जिल्ला प्रसासनमा विरोध कार्यक्रम गर्ने बताइएको छ ।

यस्तै झापाभरिका उद्योग वाणिज्य संघका प्रतिनिधीहरुले जेठ २४ बाट बिहान १० बजेदेखि ५ बजेसम्म सम्पूर्ण व्यवसाय सञ्चालन गर्ने निर्णय नै गरेका छन् ।

कोरोना भाइरसको महामारी फैलदै जाने क्रममा ८ जनाको मृत्युसमेत भएपछि सरकार थप सतर्क बनेको छ । लकडाउनको बखत अत्यावश्यक सेवाबाहेकमा पास आवश्यक पर्ने व्यवस्था गरिएको छ । यस्तै सरकारले अत्यावश्यक सेवा भने सञ्चालन गर्न दिइने गरि कृषि, खाद्यान्न ढुवानी, निर्माण सेवा सञ्चालन गर्न दिइने पुरानै मोडालिटीमा लकडाउन गरिरहेको छ । तर, आगामी जेठ २१ पछि कुन मोडालिटीमा लकडाउन गर्ने भन्नेबारे उच्चस्तरीय समितिको सिफारिसमा सरकारले लकडाउन निर्णय गर्ने भनिएको छ । ७१औं दिनसम्म आइपुग्दा केही उल्लंघनका घटनाबाहेक जनताले सरकारलाई अभुतपूर्व रुपमा लकडाउन कार्यान्वयनमा साथ दिएको देखिन्छ ।

करीब १० हप्तायता घरभित्रै बसेका अधिकांश जनताको अहिलेको सबैभन्दा प्रमुख चासो र चिन्ताको विषय लकडाउन कहिले खुल्छ ? भन्ने रहेको छ । यसैक्रममा जारी लकडाउन थप गर्ने सरकारको निर्णयसँगै सर्वसाधारण लकडाउन कहिलेसम्म चल्ने हो भन्ने चिन्तामा देखिएका छन् । सरकारले उद्योगधन्दा सञ्चालन गर्नका लागि लकडाउन खुकुलो बनाउन लागिएको बताएपनि उद्योगी व्यवसायी मजदूर, कच्चापदार्थ तथा बजारका कारण दबाबमा रहेका छन् । तर, अहिलेसम्म सरकारले लकडाउन कहिलेसम्म यहि मोडालिटीमा चलिरहने हो र आगामी दिनमा कसरी अगाडि बढने योजना छ भन्ने जानकारी नगराएकाले पनि सबैमा लकडाउनबबारे अन्यौलता देखिएको छ । यस्तै धेरै संक्रमित थपिएसँगै थप त्रास र चिन्ता बढेको छ ।

अर्कोतर्फ संक्रमितको संख्या बढेर २१ सय अंकमा पुगेको छ । पछिल्लो दिनमा संक्रमितको बढ्दो तीब्रताले आगामी जेठ ३२ पछि पनि लकडाउन खुल्ने आशा कमै रहेको जानकार बताउँछन् । जेठ २० पछि लकडाउन खुल्ने धेरैको अपेक्षा रहेपनि सरकारले संक्रमितको व्यवस्थापन र बिदेशबाट भित्रिएका नेपालीका लागि नै उपयुक्त व्यवस्था गर्न नसकेको अवस्थामा लकडाउन खोल्दा थप भयावह अवस्था आउने आँकलनसमेत गरेर सरकारले लकडाउन जारी राखेको सम्बन्धितहरुको भनाई छ । देशमा कोरोना भाइरसको संक्रमण निकै बढ्न थालेपनि लकडाउनले जनताको दैनिक जीवन नै संकटतर्फ उन्मुख भएको छ ।

कतिपय सर्वसाधारण दैनिक गुजाराको चिन्ताले छटपटिएका छन् । यस्तोमा लकडाउनमात्र सरकारले विकल्पका रुपमा लिएकोमा धेरैले आलोचना पनि गरिरहेका छन् । पछिल्लो समय आर्थिक विश्लेषकहरुले देशको अर्थतन्त्र बचाउन पनि लकडाउन खुकुलो बनाउँदै खोल्नुपर्ने बताए पनि स्वास्थ्य विज्ञहरुले भने लकडाउन हटाए थप भयावह अवस्था आउन सक्ने सुझाव दिइरहेका छन् । अर्कोतर्फ लकडाउनका कारण मुलुकका मुख्य शहर सुनसान छन् । बन्दाबन्दीका कारण बन्द रहेको आर्थिक गतिविधि सुचारु गर्ने भनिए पनि अहिलेसम्म उपयुक्त ढंगले सञ्चालनमा भने आउन सकेको छैन् ।

लामो लकडाउनका कारण सर्वसाधारणदेखि सबै वर्ग क्रमश समस्यामा पर्दै गएका छन् । सर्वसाधारणलाई दैनिक गुजाराको चिन्ता छ भने व्यवसायी, उद्योगी तथा अन्य क्षेत्रमा समेत बैंक ऋण, कर्मचारीको तलबजस्ता समस्या बढ्दै गएका छन् । यता सर्वसाधारण तथा व्यवसायीले सरकारले लकडाउनको उचित विकल्प नखोजेको, उपयुक्त राहत प्याकेज नल्याएको र आफ्नै पारामा अघि बढेको बताउँदै आएका छन् ।

यता लकडाउन उल्लंघन गर्नेहरुलाई प्रहरीले दिनहुँ पक्राउ गर्दै आएको छ । अति आवश्यक काम बाहेक सवारी साधन नचलाउन ट्राफिक महाशाखाले आग्रह गरेको छ । ट्राफिक प्रहरीले अत्यावश्यक बाहेकका कामका लागि गाडी चलाएको पाइए चालकलाई फर्काएर बेलुकीमात्रै गाडी छाड्ने गरेको छ । पछिल्लो समय लकडाउन अवज्ञा गर्नेहरु बढ्दैंै जाँदा प्रहरीलाई सकस परेको छ ।

यस अवधिमा प्रहरीले अत्यावश्यक काममा मात्रै घरबाहिर निस्किन आग्रह गरेको छ । औषधी उपचारदेखि खाद्यन्न सकिएको अवस्थालाई अत्यावश्यक काम भनिएको छ । लम्बिदो लकडाउनका कारण दैनिक ज्यालादारी र श्रममा बाँचिरहेका सर्वसाधारणलाई दैनिकी चलाउन निकै समस्या परेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL