Logo

पुषदेखि डिशहोमको ईन्टरनेट सेवा, स्याटेलाईट ईन्टरनेटका लागि ३ कम्पनीसँग सम्झौता हुँदै

पुषदेखि डिशहोमको ईन्टरनेट सेवा, स्याटेलाईट ईन्टरनेटका लागि ३ कम्पनीसँग सम्झौता हुँदै



काठमाडौं । टेलिभिजन च्यानल उपलब्ध गराउँदै आएको डिसहोमले आगामी पुषदेखि नेपालभर ईन्टरनेट सेवा प्रदान गर्ने भएको छ । ईन्टरनेट सेवाप्रदायकको अनुमतिका नेपाल दूरसंचार प्राधिकरण समक्ष निवेदन दिएको कम्पनीले आगामी पुषसम्ममा नेपालभर ईन्टरनेट पुर्याउने जानकारी दिएको छ ।

कम्पनीले गत भदौमा सिम टिभीलाई एक्वायर गरेसँगै नेपालभर ईन्टरनेट सेवा समेत प्रदान गर्ने घोषणा गरेको थियो । सोही अनुसार सिम टिभीसँगकै सहकार्यमा नेपालभर ईन्टरनेट सेवा विस्तार गर्न चरणवद्ध काम भईरहेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुदिप आचार्यले जानकारी दिए । उनका अनुसार हाल कम्पनीको ईन्टरनेट देशभर पुर्याउनका लागि रणनीतिक कामहरु अगाढी बढेको तथा अन्य केही सानासाना कम्पनीहरु एक्वायरको लागि छलफल समेत भइरहेको छ । कम्पनीले एक्वायर गरेर लगेको सिम टिभीसँग ईन्टरनेट सेवाप्रदायकको लाईसेन्स भएपनि डिशहोमसँग भने हालसम्म ईन्टरनेट सेवाप्रदायकको लाईसेन्स छैन । तर दूरसंचार प्राधिकरणमा लाईसेन्सका लागि निवेदन दिएको सिईओ आचार्यले बिजखबरलाई जानकारी दिए ।

‘विभिन्न रणनीतिक कामहरु अघि बढाउनुपर्ने भएकाले ईन्टरनेट सेवा प्रदान गर्न केही समय भने लाग्नेछ,’ उनले भने, ‘तर कामलाई तिव्रताका साथ अगाडी बढाईएकाले अंग्रेजी बर्षको अन्तिमसम्ममा हाम्रा ग्राहकहरुलाई ईन्टरनेट सेवा प्रदान गर्नेछौं ।’

यस्तै कम्पनीले नेपालका विकट क्षेत्रमा पनि ईन्टरनेट सेवा पुर्याउनका लागि स्याटेलाईटमार्फत समेत ईन्टरनेट प्रदान गर्ने भएको छ । शहरी क्षेत्रमा अप्टिकल फाईबर तथा ग्रामीण क्षेत्रमा स्याटेलाईटमार्फत ईन्टरनेट सेवा पुर्याउने लक्ष्य लिएको कम्पनीले स्याटेलाईट ईन्टरनेट पनि पुषसम्ममा आईसक्ने जानकारी दिएको छ ।

‘नेपालका ग्रामीण तथा भौगोलिक विकट क्षेत्रमा स्याटेलाईटमार्फत ईन्टरनेट सेवा प्रदान गर्न विभिन्न ३ ओटा कम्पनीसँग कुरा भईरहेको छ,’ कम्पनीका सिईओ आचार्यले भने, ‘तर कुनै पनि कम्पनीको भौतिक पूर्वाधारको कामसमेत अगाडी नबढेकाले केही दिनमै उक्त कामहरु पनि पुरा हुनेछन ।’ स्याटेलाईटमार्फत ईन्टरनेट प्रदान गर्न उक्त कम्पनीहरुसँगको छलफल अन्तिम चरणमा पुगेको कम्पनीले जानकारी दिएको छ ।

कम्पनीले नेपालका टेलिभिजनहरु डिजिटल प्रणालीमा गईसकेपछि सेटअप बक्सको अत्याधिक खपत बढेको भन्दै उक्त सेटअप बक्स समेत नेपालमै उत्पादन गर्ने भएको छ । कम्पनीले डिजिटल होम ईन्टरनेशनलको सहकार्यमा नेपालमै सेटअप बक्स निर्माण गर्ने भएको हो ।
कम्पनीका अनुसार उक्त सेटअप बक्स निर्माणका लागि भौतिक कामहरु जस्तै भवन बनाउने सामानहरु आयात गर्ने लगायतका कामहरु भईसकेकाले जुलाईको अन्तिमसम्ममा सेटअप बक्स नेपालमै निर्माण गर्ने जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL