Logo

भारततर्फ निर्यात बढ्दा व्यापार घाटामा उल्लेख्य कमी, चीनतर्फको निर्यात भने खस्कियो

भारततर्फ निर्यात बढ्दा व्यापार घाटामा उल्लेख्य कमी, चीनतर्फको निर्यात भने खस्कियो



काठमाडौं । चालु आर्थिक बर्षको पछिल्ला केही महिनायता नेपालको समग्र आयात केही रुपमा घटेको छ भने निर्यातको वृद्धिदर केही बढेको छ । सोही अनुसार समग्र व्यापारघाटामा समेत गत बर्षको तुलनामा कमी आएको छ ।

laxmi

केही वस्तुहरुको निर्यातले व्यापारघाटामा केही योगदान पुर्याएपछि नेपालको व्यापारघाटामा कमी आएको हो । गतबर्षको तुलनामा नेपालले गर्ने निर्यात व्यापार बढेको छ । गत आवको पहिलो ६ महिनामा ४५ अर्ब ४१ करोड रुपैयाँ बराबरको निर्यात व्यापार गरेको नेपालको निर्यात व्यापार चालु आवको सोही अवधिमा २६ प्रतिशतले बढेर ५७ अर्ब २७ करोड रुपैयाँ पुगेको छ । यसरी निर्यात व्यापारमा वृद्धिसँगै आयातमा केही कमी आउँदा व्यापारघाटा समेत ६ प्रतिशतले घटेको छ ।

नेपालले समग्र रुपमा निर्यातको व्यापार बढाएपनि चीनतर्फको निर्यात व्यापार भने ओरालो लागेको छ । नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको चालु आवको पछिल्लो ६ महिनाको तथ्याङ्क हेर्दा चीनतर्फको निर्यात व्यापार ८ दशमलव ५ प्रतिशतले ओरालो लागेको छ ।

चीनमा निर्यात हुने अगरवत्ती, पस्मिना, चिया, गहुँको पिठो लगायतको निर्यातमा कमी आउँदा चीनतर्फको समग्र निर्यातमा संकुचन आएको हो । गत आवको पहिलो ६ महिनामा १ अर्ब ११ करोड रुपैयाँ बराबरको बस्तु नेपालबाट निर्यात भएको थियो ।

तर, चालु आवको सोही अवधिमा नेपालबाट चीनतर्फको व्यापारमा संकुचन आउँदा जम्मा १ अर्ब १ करोड रुपैयाँ बराबरको बस्तु निर्यात भएको छ । चालु आवको ६ महिनामा चीनतर्फ अगरवत्तीको व्यापार मात्रै १ सय ६६ प्रतिशतले वृद्धि हुँदा अन्य बस्तुहरुको व्यापार भने खस्किदो छ ।

चीनतर्फको आयातमा वृद्धि

चीनतर्फको निर्यातमा गिरावट आएपनि आयातमा भने उल्लेख्य वृद्धि भएको छ । गत आवको पहिलो ६ महिनामा १ खर्ब ५ अर्ब २३ करोड रुपैयाँ बराबरको बस्तु आयात भएको थियो । तर चालु आवको सोही अवधिमा भने आयात बढेर १ खर्ब १८ अर्ब बराबरको बस्तु आयात भएको छ । तयारी पोशाक, ईलेक्ट्रोनिक्स सामानलगायतको आयातमा उल्लेख्य वृद्धि भएपछि चीनबाटको आयातमा वृद्धि भएको हो ।

भारततर्फको निर्यात बढ्यो

गत आर्थिक बर्षको पहिलो ६ महिनामा नेपालबाट भारततर्फ बस्तुको निर्यात २७ अर्ब ५३ करोड रुपैयाँ बराबरको भएको थियो । तर चालु आवको पहिलो ६ महिनामा भने भारततर्फको निर्यातमा ४५ प्रतिशतले वृद्धि हुँदा ४० अर्ब १ करोड रुपैयाँ पुगेको छ ।

चालु आवको पहिलो ६ महिनामा नेपालबाट भारततर्फत निर्यात हुने गाईबस्तुको दाना, फलफुल, हस्तकलाका बस्तु, जडीबुटीलगायत बस्तुहरको निर्यात बढेको छ । सोहीअनुसार भारततर्फको समग्र निर्यात बढेको नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ ।

राष्ट्र बैंकका अनुसार भारततर्फको निर्यातमा वृद्धि हुँदा आयात पनि ९ प्रतिशतले ओरालो लागेको छ । सवारीसाधन, कृषिका उपकण, सिमेन्टलगायतका बस्तुहरुको आयातमा कडाई गरिँदा भारतबाट हुने आयातमा ९ प्रतिशतको गिरावट आएको बैंकको तथ्याङ्कमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
MBL