Logo

१ बर्षमै ब्रोडब्याण्ड ईन्टरनेट चलाउनेको संख्या ४५ लाखले बढ्यो, एनसेलको फोरजीमा आकर्षण

१ बर्षमै ब्रोडब्याण्ड ईन्टरनेट चलाउनेको संख्या ४५ लाखले बढ्यो, एनसेलको फोरजीमा आकर्षण



काठमाडौं । पछिल्लो १ बर्षमा नेपालमा ब्रोडब्याण्ड ईन्टरनेट सेवा चलाउनेको संख्यामा ४५ लाखले वृद्धि भएको छ । नेपाल दूरसंचार प्राधिकरणले सार्वजनिक गरेको एमआईएस रिपोर्ट अनुसार विभिन्न सेवाप्रदायकको ब्रोडब्याण्ड सेवा प्रयोग गर्नेको संख्या ४५ लाख २ हजारले बढेको हो ।

गत बर्षको साउनसम्म नेपाल टेलिकम, एनसेल, स्मार्टसेल लगायतले प्रदान गर्ने ब्रोडब्याण्ड सेवा प्रयोगकर्ताको संख्या १ करोड ५३ लाख ३९ हजार थियो । सो संख्या बढेर चालु बर्षको साउनसम्म १ करोड ९८ लाख ४१ हजार पुगेको हो ।

यस्तै भ्वाईस सेवाका प्रयोगकर्ता पनि १ बर्षमा २१ लाख ४४ हजारले बढेको तथ्यांकले देखाएको छ । तथ्यांक अनुसार गत बर्षको साउनसम्म भ्वाईस सेवा प्रयोग गर्नेको संख्या ३ करोड ९५ लाख रहेको थियो । तर यो बर्ष भने सो संख्या बढेर ४ करोड १७ लाख पुगेको छ ।

पछिल्लो समय टेलिकम सेवाप्रदायकहरुले विभिन्न ईन्टरनेटमा आधारित सेवाका कारण भ्वाईस सेवा विस्थापित हुँदै कम्पनी घाटामा गएको बताएपनि तथ्यांकले भने भ्वाईस सेवामा पनि ग्राहकको वृद्धि भइरहेको देखाएको छ ।

नेपाल टेलिकमले मात्रै पछिल्लो १ बर्षमा आफ्ना भ्वाईस सेवा प्रयोगकर्ता करिव २७ लाखले वृद्धि गरेको छ । तर एनसेलले भने १ बर्षमा जम्मा १ लाख मात्रै भ्वाईस सेवा प्रयोगकर्ता बढाएको प्राधिकरणको तथ्यांकले देखाएको छ ।

एनसेलले पछिल्लो १ बर्षमा भ्वाईस सेवाका ग्राहक नबढाएपनि फोरजी सेवाका ग्राहक भने ह्वात्तै बढाएको छ । गत बर्षको साउनसम्म एनसेलका ११ लाख ९४ हजार फोरजी सेवाग्राही भएकोमा यो बर्ष भने उक्त संख्या बढेर ३१ लाख २८ हजार पुगेको छ । यो भनेको पोहोर सालको तुलनामा ३ भागले बढी हो ।

तर नेपाल टेलिकमले भ्वाईस सेवामा आफ्ना ग्राहक बढाएपनि फोरजी सेवाका ग्राहक भने जम्मा २ लाखले बढाएको छ । हाल नेपाल टेलिकमको फोरजी प्रयोगकर्ताको संख्या ८ लाख १८ हजार रहेको छ ।

यस्तै नेपाल टेलिकम र एनसेलका थ्रिजी ग्राहकहरु भने कसैको घटेका छन भने कसैको बढेका छन । प्राधिकरणको तथ्यांक अनुसार गत बर्षको साउनको तुलनामा नेपाल टेलिकमका थ्रिजी प्रयोगकर्ता २५ लाखले वृद्धि भएका छन । तर एनसेलका थ्रिजी प्रयोगकर्ता भने गत साउनको तुलनामा यो बर्षको साउनमा १४ लाखले घटेका छन ।

नेपाल टेलिकमले आफ्नो फोरजी सेवा विस्तार समयमै गर्न नसक्दा फोरजीका ग्राहकहरु गुमाएको विज्ञहरुको भनाई छ । त्यसैको असर टेलिकमको थ्रिजी सेवामा परेको छ ।

यस्तै एनसेलले आफ्नो फोरजी सेवा नेपालभर विस्तार गर्दा फोरजीका ग्राहक बढेका र थ्रिजीका ग्राहकहरु पनि फोरजीमा सिफ्ट भएको विज्ञहरुको दावी छ । नेपाल टेलिकमले भने हाल देसैभर आफ्नो फोरजी सेवा विस्तार गरेको घोषणा गरिरहँदा टेलिकमले भने आफ्ना फोरजी प्रयोगकर्ता बढाउन सक्ने अनुमान लगाउन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्
MBL