Logo

५० करोड लगानीमा देशकै पहिलो ‘रिसर्च एण्ड डेभलपमेन्ट’ स्थापना गर्दै क्वेष्ट फर्मास्युटिक्लस

५० करोड लगानीमा देशकै पहिलो ‘रिसर्च एण्ड डेभलपमेन्ट’ स्थापना गर्दै क्वेष्ट फर्मास्युटिक्लस



काठमाडौं । नेपाली औषधि उत्पादक कम्पनी क्वेष्ट फर्मास्युटिक्लसले नेपालमै पहिलो ‘रिसर्च एण्ड डेभलपमेन्ट’ सेन्टर स्थापना गर्ने भएको छ । नेपालमा औषधि उत्पादनमा अहिले खर्बौ रुपैयाँ लगानी भइसकेपनि औषधि उद्योगहरुले ‘रिसर्च एण्ड डेभलपमेन्ट’मा हालसम्म छुट्टै लगानी गर्न नसकेको स्थिति छ ।

केही उद्योगले आन्तरिक रुपमा सानो युनिट राखेर काम गरेपनि त्यसले औषधि उत्पादन र विकासको क्षेत्रमा कुनै नयाँ काम गर्न नसकेको अवस्था छ । यही स्थितिलाई मध्यनजर गर्दै क्वेष्टले करीब ५० करोड रुपैयाँको लगानीमा छुट्टै ‘रिसर्च एण्ड डेभलपमेन्ट’ सेन्टर स्थापनाका लागि काम शुरु गरेको छ ।

‘रिसर्च एण्ड डेभलपमेन्ट’ युनिट निर्माणका लागि कम्पनीले हाल भक्तपुरमा जग्गा व्यवस्थापनको काम सकेर निर्माणका लागि तयारी अगाडि बढाएको कम्पनीका प्रबन्ध निर्देशक उमेशलाल श्रेष्ठले बिजखबरसँगको कुराकानीमा बताए । ‘रिसर्च एण्ड डेभलपमेन्ट’ सेन्टरको स्थापनापछि नेपालको औषधि उद्योगमा नयाँ शुरुवात हुने हामीले अपेक्षा गरेका छौं । यो देशकै लागि आवश्यक विषय भएकाले पनि हामीले यसमा लगानीका लागि अग्रसरता देखाएका हौं’, श्रेष्ठले भने ।

‘रिसर्च एण्ड डेभलपमेन्ट’ सेन्टरको स्थापनासँगै देशमै विभिन्न रोगको औषधि विकासका लागि अनुसन्धान तथा अध्ययनका लागि बाटो खुल्नेछ । औषधि उत्पादनको क्षेत्रमा काम गरिरहेका नेपाली बैज्ञानिकहरुका लागिसमेत यो अध्ययन अनुसन्धानका लागि उपयुक्त पूर्वाधारका रुपमा निर्माण हुने श्रेष्ठले बताए ।

श्रेष्ठका अनुसार ‘रिसर्च एण्ड डेभलपमेन्ट’ सेन्टरमा अनुसन्धान र विकासको मात्रै काम हुनेछ । यस्तै यसमा भविष्यमा नयाँ–नयाँ औषधिहरु परीक्षणको समेत सुविधा उपलब्ध हुनेछ । ‘कुनैपनि नयाँ औषधि उत्पादनका लागि बाइलोजिकल इक्युभ्यालेन्ट (जसलाइ मेडिकल टर्ममा बिइ BEनिन्छ) गर्नुपर्छ । अहिलेसम्म नेपाल सरकारले त्यसलाई बाध्यकारी बनाएको छ्रैन् । तर, नेपाल सरकारले कुनै न कुनै दिन यो ब्यवस्था बाध्यकारी गर्छ । नेपालमा त्यस्तो प्रमाणित गर्ने संस्था नै छैन्’, श्रेष्ठले भने ।

‘बिइ’मा इनभिट्रो र इनभिओ हुन्छ । इनभिट्रो टेष्टमा विश्वको सबैभन्दा उत्तम प्रडक्टसँग नयाँ उत्पादन गरिने उस्तै प्रडक्टलाई मेसिनमा राखेर विभिन्न परीक्षण गरिन्छ । त्यसको तुलनाकै आधारमा सरकारले औषधि उत्पादकलाई औषधि उत्पादनका लागि अनुमति दिन्छ । नेपालमा अहिलेसम्म औषधि उत्पादनमा यस्तो व्यवस्था छ । तर,‘बिइ’ मा नर्मल ह्युमन सब्जेक्टमा टेष्ट हुन्छ । जसमा नयाँ औषधि उत्पादनका लागि स्वस्थ्य मानवको शरीरमा परीक्षण गरिन्छ ।

नेपाल सरकारले औषधिको गुणवत्ता वृद्धि गर्ने हो भने अब नेपालमा पनि ‘बिइ’ को ब्यवस्था लागू गर्नुपर्छ । जसका लागि पनि नेपालमा यस प्रकारको अनुसन्धान तथा विकासका लागि काम गर्ने पूर्वाधार चाहिन्छ ।

‘अब सरकारले बजारमा आउने नयाँ औषधिहरुमा ‘बिइ’ लागू गर्न ढिलाई गर्नु हुँदैन,’ उनले भने, ‘यसले देशमा उत्पादन हुने औषधि विश्वस्तरका गुणस्तरीय छन् भन्नेमा उपभोक्ता पनि विश्वस्त हुन सक्छन् र नेपाली औषधि उद्योगको भविष्य र प्रवद्र्धनका लागि पनि यो कदम सहायक बन्न सक्छ ।’ उक्त रिसर्च सेन्टर डेढदेखि दुई बर्ष भित्रै संचालनमा आउने समेत उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL