Logo

प्राधिकरण भन्छ-२४ सै घण्टाको लागि त्रिभुवन विमानस्थल योग्य, विमानस्थल भन्छ-सम्भव छैन

प्राधिकरण भन्छ-२४ सै घण्टाको लागि त्रिभुवन विमानस्थल योग्य, विमानस्थल भन्छ-सम्भव छैन



काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले भ्रमण बर्ष २०२० मा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल २४ घण्टा संचालनको लागि योग्य भएको बताएको छ । प्राधिकरणका महानिर्देशक राजन पोखरेलका अनुसार भ्रमण बर्षको अवसरमा कोही कसैले थप उडान गर्नको लागि स्लट मागेको खण्डमा विमानस्थल २४ घण्टा संचालन गर्न सकिने छ । विमानस्थललाई २४ घण्टा संचालनको लागि आवश्यक तयारी पुरा भएको र दक्ष जनशक्तिको समेत कुनै अभाव नहुने पोखरेलले जानकारी दिए ।


तर, विमानस्थल प्रमुख देवेन्द्र केसीले भने अहिले नै बिमानस्थल २४ घण्टा संचालन गर्न नसकिने बताउँछन् । ‘३१ डिसेम्बरबाट २१ घण्टा संचालन गर्ने हो, २४ घण्टा होईन,’ उनले भने, ‘हामी २४ घण्टा बिमानस्थल संचालन गर्न सक्ने अवस्थामा छैनौं र गर्नु पनि हुँदैन, किन भने प्राविधिक रुपमा हुनुपर्ने सबै तयारी भइसकेको छैन । अहिले नै हामी त्यो अवस्थामा पुगेका छैनौं ।

यस्तै सरकारले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थललाई गत बैशाखमा नै बुटिक एयरपोर्ट घोषणा गर्ने बताए पनि बिभिन्न कारणले अझै घोषणा हुन सकेको छैन । विमानस्थल प्रमुख केसीले भने, ‘कसले के भन्यो त्यो मलाई थाहा छैन, तर हामीले जे गर्नु पर्ने हो त्यो काम तीब्र गतिमा गरिरहेका छौं ।’

बुटिक एयरपोर्ट घोषणा गर्नको लागि थप काम भनेको विमानस्थल टर्मिनल अगाडि (बार्दिली) क्यानओपी थप्ने जुन कुरा छ, त्यो ३१ डिसेम्बरलाई टार्गेट गर्दा झन भद्रगोल हुने भएकाले त्यसलाई पछि सारेको र अरु काम भईरहेको केसीले जानकारी दिए ।

‘क्यानओपी थप्नका लागि त्यहाँ खन्नु पर्नेलगायतका कामले गर्दा झन भद्रगोल हुने भएकाले त्यसलाई रोकेको मात्रै हो । तर त्यसको लागि गर्नु पर्ने आबश्यक तयारी सबै गरिसकेका छौं’, उनले भने,–नेपाल स्वत बुटिक हो, तर हाम्रो हेर्ने आखाँ परिवर्तन गर्नुपर्छ । सबैले बुटिक आँखाले हेर्ने गर्नुपर्यो, हरेक चिजलाई राम्रो नजरले हेर्ने गर्नुपर्छ, हामीले संधै नराम्रो मात्रै सोच्ने नराम्रो मात्रै देखेर हुन्छ र ? विमानस्थलमा भीड भयो भन्या छ यस्तो पनि हुन्छ र ?’

उनले थपे– विमानस्थलमा भिडभाड नभएर जंगलमा हुन्छ र ।’ बुटिक आँखाले हेर्नु पर्यो, उनले दोहोर्याउँदै भने, ‘बुटिक मनले हेर्नु पर्छ, गोरुले त्यतिमात्रै हलो तान्छ, जति हलोले तान्ने गर्छ, हामी विमानस्थललाई संचालनमै राखेर २४ घण्टा विकास निर्माणका कामहरु गरिरहेका छौं ।’

केसीले बुटिक एयरपोर्ट भनेको संचालन योग्य बनाउने र मान्छेलाई आउन जान सहज र हेर्दा छि नभन्ने सुन्दर वातवरण बनाउने भनको पनि बताए । उनले भने, ‘सामान्य राख्नु पर्ने कलात्मक मूर्तिहरु राखिसकेका छौं, नेपालको कला संस्कृति झल्कने होर्डिङ बोर्ड, मठमन्दिर झल्कने गरी राख्नुपर्ने कुराहरु राखिसकेका छौं ।’

प्रतिक्रिया दिनुहोस्
MBL