Logo

तिहार पछि साउदी जाने तयारीमा निगम टोली, टुङ्गिएला जिएसए प्रक्रिया

तिहार पछि साउदी जाने तयारीमा निगम टोली, टुङ्गिएला जिएसए प्रक्रिया



काठमाडौं । साउदी अरबका लागि आधिकारिक टिकट बिक्रेता (जिएसए) टुङ्गो लगाउनका लागि नेपाल वायुसेवा निगमका टोली साउदी जाने भएको छ । जिएसएका लागि निगमले चैतसम्ममा जिएसए टुङ्गो लगाउने बताए पनि हाल सम्म कुनै काम अघि नबढेपछि निगम टोली साउदी जान लागेको हो ।

laxmi

वाईडबडी ए ३३० जहाजमार्फत साउदी अरेबियाको रियादमा उडान गर्ने तयारी गरेको निगमको यात्रा जिएसए नपाएकै कारण अन्यौलमा रहेको छ । निगमले पटक पटक टेण्डर आह्वान गर्दा समेत जिएसए नपाए पछि रियादका केही जिएसएलाई बार्तामा बोलाएको थियो ।

तर बार्ताबाट समस्याको समाधान नभए पछि निगम ब्यवस्थापनले संचालक समितिलाई बुझाएको प्रतिबेदनका आधारमा अब छिट्टै ब्यवस्थापन र संचालक समितिको प्रतिनिधि रियाद जाने भएको छ ।
निगमका प्रवक्ता गणेशबहादुर चन्दका अनुसार हाल सम्म कुनै काम अघि नबढेको र अब भने तिहार पछि मात्रै उक्त कामको लागि साउदीअरेबिया जाने तयारी रहेको जानकारी दिएका छन ।

उनले भने, ‘जाने तयारी भईरहेको छ तर कहिले जाने भनेर अझै समय एकिन भएको छैन ।’
निगम पछिल्लो समय कार्यकारी अध्यक्ष मदन खरेलले आफु निगममा आएसँगै निगमको गन्तब्यलाई विस्तार गर्ने बताए पनि हाल कुनै पनि गन्तब्यमा राम्रो उडान गर्न सकेको छैन ।

निगमले उडान गरेको जापानको ओसाका विमानस्थलमा पनि केही समय पछि बन्द गर्ने तयारी गरेको छ । निगमले साउदीको रियादमा मार्चभित्रै उडान सुरु गर्ने बताएको थियो तर ७ महिना विति सक्दा समेत जिएसए नियुक्त गर्न नसक्नु निगमको कमजोरी रहेको सम्बद्ध विज्ञहरु बताउँछन ।

जापान, हङकङ, कोरिया लगायतका देशमा जिएसए नभए पनि खाडी मुलुकहरुमा भने अनिवार्य जिएसए नियुक्त गर्नु पर्ने भएकाले सकेसम्म छिट्टै यो विषयलाई टुङ्ग्याउनु पर्ने निगमको काँधमा छ ।

त्यस्तै निगमले चीनको गोन्जावा शहरमा फेब्रुअरिबाटै उडान सुरु गर्ने बताएको थियो तर हाल सम्म उक्त शहरको लागि पनि स्लट उपलब्ध हुन नसकेको निगमले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL