Logo

बजेट नजिक व्यापारघाटा, आयातमा पेट्रोल र सवारीसाधनको हिस्सा २२ प्रतिशत

बजेट नजिक व्यापारघाटा, आयातमा पेट्रोल र सवारीसाधनको हिस्सा २२ प्रतिशत



काठमाडौं । पछिल्लो समय नेपालको व्यापारघाटा बजेट बराबर पुग्न लाग्दा व्यापारघाटामा बढि योगदान हुने बस्तुको चर्चा चल्ने गरेको छ । सरकारले चालु अर्थिक बर्ष २०७६/७७ का लागि १५ खर्ब ३२ अर्ब ९६ करोडको बजेट ल्याएको छ । तर गत आबको ब्यापारघाटा पनि बजेटको सिलिङ नजिकै पुग्न लागेको छ ।

नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको गत आर्थिक बर्ष २०७५/७६ को तथ्याङ्क अनुसार ११ महिनामा मात्रै १२ खर्ब ११ अर्ब ९६ करोड रुपैयाँ बजेटघाटा पुगेको छ । जुन नेपालको बजेटभन्दा ३ खर्बले मात्रै कम हो । यस्तै व्यापारघाटाको वृद्धिदरको अनुपात हेर्दा १२ महिनाको तथ्याङ्कमा ब्यापारघाट झण्डै बजेट नजिकै पुग्ने अनुमान गरिएको छ ।

बजेट बराबर व्यापार घाटा पुग्न लाग्दा भारतले मात्रै आयातको ६४ प्रतिशत ओगट्छ । यस्तै व्यापारघाटा चुलिँदा नेपालमा धेरै आयात हुने पेट्रोलियम पदार्थ र सवारीसाधनले मात्रै आयातको २२ दशमलव २६ प्रतिशत ओगट्ने तथ्याङ्कले देखाएको छ । तथ्याङ्क अनुसार पछिल्लो ११ महिनामा १ खर्ब ९६ अर्ब ४५ करोडको पेट्रोलियम पदार्थ आयात भएको छ । जसले कुल आयातको १५ दशमलव ११ प्रतिशत हिस्सा ओगटेको छ ।

यस्तै धेरै आयात हुने दोस्रो स्थानमा रहेको सवारीसाधन रहेको छ । ११ महिनामा ९८ अर्ब १५ करोड ४० लाखको आयात भएको छ । यसले नेपालमा हुने कुल आयातको ७ दशमलव ५५ प्रतिशत हिस्सा ओगटेको देखिन्छ । आयातमा धेरै हिस्सा ओगट्ने अन्य बस्तुहरुमध्ये तयारी पोशाक, हवाईजहाज र यसका सामग्रीहरुको पनि आयात वृद्धिदर उत्तिकै बढेको पाईन्छ ।

राष्ट्र बैंकको तथ्याङ्क अनुसार आयातमा धेरै योगदान गर्ने बस्तुहरुको आयात वृद्धिदर पनि सोही अनुसार प्रतिबर्ष बढ्दै गईरहेको छ । आयातमा बढी योगदान रहेको पेट्रोलियम पदार्थको आयात २८ दशमलव ४ प्रतिशतले बढेको छ भने यातायात तथा यसका सामग्रीहरुको आयात भने पछिल्लो ११ महिनामो अघिल्लो आबको सोही अवधिको तुलनामा ७ प्रतिशतले घटेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL