Logo

कोरोना भाईरसका कारण पोखरा विमानस्थल निर्माण प्रभावित, समयमै सम्पन्न हुनेमा आशंका

कोरोना भाईरसका कारण पोखरा विमानस्थल निर्माण प्रभावित, समयमै सम्पन्न हुनेमा आशंका



काठमाडौं । पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थलको काम कोरोना भाईरसको कारण प्रभावित भएको छ । निर्धारित समय अगावै सम्पन्न हुनेगरि तीब्र गतिमा अघि बढेको पोखरा बिमानस्थल निर्माणको काम चीनमा फैलिएको कोरोना भाईरसको कारण केही प्रभावित भएको विमानस्थल परियोजना प्रमुख विनेशकुमार मुनाकर्मीले जानकारी दिए ।

laxmi

हाल सो विमानस्थलको काम ५५ प्रतिशत सम्पन्न भएको छ । विमानस्थलको भवन, सडक, रनवे तयार भएको छ भने टर्मिनल भवनको आन्तरिक व्यवस्थापनको काम बाँकी रहेको तथा ह्याङ्गर, एटिसी कम्प्लेक्स भवन, एटिसी कन्ट्रोल टावर र विमानस्थल प्रवेशद्धारको काम भईरहेको परियोजना प्रमुख मुनाकर्मीले बताए ।

सन २०२१ जुलाई १० सम्म निर्माण कार्य सक्ने अन्तिम मिति रहेपनि सन २०२० को डिसेम्बरमा सबै काम सम्पन्न गरेर परीक्षण उडान सुरु गर्ने र जुलाइबाट व्यावसायिक उडान सुरु गर्ने परियोजनाले यस अघि बताउँदै आएको थियो । तर, चीनमा फैलिएको भाईरसका कारण चीनबाट आउनु पर्ने प्राविधिकहरु समयमै आउन नसक्दा केही काम प्रभावित भएको प्रमुख मुनाकर्मीले जानकारी दिए ।

उनका अनुसार निर्धारित समय (२०२१ जुलाई १०) सम्ममा सबै काम सम्पन्न गर्ने लक्ष्य रहेको छ । उनले भने, ‘हामी सो समयभित्रै सबै काम सम्पन्न गर्ने छौं, यदि केही गरि सकिएन भने अन्तिम फिनिसिङ्को काम मात्रै बाँकी रहने छ ।’

कोरोना भाईरसका कारण चीनबाट नेपाल आउनु पर्ने प्राविधिकहरु चीनमा नै रहेकाले काममा प्रभाव परेको उनले बताए । उनका अनुसार नयाँ बर्ष मनाउन चीन गएका ४० जना उक्त भाईरसकै कारण फर्कन सकेका छैनन् । उनका अनुसार भाईरसको संक्रमण विस्तारै हट्दै गयो भने अबको एक महिनाभित्रै १०÷१५ जना गरि ती कामदारलाई नेपाल ल्याइने छ ।

तर उनीहरु नेपाल आए पनि बस्नको लागि भने छुट्टै बासस्थानको ब्यवस्था गरेको मुनाकर्मीले बिजखबरलाई जानकारी दिए । उनका अनुसार चीनबाट नेपाल आउने कामदारहरुका लागि ५ ओटा आईसोलेशन कक्ष निर्माण गरिएको छ । ती कक्षमा दैनिक डाक्टर चेकअपको लागि एक हप्ता राख्ने गरी तयारी भईरहेको छ ।

तर अहिलेसम्म कुन अस्पतालको डाक्टरहरुलाई राख्ने भन्ने कुनै टुङ्गोमा भने पुग्न नसकेको उनले बताए । उनका अनुसार चिनियाँहरुलाई राख्न छुट्टै कक्षको ब्यवस्था भए पनि चेकअपको लागि भने अस्पतालहरुसँग छलफल भईरहेको छ ।

यसअघि शनिबार राति नेपाल आईपुगेका १० जना चिनियाँ कामदारको नियमित चेकअप भईरहेको र अझै काममा लगाउन नसकेको परियोजनाले जानकारी दिएको छ । तर, हाल २ सय ५० जना नेपाली कामदारहरुले नियमित काम गरिरहेको आयोजना प्रमुख मुनाकर्मीले बताए ।

पोखरा विमानस्थलको काम तोकिएकै समयमा सम्पन्न गर्न यसअघि नै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराईले निर्देशनसमेत दिईसकेका छन । सन् २०१४ मा नागरिक उड्डयन प्राधिकरण र चीनको सिएएमसी इन्जिनियरिङ कम्पनीकाबीच विमानस्थल निर्माणका लागि सम्झौता भएकोमा सन् २०१७ को जुलाई ११ बाट निर्माण कार्य सुरु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL