Logo

अर्घाखाँची सिमेन्टको संरचना गौतमबुद्ध विमानस्थलाई ‘अब्स्ट्रयाकल’, जसरी पनि हटाउने सरकारको तयारी

अर्घाखाँची सिमेन्टको संरचना गौतमबुद्ध विमानस्थलाई ‘अब्स्ट्रयाकल’, जसरी पनि हटाउने सरकारको तयारी



काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले जसरी पनि अर्घाखाँची सिमेन्ट उद्योगको संरचना हटाउनुपर्ने निष्कर्ष निकालेको छ । केही समय अघि अर्घाखाँची सिमेन्ट उद्योगले उक्त विमानस्थल संचालनका लागि आफ्नो उद्योगको संरचना हटाउन नपर्ने भन्दै पुनः अध्ययन गर्न पत्राचार गरेको थियो । तर, जतिसुकै अध्ययन गरेपनि विमानस्थल संचालनका लागि अर्घाखाँची सिमेन्टको संरचना हटाउनुपर्ने गौतमबुद्ध अन्तरराष्ट्रिय विभानस्थलका प्रमुख प्रवेश अधिकारीले जानकारी दिए ।

उनका अनुसार प्राधिकरणले सुरुमा एयर ट्राफिक कन्ट्रोल म्यानेजमेन्ट (एटम) अन्तरगतमात्र अध्ययन गरिएको थियो । तर, पछिल्लो समय अर्घाखाँची सिमेन्ट व्यवस्थापनले एरोडमबाट पनि अध्ययन गर्न भन्दै पत्राचार गरेको थियो । सोही अनुरुप अध्ययन गर्नका लागि टिप्पणी उठाएर प्रक्रिया अघि बढाएको समेत अधिकारीले जानकारी दिए ।

‘हामीले पहिला एटमको तर्फबाट रुट डिजाईलगायतका विभिन्न अब्स्ट्रयाकलहरु अध्ययन गरेका थियौं जसमा सिमेन्ट उद्योगले प्रत्यक्ष असर गर्छ,’ उनले भने, ‘अहिले एरोडमको तर्फबाट अध्ययन गर्न पत्र आएको छ यसबाट अध्ययन गर्दा अझ बढि हटाउनु पर्छ ।’

एरोडोम अन्तरगत विमानस्थल संचालनका लागि कतिसम्मको दूरीमा अग्ला संरचना राख्न हुँदैन भन्ने विषयमा अध्ययन गरिन्छ । सामान्यतय गौमबुद्ध विमानस्थल संचालनको लागि ४ किलोमिटरको दूरीमा ४५ मिटरभन्दा अग्ला संरचना राख्नु हुँदैन । तर, अर्घाखाँची सिमेन्ट उद्योगको संरचना ३२०० मिटरको दूरीमा १ सय मिटरभन्दा अग्लो संरचना रहेको छ ।

‘गौतमबुद्ध विमानस्थल संचालनका लागि अर्घाखाँची सिमेन्टको उद्योग अब्स्ट्रयाकल हो अब्स्ट्रयाकल राखेर विमानस्थल संचालन गर्न सकिँदैन जसरी पनि हटाउँछौं,’ उनले भने, ‘प्राधिकरण तथा विमानस्थलको तर्फबाट हामीले पटक पटक पत्राचार तथा ताकेता गर्यो उद्योग व्यवस्थापनले मान्नुभएन अब उक्त उद्योगको संरचना हटाउन माथिल्लो निकायको निर्णय आवश्यक छ ।’

अन्तरराष्ट्रिय उडानका लागि निर्माणको क्रममा रहेको भैरहवा स्थित गौतम बुद्ध अन्तरराष्ट्रिय विमानस्थलको अहिले करिब ८० प्रतिशत भौतिक प्रगती सम्पन्न भैसकेको छ । सो विमानस्थललाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराईले भ्रमणबर्ष २०२० को सुरुवातबाटै संचालनमा ल्याउन निर्देशन दिएका छन् ।

साथै सरकारले चालू आबको बजेटमार्फत पनि उक्त विमानस्थलको रनवे बनेको र फोर्स ल्याण्डिङ गर्न सकिने उल्लेख गरेको थियो । तर, अर्घाखाँची सिमेन्टको अवरोधका कारण कुनै पनि काम अघि बढ्न सकेको छैन । सो उद्योगले आफ्नो संरचना नहटाउँदा रुट डिजाईनमा समेत समस्या भइरहेको प्राधिकरण स्रोतले जानकारी दिएको छ ।

पछिल्लो समय अर्घाखाँची सिमेन्ट संचालकले अन्तरराष्ट्रिय विमानस्थल संचालन तथा रुट डिजाईनका लागि उद्योगको संरचना हटाउनुको सट्टा शक्तिको आडमा माथिल्लो निकायबाट नहटाउन दबाब दिन थालेको समेत प्राधिकरणका एक उच्च अघिकारीले जानकारी दिए ।

‘अहिले अर्घाखाँची सिमेन्टले सहज रुपमा उद्योगको संचरना हटाएर विमानस्थल संचालनमा सहयोग पुर्याउने देखिएको छैन,’ उक्त स्रोतले भन्यो, ‘उहाँहरु उद्योगको संचारचना हटाएर विमानस्थल संचालनमा सहयोग पुर्याउनुको सट्टा नहटाउनका लागि माथिल्लो निकायमा लबिङ गर्न सुरु गर्दै हुनुहुन्छ ।

केही समय अघि विमानस्थलले रनवेबाट ४ किलोमिटर वरपर कुनै पनि भौतिक संरचना बनाउन नदिन र यस अघि भएका अगला संरचना समेत हटाईदिनका लागि सम्बन्धित जिल्लाको नगरपालिका तथा गाउपालिककालाई समेत पत्र काटेको थियो । साथै सडक तथा भवन निर्माण डिभिजन कार्यालय लगायत सम्बन्ध निकायलाई समेत उक्त पत्र काटिएको थियो । केही उद्योगले सोही अनुरुप आफ्ना उद्योगका संरचनाको व्यवस्थापन गरेपनि अर्घाखाँची सिमेन्टले भने शक्तिको आडमा हटाउन अटेर गर्दै आएको सम्बद्ध निकायहरुले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL