Logo

१० दिनमा रेल आउने हल्लामात्रै, रेल आउन अझै २ महिना लाग्ने विभागको भनाई

१० दिनमा रेल आउने हल्लामात्रै, रेल आउन अझै २ महिना लाग्ने विभागको भनाई



काठमाडौं । सरकारले संचालन गर्ने जयनगर–जनकपुर रेल संचालनमा अनावश्यक हल्ला फिजाएको रेल विभागले बताएको छ ।

laxmi

विभागका महानिर्देशक बलराम मिश्रले १० दिन भित्र रेल आईपुग्ने भनेर अनावश्यक हल्ला फिजाईएको बताउँदै नेपालमा रेल आउन अझै २ महिना लाग्ने बताए । भारतीय कम्पनी कोकान रेलवेज कर्पोरेसन लिमिटेडमा निर्माण भईरहेको नेपाली रेलको रंगरोगनको कार्य भने सम्पन्न भईसकेको मिश्रले बताए ।

नेपाल ल्याउने रेल तयार भए पनि नेपाल ल्याएर तत्कालै रेल संचालन गर्न नसकिने अवस्था रहेको पनि मिश्रले बताए । रेल सञ्चालन तथा व्यवस्थापनसम्बन्धी कार्यविधि तथा ऐन नियमावली बनाउन नसक्दा तत्काल संचालन गर्न नसकिने मिश्रको भनाई छ ।

नेपाल–भारत जीटुजी सम्झौतामा निर्माण भएको रेलका लागि नेपाल सरकारले गत मे १०, २०१९ मा कोनकानसँग रेल निर्माणको सम्झौता गरेको थियो । कुल ८४ करोड ६५ लाखमा दुईवटा डेमो (डिजेल इलेक्ट्रिक युनिट) रेल निर्माण गर्ने गरी सम्झौता भएको थियो ।

हाल सो रेल गुड्ने जयनगर–जनकपुर रेलमार्गमा रेलको लिक बिच्छ्याउने काम भईरहेको छ । उनका अनुसार उक्त रेलमार्गमा गत असारमा आएको बाढीपहिरोले रेलको लिक बगाए पछि अहिले माटो पुर्ने काम सम्पन्न भएर लिक विच्छ्याउने काम करिब अन्तिम चरणमा रहेको छ ।

उक्त रेलमार्गको जनकनन्दनी गाउँपालिकाको खजुरी स्टेशन नजिकै ईनरुवामा करिब ७० मिटर रेल्वे ट्रयाक असार २८ गते आएको बाढीले बगाएको थियो । कमला नदीको तटबन्ध भत्किए पछि उक्त रेलमार्गको इनरुवा क्षेत्रमा रहेको ७० मिटर रेल्वे ट्रयाक बाढीले बगाएको हो ।

जयनगर–जनकपुर रेलमार्गमा संचालन हुने रेलमा एकै पटक एक हजार जनाले यात्रा गर्न सकिने छ । एक सेटमा ५ ओटा डिब्बा रहने र चालक दलसहित एसी र ननएसी गरी डिब्बाहरुलाई छुट्याइएको छ । एउटा डिब्बामा ८४ ओटा सिट रहेका छन् भने बाँकी उभिएरै यात्रा गर्ने सकिने मिश्रले बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL