Logo

भ्रमण वर्षका लागि ९ करोड खर्चेर १०८ यतीका मूर्ति बनाईदै, कतारदेखि अमेरिकासम्म पुर्याइने

भ्रमण वर्षका लागि ९ करोड खर्चेर १०८ यतीका मूर्ति बनाईदै, कतारदेखि अमेरिकासम्म पुर्याइने



काठमाडौं । सरकारले भ्रमण नेपाल बर्ष–२०२० को प्रर्वद्धनका लागि १ सय ८ ओटा यतीको मूर्ति बनाउने भएको छ । भ्रमण बर्ष सचिवालयका संयोजक सुरज बैद्यका अनुसार हालसम्म २२ ओटा यतीका मूर्ति तयार तयार भइसकेका छन भने बाँकी निर्माणको चरणमा छन् । बैद्यका अनुसार अबको ४ महिनभित्र सबै १ सय ८ ओटा यतीका मूर्ति तयार हुनेछन ।

भ्रमण वर्ष सचिवालयका अनुसार १ सय ८ ओटा मूर्ति बनाउन ८ करोड ६४ लाख रुपैयाँ खर्च हुने अनुमान छ । सरकारले उक्त १ सय ८ ओटा मूर्ति बनाउन भने २० लाख रुपैयाँ मात्रै खर्च गर्ने र बाँकी रकम बिभिन्न संघसंस्थाले प्रायोजन गर्नेछन ।

बैद्यका अनुसार टोयटा कम्पनीले २ ओटा मूर्तिका लागि लाग्ने खर्च प्रायोजन गरेको छ भने केही बैंक तथा संस्थाहरुले थप मूर्तिका लागि प्रायोजन गरिरहेका छन् । यस्तै केही अन्य प्रायोजकको खोजी भईरहेको सचिवालयले जानकारी दिएको छ । बैद्यले भने, ‘यसमा सरकारको लगानी भनेको २० लाख रुपैयाँ मात्रै हो, बाँकीका लागि हामी प्रायोजक खोज्दै छौं ।’

बैद्यका अनुसार यतीका मूर्तिहरु विभिन्न देशमा पठाउने तयारी भईरहको छ । सचिवालयकाअनुसार निर्माणपछि यतीका मूर्ति अमेरिका, भुटान, मलेसिया, बेलायत, कतारलगायतका बिभिन्न देशमा पठाउने तयारी भईरहेको छ । हाल निर्माण भइसकेका मध्ये २ ओटा भुटानमा पठाउने तयारी छ भने अमेरिका र बेलायतमा १÷१ ओटा पठाउने तयारी भईरहेको छ ।

सरकारले भ्रमण बर्ष २०२० मा २० लाख पर्यटक भित्र्याउने उद्देश्यले यतीका मूर्तिहरु बनाएको हो । जसलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलदेखि प्रमुख होटलहरुमासमेत राख्ने तयारी भइरहेको छ । त्यस्तै बिभिन्न नगरपालिकाहरुसँग समेत ति मूर्ति राख्नको लागि छलफल भईरहेको बैद्यले जानकारी दिएका छन् । उनका अनुसार अहिले पोखरा र भरतपुर महानगरपालिकासँग यतीका मूर्ति राख्ने विषयमा छलफल भईरहको छ ।

यतीको मूर्तिको डिजाइन आङछिरिङ शेर्पाले गरेका हुन् भने बिजय मान्नधरले ति मूर्तिलाई मूर्तरुप दिएका छन । अहिले प्रभात गुरुङको अध्यक्षतामा कमिटि नै बनाएर मूर्ति निर्माणको काम अघि बढाइएको सचिवालयले जानकारी दिएको छ ।

भ्रमण बर्ष प्रर्वद्धनमा यतीलाई किन छानियो भन्ने प्रश्नमा नेपालको इतिहाससँग जोडिएकाले त्यसको आकृतिलाई विश्व बजार सामु पुर्याउने उद्देश्य रहेको सचिवालयले जानकारी दिएको छ । यती एउटा ढेड ुप्रजातिको जनावर हो । जुन नेपाल र तिब्बतको हिमाली क्षेत्रमा पाईने विश्वास गरिन्छ । यती र मेह–तेह नाम स्थानीय बासिन्दाहरूले प्रयोग गर्ने नाम हो । यी नाम इतिहास तथा किंवदन्तीमा समेटिएका छन् ।

यस जीवको हालसम्म कुनै प्रामाणिक अस्तित्व भने प्राप्त भएको छैन । पश्चिमी देशहरूमा यतीको कथा १९ औं शताब्दी तिरबाट सुरु भएको थियो । हिमाली क्षेत्रका स्थानीयहरूका अनुसार दक्षिण एसियाको उच्च हिमाली क्षेत्रमा बस्ने हिममानव हो । नेपाली शेर्पा र तिव्वतीहरूका अनुसार यती विभिन्न प्रकारका हुन्छन् । ठूलो जातको यती मानिस र लामो पुच्छर भएको बाँदरको वर्णको जस्तो देखिने हुन्छ । यो जीव दुइ मिटरभन्दा अग्लो र यसको रंग गाढा–खैरो, कालो रौँ भएको हुने विश्वास रहेको छ ।

सन १८८९ मा ब्रिटिश आर्मीका मेजर एलए वाडेलले सिक्किमको उच्च चुचुरोमा ठूला पैतालाको छाप भेटेको र उनका भरियाहरूले त्यस ठाउँलाई यतीको बाटो भएको र त्यसले मानिसलाई आक्रमण गरी खाना लिएर भाग्छ भनी उल्लेख गरेको पाइन्छ । त्यस्तै सन १९२१ मा कर्णेल होवार्ड बुरीद्वारा नेतृत्व गरिएको ब्रिटिश एक्पीडिसन टिमले सगरमाथामा करिव १७ हजार ५ सय फिटको उचाईमा हिउँमा कालो आकृति घुमिरहेको दृश्य देखेको र उक्त स्थानमा गई हेर्दा कुनै जीव नभेटिएको तर मानवका जस्तो ठूलो पाइलाको छाप भेटिएको भन्ने उल्लेख गरेको पाईन्छ ।

प्रतिक्रिया दिनुहोस्
MBL