Logo

नेपाल–चीन व्यापार ठप्प, ६ महिना यस्तै रहे देशको अर्थतन्त्रमा नै गम्भीर असर पुग्ने

नेपाल–चीन व्यापार ठप्प, ६ महिना यस्तै रहे देशको अर्थतन्त्रमा नै गम्भीर असर पुग्ने



काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिदैं गएकोे नोबेल कोरोना भाईरसका कारण चीनबाट नेपालतर्फ आउने ढुवानी ठप्प भएको छ । चीनबाट दैनिक ७०/८० ओटा कन्टेनर सामान ओसारपसार हुने रसुवाको केरुङ नाका अहिले एक महिनादेखि पुरै बन्द भएको नेपाल समुन्द्रपार निकासी पैठारी संघका कोषाध्यक्ष कुमार कार्कीले जानकारी दिए ।

त्यस्तै चिनियाँ समाना आयात हुने तातोपानी नाका, भैरहवा, बिराटनगरलगायतका नाकाबाट समेत चिनियाँ सामग्री आउन छाडेको उनले जानकारी दिएका छन । केही पुराना सामग्री ल्याए पनि नयाँ सामन ल्याउन भने नसकिएको कार्कीले बताए । उनका अनुसार हाल नयाँ सामग्री लिन कोही चीन जान सकेका छैनन् । ‘भाईरसको त्राससँगै नाकासम्म पनि सामग्री लिन जाने काम ठप्प भएको छ’, उनले भने, ‘चीनबाट नयाँ सामान नेपाल ल्याउन नपाए पछि बजारमा स्वतः विभिन्न बसतु अभाव हुनेछ । जसले गर्दा व्यापार व्यवसायमै ठूलो प्रभाव पर्ने देखिन्छ ।’ उनका अनुसार यो अवस्था ६ महिनासम्म रहे दैनिक गुजारा चलाउन आवश्यक पर्ने सामग्रीको अभावसँगै देशकै अर्थतन्त्रमा समेत नकारात्मक प्रभाव पर्ने छ ।

नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार २०७६/७७ को पहिलो ५ महिनामा कुल बस्तु आयात ४ दशमलब २ प्रतिशतले घटेर ५ खर्ब ८१ अर्ब २६ करोड रुपैयाँ बराबरको सामान आयात भएकामा चीनबाट मात्रै १ खर्ब २ अर्ब रुपैयाँ बराबरको सामन भित्रिएको थियो । त्यस्तै बैंकको चालु आवको ६ महिनाको तथ्याङ्क अनुसार चीनबाट १ खर्ब १८ अर्ब २५ करोड रुपैयाँ बराबरको सामान आयात भएको छ । यस्तै नेपालबाट चीनतर्फको निर्यात पनि अहिले ठप बन्दै गएको छ ।

अहिले बिभिन्न नाकाहरु बन्द भएसँगै ट्रक व्यवसायी र तिनमा आश्रित रहेका लाखौंको संख्यामा रहेका परिवारसमेत बिचल्लीमा परेको कार्कीले बताए । एक महिना अगाडिसम्म केरुङ नाकाबाट सामान ओसारपसार गर्ने दोलखाका कुमार श्रेष्ठले भने नाका बन्द भएसँगै आफ्नो भएको गाडी थन्क्याएर ट्याक्सी चलाउन थालेका छन ।

‘पहिले राम्रै आम्दानी हुन्थ्यो जब यो भाईरसको त्रास फैलियो, गाडी बन्द गरेर बस्नुको विकल्प भएन ।’ उनले भने, ‘म बलेरो चलाउँथे एक जनाको कमाईले काठमाडौंमा ५ जनाको परिवार पाल्दै आएका थियौं । तर, समस्या बढ्दै गएपछि ट्याक्सी चलाउन थालेको छु । दैनिक गुजारा चलाउनकै लागि पनि अहिले ट्याक्सी चलाउन थालेको हँु । परिवार पाल्नकै लागि भए पनि ३ दिनदेखि भाडामा लिएर ट्याक्सी चलाइरहेको छु’, उनले थपे । श्रेष्ठका अनुसार सबै गाडी थन्किएर बसेकाले मजदूरहरुको बिचल्ली हुने स्थिति बन्दै गएको छ ।

हाल कारोना भाईरसकै कारण १ हजार ७ सय जनाको ज्यान गईसकेको छ । यस्तै भाइरसबाट ६८ हजार ५ सय ८४ जना संक्रमित भएका र थप १९ सय १८ जना नयाँ संक्रमित भएको आशंका गरिएको पछिल्लो तथ्यांक सार्वजनिक भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL