Logo

दोश्रो चरणको चक्रपथ विस्तार : रुख कटान सम्पन्न, अब घरटहरा हटाउने तयारी

दोश्रो चरणको चक्रपथ विस्तार : रुख कटान सम्पन्न, अब घरटहरा हटाउने तयारी



काठमाडौं । दोश्रो चरणको चक्रपथ विस्तारका लागि घर टहरा हटाउन काठमाडौं बिकास प्राधिकरणले १५ दिने सूचना जारी गर्ने भएको छ । चक्रपथ विस्तार परियोजनाको लागि हाल रुख कटानलगायतका काम अन्तिम चरणमा पुगेसँगै जग्गा प्राप्ति ऐनअनुसार १५ दिने सुचना जारी गर्ने गरि तयारी भईरहेको प्राधिकरणका सूचना अधिकारी सुभासचन्द्र अर्यालले जानकारी दिए । उनका अनुसार अबको केही दिन भित्रै सूचना जारी गर्ने गरि तयारी भईरहेको छ ।

बन बिभागबाट रुख कटान सम्पन्न भएको तथ्याङ्क आए पछि तत्कालै सुचना जारी गर्ने गरि हाल प्राधिकरणले काम गरिरहेको छ । सूचना जारी भएको मितिले १५ दिन भित्रै दाबी विरोध गर्ने गरी सूचना निकाल्ने तयारी भईरहेको हो । यसअघि प्रधानमन्त्री कार्यालयमा भएको अनौपचारिक छलफलका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले काम छिट्टै सक्न निर्देशन दिएसँगै प्राधिकरणले सूचना निकाल्ने तयारी गरेको हो ।

सूचना जारी भएपछि अर्थमन्त्रालयले बजेट विनियोजन गरेको खण्डमा चैत महिना भित्रै जग्गा मुआब्जा तथा घर टहरा हटाउने कामसमेत सम्पन्न गरी सडक बिभागलाई विस्तारको लागि जिम्मा लगाउने तयारीका साथ काम गर्ने सूचना अधिकारी अर्यालले जानकारी दिए ।

हाल सो क्षेत्रमा रुख कटानको काम भने सबै सम्पन्न भएको चक्रपथ विस्तार परियोजना प्रमुख अमृतमणि रिमालले जानकारी दिए । उनका अनुसार सो क्षेत्रमा २१ सयओटा रुख कटान भईसकेको छ । रिमालका अनुसार कलंकीदेखि चाबहिल गोपीकृष्ण सडक खण्डको कुल ११ दशमलब ६ किलोमिटर भित्र पर्ने २१ सय ओटा रुख कटान गरिएको हो ।

आयोजनाले बैशाखबाट काम सुरु गर्नेगरि उक्त क्षेत्रमा हाल साईट क्लियरको काम तीब्र रुपमा गरिरहेको छ । आयोजनाले कलंकीदेखी नयाँ बसपार्क बालाजुसम्मका ५ सय ओटा विजुलीको पोलसमेत स्थान्तरण गरिसकेको छ ।

आयोजना प्रमुख रिमालका अनुसार नयाँ बसपार्कदेखि गोपीकृष्णको ढोलीखोलासम्मको विद्युतलाईन भने अण्डरग्राउण्ड गर्ने छ । सो क्षेत्रमा पर्ने घरहरुका लागि मुआब्जा मात्रै करिब २ अर्ब रुपैयाँ लाग्ने परियोजना प्रमुख रिमालले जानकारी दिएका छन ।

कलंकीदेखि चाबहिल गोपीकृष्ण सडक खण्डको कुल ११ दशमलब ६ किलोमिटर सडक बिस्तारको लागि सडक सीमाको दाँयाबाँया ३१-३१ मिटर जग्गा अधिग्रहण गने निणर्य सरकारको पुस १४ गते बसेको मन्त्रिपरिषदको बैठकले गरिसकेको छ ।

जसअनुसार चक्रपथ विस्तार आयोजनाले ६ हजार ९ सय ४४ स्क्वायर मिटर जग्गा अधिग्रहण गर्ने र जग्गाको मुआब्जाको लागि करिब २ अर्ब रुपैयाँ लाग्ने छ । तर, चिनियाँ ठेकेदार कम्पनीले डिजाईन नदिएकै कारण साईट क्लियरिङको काम सम्पन्न हुन लागे पनि तत्काल काम भने सुरु गर्न नसकिने आयोजना प्रमुखको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
MBL