Logo

भिसिटिएसबारे व्यवसायीहरुमा अन्यौलता : नाडा, भिसिटिएस व्यवसायीहरुकै हितमा : विभाग

भिसिटिएसबारे व्यवसायीहरुमा अन्यौलता : नाडा, भिसिटिएस व्यवसायीहरुकै हितमा : विभाग



काठमाडौं । नेपाल अटोमोबाई डिलर्स एसोसियसन(नाडा)ले भेहिकल कन्साइन्मेन्ट ट्रयाकिङ सिष्टम(भिसिटिएस) मा अन्यौलता रहेको गुनासो गरेको छ । नाडाका नवनिर्वाचित अध्यक्ष कृष्णप्रसाद दुलालको नेतृत्वमा बुधबार ६ सदस्यीय नाडा प्रतिनिधि मण्डलले राजश्व अनुसन्धान विभागका महानिर्देशक दीर्घराज मैनालीसंग भेटेर यस्तो गुनासो गरेको हो ।

laxmi

सरकारले व्यावसायिकक्षेत्रलाई अधिकतम पारदर्शी र स्वच्छ बनाउने उद्धेश्यले ल्याएको भिसिटिएसको कार्यान्वयनका क्रममा देखा परेका विविध समस्याहरुबारे विस्तृत रुपमा छलफल गरेको नाडाले जनाएको छ । नाडा प्रतिनिधि मण्डलले मुलतः अटोमोवाइल व्यवसायीहरुमा भिसिटिएसबारे अन्यौलता रहेको र यसबारे आवश्यक जानकारी पनि नभएको कारण व्यवसायीहरुले जरिवाना तिर्नु परिरहेको बारेमा महानिर्देशकसंग छलफल गरेको थियो ।

सो छलफलका क्रममा महानिर्देशक मैनालीले यो भिसिटिएस व्यवसायीहरु कै हितमा ल्याइएको भन्दै यसबारे व्यवसायीहरुलाई के कस्तो सहयोगको आवश्यकता पर्छ त्यो दिन विभाग सदैव तयार रहेको बताए । मैनालीले यो छुट्टै कर प्रणाली नभएको, व्यवसायमा पारदर्शिता भएपछि त्यसमा स्वतः जवाफदेहिताको विकास हुन्छ भन्दै व्यवसायीहरुकै सहजताको लागि असोज मसान्तसम्म जरिवाना नलाग्ने व्यवस्था गरिएको बताए ।

सोही छलफलका क्रममा नाडाका अध्यक्ष दुलालले भिसिटिएसबारे अटोमोवाइल व्यवसायीहरुलाई आवश्यक जानकारी दिन नाडाले एक महिना भित्रै प्रशिक्षण कार्यक्रमको आयोजना गर्नेे भएकोले त्यस कार्यक्रमलाई प्रभावकारी रुपमा सम्पन्न गर्न विभागबाट तत्सम्बन्धी विज्ञको अपेक्षा गरेको बताए । छलफल महानिर्देशक मैनालीले विभागले राखेको कम्प्युटराइज्ड सिष्टममबारे पनि नाडा प्रतिनिधिमण्डललाई अवगत गराएका थिए ।

उक्त छलफलमा नाडाका अध्यक्ष कृष्णप्रसाद दुलाललगायत नाडाका निबर्तमान अध्यक्ष शम्भुप्रसाद दाहाल, उपाध्यक्ष करण चौधरी, महासचिव सुनिल रिजाल, सहकोषाध्यक्ष विक्रम सिंहानिया र केन्द्रीय कार्यसमिति सदस्य दीपक अग्रवाल समेतको उपस्थिति रहेको थियो । नाडाको इतिहासमा राजश्व अनुसन्धान विभागसँग यसरी औपचारिक रुपमा छलफल गरिएको पहिलो भएको समेत नाडाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL