Logo

महासंघ निर्वाचनमा ढकाल र प्रधान प्यानलसहित मैदानमा, कस्को कति पल्लाभारी ?

महासंघ निर्वाचनमा ढकाल र प्रधान प्यानलसहित मैदानमा, कस्को कति पल्लाभारी ?



काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघको निर्वाचन नजिकै गर्दा वरिष्ठ उपाध्यक्षका प्रतिस्पर्धीहरु प्यानल सहित मैदानमा उत्रिएका छन् । महासंघको विधान संसोधन गरी वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने प्रावधान राखेसँगै वरिष्ठ उपाध्यक्षका प्रतिस्पर्धीहरु प्यानलसहित चुनावी मैदानमा उत्रिएका हुन् । दुवै तर्फबाट उम्मेद्वारीको घोषणा भैसकेकोले चुनावी प्रतिस्पर्धा अवश्यम्भावी देखिएको छ । सर्वसम्मतिका लागि पूर्व अध्यक्ष महेशलाल प्रधान र रविभक्त श्रेष्ठले पहल शुरु गरिसकेका छन् । तैपनि यसको नतिजा बाहिर आइसकेको छैन ।

गृहजिल्ला बागलुङबाट वरिष्ठ उपाध्यक्षमा आफ्नो उम्मेदवारीको संकेत गरेका चन्द्रप्रसाद ढकालले यही फागुन १४ गते होटल याक एण्ड यतिबाट भव्यताका साथ उम्मेदवारी घोषणा गरेका थिए । उनले जिल्ला, एसोसिएट्स र बस्तुगतबाट पनि बहुसंख्यकले आफूलाई समर्थन गर्ने बलियो आधार प्रस्तुत गरेका थिए । उनको घोषणा सभामा महासंघका मुख्य खेलाडीहरु पूर्व अध्यक्ष चण्डीप्रसाद ढकाल, पहिला विपक्षमा रहेका अर्का पूर्व अध्यक्ष सुरज बैद्य, जिल्लामा राम्रो पक्कड भएका पूर्व उपाध्यक्ष कृष्णप्रसाद ताम्राकार, शशिकान्त अग्रवाल, उपाध्यक्ष उमेशलाल श्रेष्ठ, लोकमान्य गोल्छा, गुणनिधि तिवारी, प्रधानका पूर्व समर्थक डीबी बस्नेत, सुरेश श्रेष्ठ, पूर्व अध्यक्ष प्रदिपजंग पाण्डेका छोरा प्रवलजङ्ग पाण्डे लगायतको उपस्थिति रहेको थियो ।

यसका साथै एसोसिएट्स, जिल्ला र बस्तुगत क्षेत्रका प्रभावशाली उद्यमी नेताहरु सामेल थिए । उक्त भब्य माहोल नियाल्ने जोसुकैले ढकालले वरिष्ठ उपाध्यक्षमा बाजी मार्ने निश्चित जस्तै देखिएको अनुमान सुनाइरहेका थिए । जिल्ला भ्रमणबाट अत्यन्तै उत्साहित देखिएका ढकाल भ्रमणबाट फर्किएपछि एसोसिएट्स र बस्तुगतमा केन्द्रित देखिएका छन् । उनले एसोसिएट्सको दुईतिहाइ भन्दा बढी प्रोक्सी संकलन गरिसकेका छन् । उनका लागि प्रोक्सी संकलनमा पचासौं उपसमूहहरु सक्रिय देखिन्छन् । पूर्व अध्यक्ष पशुपति मुरारकाको केही मत भएपनि ढकाल पक्षको प्यानलै जित्ने स्थिति देखिएपछि केही समयअघि सम्म पनि ढुलपुले चरित्र देखाएका शेखर गोल्छालाई ढकाललाई नै समर्थन गर्नुपर्ने बाध्यता रहेको छ । त्यसैले मुरारका एक्लै परेका छन् । विराटनगरबाट प्रदीप मुरारका लगायतले चाँहि ढकाललाई मत दिने स्थिति छैन । केही बाहेक पूर्व अध्यक्षहरुको मत पक्कड देखिदैन । सक्रियता मात्र हुने हो ।

अर्का प्रतिस्पर्धी किशोर प्रधानले पनि विराटनगरबाट केही पूर्व अध्यक्षहरुको साथमा वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी घोषणा गरिसकेका छन् । वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी घोषणासँगै उनीहरुले आ–आफ्नो प्यानल समेत बनाएका छन् । वरिष्ठ उपाध्यक्षका प्रत्यासी चन्द्रप्रसाद ढकालले आफ्नो प्यानलबाट बस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ र जिल्ला तथा नगर उपाध्यक्षमा गुणनिधि तिवारी उठ्ने निश्चित भैसकेको छ । डीबी बस्नेतसँग राम्रो सम्वन्ध भएका गुणनिधिलाई यसपटक डीबीले साथ दिएका छन् । अघिल्लो पटक डीबीलाई गुणनिधिले समर्थन गरेका थिए । तर, उनको प्यानलबाट एशोसिएट्स उपाध्यक्षमा कसलाई उठाउने भन्ने विषयमा टुङ्गो लागिसकेको छैन ।
यसैगरी प्रधान प्यानलबाट अञ्जन श्रेष्ठले बस्तुगत उपाध्यक्षमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन् भने जिल्ला तथा नगर र एशोसिएट्स उपाध्यक्षको हालसम्म कुनै टुङ्गो लागेको छैन । प्रधान प्यानलबाट जिल्ला तथा नगर उपाध्यक्षमा दिनेश श्रेष्ठले उम्मेदवारी दिने विषयमा चर्चा चलेपनि उनी अझै पनि ढकाल प्यानलको एशोसिएट्स उपाध्यक्षमा उठ्ने कसरतमा देखिन्छन् ।

उनले ढकालको उम्मेदवारी घोषणा सभामा ढकाललाई खुलेरै समर्थन गर्दै सुभेक्षा दिएकाले पनि उनी अन्तिम समयमा ढकालकै प्यानलमा आउनेसक्ने सम्भावना उच्च रहेको छ । यस अघि शौरभ ज्योतिले एशोसिएट्सतर्फको उपाध्यक्षमा उम्मेदवारी घोषणा गरिसकेका छन् । उनले स्वतन्त्र रुपमा उम्मेदवारी घोषणा गरेका कारण कसको प्यानलबाट उठ्ने भन्ने विषयमा कुनै टुङ्गो नलागेको महासंघ स्रोतको भनाई छ ।

ढकालको उम्मेदवारी घोषणासभामा देखिएको उपस्थितिलाई हेर्दा उनको प्यानल नै जित्ने अनुमान गर्न कठिन थिएन । याक एण्ड यतिको सभामा ७२ वटा जिल्ला तथा नगरका अध्यक्ष, ६१ वटा बस्तुगत संघका अध्यक्ष र करिव ७० प्रतिशतभन्दा एशोसिएट्स सदस्यहरुको उपस्थिति रहेको थियो । उम्मेदवारी घोषणा सभामा बोल्ने सबैजसोले ढकाललको खुलेर प्रशंसा गरेका थिए भने मददाताहरुलाई भोट दिन समेत आग्रह गरेका थिए । सालिन र मिजासिला ढकालको आफ्नो व्यक्तित्व र देशैभर फैलिएको व्यापार व्यवसायका कारणले गर्दा पनि महासंघको निर्वाचन उनका लागि सहज हुने जानकारहरु बताउँछन् ।

तर अर्का प्रतिस्पर्धी प्रधानको उम्मेदवारी घोषणा कार्यक्रममा भने जिल्ला नगर अध्यक्ष तथा बस्तुगत अध्यहरुको पातलो उपस्थिति रहेको थियो । ढकालले उम्मेदवारी घोषणा गर्दा जिल्ला नगर, बस्तुगत तथा एशोसिएट्स गरी करिव ७० प्रतिशत मतदाता उपस्थित रहेकोमा प्रधानको उम्मेदवारी घोषणा कार्यक्रममा सबै क्षेत्रको गरी १० देखि १५ प्रतिशत मतदाताको मात्र उपस्थिति रहेको थियो । तर, प्रधानले अबको निर्वाचनमा आफुले ७० प्रतिशतभन्दा बढी मत ल्याएर निर्वाचित हुने दावी गर्दै आएका छन् ।

प्रधान यस अघिको निर्वाचनमा पनि वरिष्ठ उपाध्यक्षमा शेखर गोल्छासँग भारी मतान्तरले पराजित भएका थिए । गोल्छाले कुल मदभारको ६४ प्रतिशत मत ल्याउँदा प्रधानले ३६ प्रतिशत मत मात्र ल्याएका थिए । सो निर्वाचनमा गोल्छालाई एशोसिएट्सको ७० प्रतिशतभन्दा बढी मत आएको थियो । तर, यस पटकको निर्वाचनमा महासंघको निवर्तमान अध्यक्ष पशुपति मुरारका, अञ्जन श्रेष्ठ लगायत प्रधानको टीममा रहँदा एशोसिएट्स तर्फको भोट प्रधानले गत बर्षको तुलनामा बढी पाउने सम्भावना छ भने जिल्ला तथा नगरमा गत बर्षको तुलनमा घट्ने देखिन्छ । गोल्छालाई अघिल्लो पटक जिल्लामा राम्रो पक्कड भएका पूर्व अध्यक्ष चण्डीराज ढकालको समर्थन थियो । चण्डीले यसपटक चन्द्रलाई खुलेर सघाइरहेका छन् । त्यसले यस पटकको निर्वाचनमा जिल्ला तथा नगरबाट ढकालले एकछापे भोट ल्याउने सम्भावना रहेको महासंघ स्रोतकै दावी रहेको छ ।

अघिल्लो निर्वाचनमा पनि गोल्छाको तुलनमा प्यानल बनाउन नसकेका प्रधानको यस पटकको निर्वाचनमा पनि सशक्त प्यानल पनि छैन । अघिल्लो निर्वाचनमा ढकाल सर्वसम्मतरुपमा उपाध्यक्ष भएका कारण दुबै प्यानलमा सो पद खाली थियो । तर, गोल्छाले एशोसिएट्सको १८ जना सदस्यकै टीम बनाउँदा प्रधानले आफ्नो प्यानलबाट एशोसिएट्स सदस्यको टीम बनाउन सकेका थिएनन् ।
यसैगरी प्रधान बस्तुगत तथा जिल्ला उपाध्यक्ष सहित चुनावी मैदानमा होमिएपनि पूर्ण रुपमा टीम बनाउन सकेका थिएनन् । बस्तुगततर्फ कुल १४ सदस्यमा प्रधानको प्यानलबाट ८ जनाले मात्र उम्मेदवारी दिएका थिए भने जिल्ला तथा नगरमा पनि पूर्ण रुपमा टीम बन्न सकेको थिएन ।

यस पटकको निर्वाचनमा पनि ढकालले जिल्ला तथा नगर र बस्तुगततर्फको उपाध्यक्ष सहितको टीम तयार गरिसक्दा प्रधानले हालसम्म जिल्ला तथा नगर र एशोसिएट्सतर्फको उपाध्यक्ष समेत टुङ्गो लगाउन सकेका छैनन् । प्रधानले जिल्ला तथा नगरमा दिनेश श्रेष्ठलाई उपाध्यक्षमा उठाउने तयारी गरेपनि सो पदमा आफ्नो जित सुरक्षित नहुने महसुस गरेको र अन्तिम समयमा ढकालको प्यानलबाट एशोसिएट्स उपाध्यक्षमा उठ्ने सम्भावना उच्च रहेको उनी निकट स्रोतको भनाइ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL