Logo

नेपाली आकासमा एक बर्षमै भित्रिए १३ जहाज र १० हेलीकोप्टर, कुन कम्पनीको कति ?

नेपाली आकासमा एक बर्षमै भित्रिए १३ जहाज र १० हेलीकोप्टर, कुन कम्पनीको कति ?



काठमाडौं । नेपाली आकासमा २०१८–१९ मा १३ ओटा जहाज थपिएको छ । बिभिन्न एयरलाईन्स कम्पनीहरुले प्रतिस्पर्धाको रुपमा जहाज थप्ने होडबाजीले पछिल्लो एक बर्षमा मात्रै १३ ओटा जहाज भित्रिएको हो ।

नेपाल नागरिक उड्डयन प्राधिकरण अन्तरगत फ्लाईट सेफ्टी स्ट्याण्र्डड बिभागका अनुसार जहाज थप्नेहरुमा सबै भन्दा बढी बुद्ध एयर रहेको छ । बुद्ध एयरले पछिल्लो एक बर्षमा ४ ओटा एटिआर ७२ जहाज भित्र्याएको छ । जहाज थपसँगै बुद्ध एयरसँग जहाजको संख्या १३ पुगेको छ ।

यसैगरी यति एयरलाईन्सले गत आर्थिक बर्षमा ३ ओटा जहाज भित्र्याएको छ । उक्त जहाजसँगै यतिको जहाज संख्या १० पुगेको छ । त्यस्तै श्री एयरलाईन्सले ३ ओटा जहाज थप गरेका छन भने सो एयरलाईन्सको जहाज संख्या ६ पुगेको प्राधिकरणले जानकारी दिएको छ ।

त्यस्तै जहाज भित्र्याउनेमा नेपाल एयरलाईन्सले वाईडबडी ए ३३० जहाज २ ओटा भित्र्याएसँगै जहाजको संख्या १५ पुगेको छ भने तारा एयरले गत बर्षमा १ ओटा मात्रै जहाज भित्र्याएको छ । उक्त थप जहाजसँगै तारा एयरको जहाज संख्या ६ पुगेको छ ।

१० नयाँ हेलीकोप्टर

जहाजसँगै हेलीकोप्टर भित्र्याउनेको संख्या पनि बढ्दै गईरहेको छ । बिभागका अनुसार २०१८–१९ मा १० ओटा हेलिकोप्टर भित्रिएका छन ।

हेलीकोप्टर भित्र्याउनेहरुमा एयर डाईनेस्टीले गत बर्षमा १ हेलीकोप्टर भित्र्याएसँगै कम्पनीको हेलीकोप्टर ५ ओटा पुगेको प्राधिकरणले जानकारी दिएको छ ।

त्यस्तै सिम्रीक एयरले १ ओटा हेलीकोप्टर थप गरेको छ । उक्त थपसँगै हेलीकोप्टर संख्या ५ पुगेको छ भने प्रभु हेलीकोप्टरले २ ओटा हेलीकोप्टर थप गरेको छ । उक्त थप दुई हेलीकोप्टरसँगै कम्पनीको हेलीकोप्टर संख्या ५ पुगेको छ ।

अल्टिच्युड एयरले थप गरेको १ हेलीकोप्टरसँगै कम्पनीको हेलीकोप्टर २ पुगेको छ भने मनाङ एयरको थप २ हेलीकोप्टरसँगै जम्मा संख्या २ पुगेको छ । त्यस्तै कैलास हेलीकोप्टरले गत बर्ष ३ ओटा नयाँ हेलीकोप्टर नेपाल भित्र्याएको छ ।

४ हेलीकोप्टर र २ जहाज दुर्घटना

२०१८–१९ मा मात्रै ४ ओटा हेलीकोप्टर र २ ओटा जहाज दुर्घटना भएको प्राधिकरणले जानकारी दिएको छ । प्राधिकरणको तथ्याङक अनुसार १३ ओटा नयाँ जहाज भित्रिँदा समिट एयरको मात्रै दुई ओटा जहाज दुर्घटना भएको छ ।

त्यस्तै २०१८–१९ मा १० ओटा नयाँ हेलीकोप्टर भित्रिँदा ४ ओटा हेलीकोप्टर दुर्घटना भएको तथ्याङकमा उल्लेख छ । दुर्घटना हुने हेलीकोप्टरहरुमा एयर डाईनेष्टी, सिम्रीक, अल्टिच्युड र मनाङ एयर रहेको छ ।

प्राधिकरणले भने काम नलाग्ने गरी दुर्घटना भएको जहाज र हेलीकोप्टरको भने जहाज संख्यामा कुनै तथ्याङक राख्ने नगरेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL