Logo

‘लकडाउन’ ५३ औ दिनमा : संक्रमण बढेसँगै काठमाडौंमा त्रास, नाका सिल गरेर सेना परिचालन

‘लकडाउन’ ५३ औ दिनमा : संक्रमण बढेसँगै काठमाडौंमा त्रास, नाका सिल गरेर सेना परिचालन



काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरस(कोभिड–१९)को संक्रमण फैलन नदिन नेपाल सरकारले लागू गरेको लकडाउनको आज ५३ औं दिन हो । हालसरकारले जारी गरेको छैटौं चरणको लकडाउन चलिरहेको छ ।

सरकारले नेपालमा कोरोना संक्रमण नियन्त्रणका लागि भन्दै पहिलोपटक चैत ११ गते बिहान ६ बजेदेखि चैत १८ बिहान ६ बजेसम्म लकडाउन घोषणा गरेको थियो । यस्तै दोस्रो चरणमा लकडाउनको अवधि थप गर्दै चैत २५ सम्म बढाइएको थियो ।

यस्तै सरकारले तेस्रो चरणमा चैत्र २६ देखि वैशाख ३ मध्यरातसम्म, चौथो चरणमा वैशाख १५ मध्यरातसम्म र पाँचौं चरणमा वैशाख २५ मध्यरातसम्म लकडाउनको अवधि लम्ब्याउँदै गएको थियो । यसैक्रममा सरकारले बुधबार छैटौंपटक शुक्रबारदेखि देखि जेठ ५ मध्यरातसम्मका लागि लकडाउनको अवधि थप गरेको छ ।

५३ औं दिनसम्म आइपुग्दा यो अवधिमा केही उल्लंघनका घटनाबाहेक जनताले सरकारलाई अभुतपूर्व रुपमा लकडाउन कार्यान्वयनमा साथ दिएको देखिन्छ । ७ हप्ता बढी घरभित्रै बसेका अधिकांश जनताको अहिलेको सबैभन्दा प्रमुख चासो र चिन्ताको विषय लकडाउन कहिले खुल्छ ? भन्ने रहेको छ ।

नेपालमा संक्रमितको संख्या ह्वात्तै बढेपछि सरकारले लकडाउनमा पुनः कडाई गर्ने निर्णय गरिसकेको छ । मंगलबार यता अस्वाभाविक तवरले संक्रमित संख्या बढेपछि सरकारले एक जिल्ला र अर्को जिल्ला आवातजावत गर्नेहरुको पास रद्द गर्दै कडिकडाउ गर्ने निर्णय गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद बैठकमा कोभिड १९ रोकथामसम्बन्धी संयन्त्रमा रहेका मन्त्रीहरुसँग लकडाउन अझ कडाई गर्न निर्देशन दिएका थिए ।

अब एउटा जिल्लाबाट अर्कौ जिल्लामा जान रोक लगाइनेमात्र हैन कि शनिबारदेखि अन्तर जिल्लाका लागि जारी पाससमेत रद्ध गर्ने निर्णय गरेको छ । अत्यावश्यक सेवाका लागि प्रस्थान र पुग्ने दुवै जिल्लाका सिडिओको अनुमति लिनुपर्नेछ ।

सञ्चालन हुन पाउने सवारी साधनको आवश्यकता र अनिवार्यतालाई हेरेर छुट दिइनेछ । गृहका अनुसार काठमाडौं उपत्यकाभित्र छिर्न कडाई गरिने भएको छ । उपत्यकाको हकमा भने तीनवटै जिल्लालाई एउटै जिल्ला सरहको व्यवहार गरेर कडाई गरिने तयारी भएको छ ।

आवश्यकता अनुसार प्रमुख जिल्ला अधिकारीको स्वीकृतिमा मात्र नयाँ पास वितरण हुनेछ । अब परिचयपत्रको भरमा सडकमा निस्कन पाइने छैन । पास लिंदै विभिन्न बहानामा मानिसहरु सवारी साधन लिएर सडकमा देखिन थालेपछि सरकारले लकडाउन कडा पार्ने निर्णय गरेको हो । समुदायमा कोरोना भाइरस पुगिसकेकाले जोखिम कम गर्न सरकारले लकडाउनमा कडाई गर्न लागेको हो ।

काठमाडौंमै संक्रमितको संख्या बढेपछि राजधानी छिर्ने नाकामा सेना खटाउन सिफारिस गरिएको छ । भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) तथा चार वटै सुरक्षा निकायका जिल्ला प्रमुखसहितको संयुक्त बैठकले उपत्यकाभित्र कोरोना भाइरस संक्रमणका बिरामी भेटिएपछि बाहिरबाट आउने मानिसलाई प्रवेश रोक्न नाकामा सेनासहितको सुरक्षा व्यवस्थापन मिलाउन सिफारिस गरेको बताइएको छ ।

यसअघि वैशाख २३ मा गृहमन्त्री रामबहादुर थापाले मन्त्रीस्तरीय निर्णयबाट भारतसँग सीमा जोडिएका जिल्ला प्रशासनलाई पत्र लेखेर सीमाबाट नेपालतर्फ ५ किलोमिटर क्षेत्रभित्र सेना परिचालन गर्न निर्देशन दिएका थिए । त्यसको एक सातापछि उपत्यकास्थित प्रशासन कार्यालयले पनि राजधानी प्रवेश गर्ने नाका सिल गर्न सेनाको सहयोग मागेका हुन् ।

काठमाडौं उपत्यका सेना, प्रहरी, सशस्त्र प्रहरीका साथै स्वास्थ्यकर्मी सम्मिलित डेडिकेटेड टिम खटाई विदेश र नेपालका प्रभावित स्थानबाट आउनेको हकमा ‘अन द स्पट’ आरडीटीको व्यवस्था गर्ने प्रशासनको सिफारिसमा भनिएको छ । वैशाख २३ मै काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालको नेतृत्वमा तीन वटै जिल्ला प्रशासनको टोली राजधानी भित्रिने नाकाको स्थलगत निरीक्षणमा निस्किएको थियो ।

निरीक्षणपछि प्रशासनको टोली राजधानीमा संक्रमण फैलन नदिन थानकोट र नागढुंगा, फर्पिङ, जगाती, तीनपिप्ले र मुड्खुभन्ज्याङ, जर्सिङपौवा र कात्तिके (काभ्रे र सिन्धुपाल्चोक जोड्ने) ६ वटा नाका सिल गर्नुपर्ने निष्कर्षमा पुगेको थियो । सोही निष्कर्षका आधारमा नाका सिल र सेना खटाउन सिफारिस गरिएको छ ।

अर्कोतर्फ लकडाउनका कारण मुलुकका मुख्य शहर सुनसान छन् । पछिल्लो समय कोरोना भाइरस संक्रमितको संख्या बढेर २५८ पुगेको छ । संक्रमितको संख्या थपिएपछि जनमानसमा त्रास उत्पन्न भएको छ भने संक्रमित मध्ये ३५ जना निको भएर फर्किएसँगै केही आशा पनि जागेको छ ।

अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन आग्रह गर्दागर्दै पनि कतिपयले भने अटेरी गर्दै नियम उल्लंघन गरिरहेका छन् । लकडाउन उल्लंघन गर्नेहरुलाई प्रहरीले दिनहुँ पक्राउ गर्दै आएको छ । प्रहरीले अत्यावश्यक बाहेकका कामका लागि गाडी चलाएको पाइए चालकलाई फर्काएर बेलुकीमात्रै गाडी छाड्ने गरेको छ । पछिल्लो समय लकडाउन उल्लंघनकर्ता बढ्दा प्रहरीलाई सकस परेको छ । प्रहरीले लकडाउन उल्लंघन गर्ने सयौ सवारीलाई समेत दिनहुँ पक्राउ गरि कारवाही गरिरहेको छ ।

अरु गाडी चलाउन र अत्यावश्यक नपरि हिँडडुलमा पनि रोक लगाइएको छ । प्रहरीले त्यसरी नियन्त्रणमा लिएकाहरूलाई ठाउँको ठाउँ ३ घण्टासम्म ‘होल्ड’ गरेर पठाउने गरेको छ । यस अवधिमा प्रहरीले अत्यावश्यक काममा मात्रै घरबाहिर निस्किन आग्रह गरेको छ । औषधी उपचारदेखि खाद्यन्न सकिएको अवस्थालाई अत्यावश्यक काम भनिएको छ । त्यस्तो अवस्थामा प्रहरीको टोल फ्रि नम्बर १०० वा ड्युटीमा खटिएका प्रहरीका कमाण्डरलाई थाहा दिएर जान सकिने महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ ।

लम्बिदो लकडाउनका कारण दैनिक ज्यालादारी र श्रममा बाँचिरहेका सर्वसाधारणलाई दैनिकी चलाउन निकै समस्या परेको छ । विशेष गरि बाहिरी जिल्लाबाट काठमाडौंमा आएर काम गरिरहेकाहरु अहिले निकै सकसमा रहेका छन् । धेरैजसो मुख्य सडकमा आवतजावत ठप्प छ भने भित्रि सडकमा सामान्य चहलपहल छ । प्रहरीले घर बाहिर ननिस्किन तथा उच्च सुरक्षा सतर्कता अपनाउन आग्रह गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL