Logo

निगमका कारण ५ बर्षदेखि जहाज ग्राउण्डेड, किन टेर्दैन निगमले मन्त्रालयको निर्देशन ?

निगमका कारण ५ बर्षदेखि जहाज ग्राउण्डेड, किन टेर्दैन निगमले मन्त्रालयको निर्देशन ?



काठमाडौं । नेपाल वायुसेवा निगमको ढिला सुस्तीका कारण ग्राउण्डेड जहाज अझै संचालनमा आउन सकेको छैन । विगत ५ बर्ष देखि ग्राउण्डेड रहेको कलसाइन ९ एन–एबीएक्स कलसाइनको विमान निगमले मर्मत नगर्दा संचालनमा आउन नसकेको हो ।

laxmi

निगमले उक्त विमानको २ वटै इन्जिन र ल्याण्डिङ गियर फेर्नुपर्ने बताए पनि हाल सम्म सो काम हुन सकेको छैन । निगमका प्रवक्ता गणेश बहादुर चन्दले हाल नेपालमा इन्जिन आईपुगे पनि क्यानाडाबाट प्राविधिक नआउँदा काम हुन नसकेको बताए ।

उनका अनुसार हालै मात्र भारतीय कम्पनी बर्मनको संयोजनमा जर्मनबाट इन्जिन आईपुगे पनि काम भने अघि बढ्न सकेको छैन । चन्दले भने, ‘हामीले १०० दिनको समय राखेका छौं तोकेकै समयमा उक्त जहाज संचालनमा आउँछ ।’

निगममा कार्यकारी अध्यक्षको रुपमा मदन खरेल आए पछि उनले मार्च–अप्रिल सम्ममा सबै ग्राउण्डेड जहाज संचालनमा ल्याउने बताए पनि अझै ४ ओटा जहाज ग्राउण्डेडनै रहेको छ । निगमसँग हाल वाई १२ जहाज २ ओटा, १ ट्वीनअटर र १ एमए ६० जहाज ग्राउण्डेड रहेको छ । यस अघि पनि ति जहाजहरु एकै पटक मर्मत गर्नका लागि विदेशी इन्जिनियरहरुलाई नेपाल ल्याइएको थियो ।

‘हुँदैछ भन्छन तर कहिल्यै हुँदैनन ४/४ ओटा विमान ग्राउन्डेड भएर बस्दा निगमलाई करोडौंको घाटा हुन्छ,’ निगमका एक उच्च अधिकारीले भने, ‘तर ब्यवस्थापनले ति कुरामा ध्यान दिएको छैन ।’ सबै जहाज संचालनमा ल्याउन तत्कालिन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री स्वर्गिय रविन्द्र अधिकारीले पटक पटक निर्देशन दिए पनि निगम ब्यवस्थापनले भने त्यसको बेवास्त गर्दै आएको थियो । आफुलाई अधिकारीको उत्तराधिकारीको रुपमा आएको बताउँदै पर्यटन मन्त्री योगेशकुमार भट्टराईले पनि सबै जहाज संचालन गर्न निगमलाई निर्देशन दिईसकेको छ ।

तर निगम पक्षले भने कहिले सामग्री आईपुगेन त कहिले प्राविधिक समस्या भन्दै टार्दै आईरहेको छ । मन्त्री भट्टराईले आफु मन्त्री भए पछि निगमलाई निर्देशन दिँदै आफूसँग भएका जहाज पूर्ण उपयोग गरी आम्दानी बढाउन, जनशक्तिको पूर्ण सदुपयोग गर्न र राज्यले गरेको लगानीको प्रतिफल आउने गरी कार्ययोजना अगाडि बढाउन भनेका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL