Logo

उद्योगी-व्यवसायी समस्या लिएर आउँदैनन्,समस्या परेपछि सरकारलाई दोष दिन्छन : उद्योगमन्त्री

उद्योगी-व्यवसायी समस्या लिएर आउँदैनन्,समस्या परेपछि सरकारलाई दोष दिन्छन : उद्योगमन्त्री



काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले उद्योगी व्यवसायीहरुले आफ्ना वास्तविक समस्याहरु बताउन हिचकिचाउने गरेकाो बताएका छन । बुधबार उद्योग मन्त्रालयमा आयोजित कोरोना भाईरसले नेपाली बजारमा निम्त्याएको कृत्रिम अभावको बारेमा व्यवसायीहरुसँगको छलफलमा उनले यस्तो बताएका हुन ।

अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री भट्टले उद्योगीहरुले आफुकहाँ आउँदा आफ्ना वास्तविक समस्या नल्याउने र समस्या आईपरेपछि मात्रै सरकारले यसो गरेन, त्यसो गरेन भनेर गुनासो गर्ने गरेको बताए । ‘तपाईँहरु हामीकहाँ आउँदा आफ्ना समस्या प्रष्ट र वास्तविक रुपमा लिएर आउनुस न,’ उनले व्यवसायी तथा उद्योगीसँग आग्रह गरे, ‘हामीकहाँ आउँदा वास्तविक समस्या ल्याउनु हुँदैन तर, समस्या आईपर्दा सरकारलाई दोष लगाउनुहुन्छ ।’

उनले उद्योगी व्यवसायीलाई आफ्ना समस्या सरकारसमक्ष राख्न नहिचकिचाउन पनि आग्रह गरे । यस्तै उनले अब सरकारले कुनैपनि काम लम्ब्याएर गर्ने प्रवृत्तिको अन्त्य गर्नका लागि सरकार लागिपरेकोसमेत जानकारी दिए । कार्यक्रममा नीजि क्षेत्रका विभिन्न उद्योगी तथा व्यवसायीहरुको सहभागिता थियो । पछिल्लो समय विश्वमा त्रासदीपुर्ण रहेको कोरोनाका कारण नेपाली बजारमा अत्यावश्यक बस्तुको अभावको बारेमा बुझ्न मन्त्री भट्टले बैठक बोलाएका थिए ।

र्यक्रममा उद्योगमन्त्री भट्टले पछिल्लो समय अभावको हल्ला चलेदेखि आफुले समेत एकैजनाले १५ ओटासम्म ग्याँस सिलिण्डर राखेको पाएको बताएका थिए । बैठकमा विभिन्न क्षेत्रका उद्योगी व्यवसायीहरुले बजारमा कुनै कुराको पनि कमी र अभाव नभएको बताएका थिए ।

कार्यक्रममा बोल्दै भाटभटेनी सुपरमार्केटका संचालक मिनबहादुर गुरुङले युरोप तथा अमेरिकाका सुपरमार्केटमा भएको अभावलाई नेपाली सुपरमार्केटहरुसँग तुलना गर्न नसकिने बताए ।

पछिल्लो समय अष्ट्रेलिया, अमेरिका लगायतका सुपरमार्केटहरुमा सामानको अभाव भएको सूचना बाहिर आएपछि नेपालमा यसको डर पैदा भएको उनको भनाई थियो । तर भाटभटेनीसँग अझै ३ महिनालाई पुग्ने अत्वावश्यक बस्तु रहेको उनको भनाई छ । ‘युरोप अमेरिकाका सुपर मार्केटमा भएको अभावलाई नेपालसँग किन तुलना गर्ने ?,’ उनले भने, ‘हाम्रो भाटभटेनीमा अझै ३ महिनालाई पुग्ने सामान छ ढुक्क भए हुन्छ ।’

यस्तै बिग मार्टमा पनि आगामी ३ महिनाका लागि पुग्ने सामान रहेको बिग मार्टका म्यानेजिङ हेड विवेक देवले जानकारी दिए । उनका अनुसार बिग मार्टमा अझै ३ महिनालाई पुग्ने सामान प्रशस्तै छ भने विभिन्न क्षेत्रबाट आउने सामानको कमी भएको छैन ।

यस्तै मन्त्रीसँगको अन्तरक्रिया कार्यक्रममा ग्याँस विक्रेता महासंघ, ग्याँस उद्योग संघ तथा ग्याँस डिलर संघका पदाधिकारीहरुले बजारमा खाना पकाउने ग्याँसको समेत कुनै अभाव नभएको बताएका छन । तर बजारमा उपभोक्ताले नै भण्डारण गर्ने बानी बसालेकाले सिलिण्डरमा भने केही समस्या भएको व्यवसायीले बताए । उनीहरुका अनुसार ग्याँसका सिलिण्डर अब नयाँ बाँड्ने काम रोक्का गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL