Logo

अन्तरराष्ट्रिय हवाई टिकटमा बढ्यो कालाबजारी, नियामक मुकदर्शक बन्दा भिजिट नेपाल २०२० लाई असर

अन्तरराष्ट्रिय हवाई टिकटमा बढ्यो कालाबजारी, नियामक मुकदर्शक बन्दा भिजिट नेपाल २०२० लाई असर



काठमाडौं । नेपालबाट अन्तरराष्ट्रिय उडान गर्दै आईरहेको जेट एयरवेज बन्द भएसँगै हवाई टिकटमा कालो बजारी बढेको छ ।

जेटएयर बन्द हुँदा टिकटमा अनावश्यक चाप देखाउँदै अन्तरराष्टिय उडान भर्दै आएका एयरलाईन्स कम्पनीहरुले सस्तोदरको टिकट लुकाएर कालोबजारी गर्न सूरु गरेका हुन । सामान्यतया काठमाडौं दिल्लीको हवाई भाडादर १५ देखी २० हजार रुपैयाँ भएकोमा हाल त्यसलाई वृद्धि गर्दै ६१ हजार रुपैयाँ पुर्याएको होटल एशोसिएशन अफ नेपाल (हान) का प्रथम उपाध्यक्ष विनायक शाहले बताए ।

अन्तरराष्ट्रिय वायुसेवा कम्पनीहरुको टिकट मूल्यमा अध्याधिक वृद्धि गर्दै सुरु गरेको कालोबजारीकरणका कारण भ्रमण बर्ष २०२० समेत प्रभावित हुने उनको भनाई रहेको छ । साथै उक्त कालोबजारीले गर्दा नेपाल भ्रमणमा आउने पर्यटकका साथै खाडी मुलुमा जाने कामदार समेत प्रभावित हुने शाहले जानकारी दिएका छन ।

शाहका अनुसार भ्रमण बर्षको मुखमा आएर हवाई भाडा बढ्नुले पर्यटन क्षेत्रमा ठूलो असर पर्ने छ । उनले भने, ‘अहिले जेट एयरवेजको उडान बन्द भए पछि काठमाडौं दिल्लीको हवाई भाडा ६१ हजार रुपैयाँ सम्म पुगेको छ ।’ भ्रमण बर्षको तयारीमा रहेका नेपालमा यस्ता कुराहरुले नकरात्मक असर गर्ने भन्दै यसमा सरकारले नै पहल थाल्नु पर्छ आँखा चिम्लेर बसेर नहुने उनको सुझाव छ ।

नेपाल आयल निगमले पछिल्लो समयमा पेट्रोल र डिजेलको मूल्य बढाए पनि हवाई इन्धनको मूल्य भने यथावत राखेको छ । तर अन्तरराष्ट्रिय उडानमा हुने हवाई कम्पनीहरुले भने शतप्रतिसत भन्दा बढी हवाई भाडा बढाएका छन । जसले गर्दा बैदेशिक रोजगारीमा जाने कामदार र नेपाल भ्रमणमा आउने पर्यटकलाई असर पर्ने सम्बद्ध ब्यवसायीहरु बताउँछन ।

कतार एयरवेजले विगतमा काठमाडौं कतारको एकतर्फी भाडा २० देखी २५ हजार रुपैयाँ लिने गरेकोमा जेट एयरवेज बन्द भएसँगै उच्च वृद्धि गर्दै ५० हजार रुपैयाँसम्म पुर्याएको छ । त्यस्तै नेपाल वायुसेवा निगमले पनि अन्तरराष्ट्रिय उडानमा हवाई भाडा बृद्धि गरेको छ । निगमले काठमाडौं कतार एकतर्फी भाडा २६ हजार रुपैयाँ लिँदै आएकोमा हाल ४४ हजार रुपैयाँ सम्म लिने गरेको पाईएको छ ।

तर नागरिक उड्डयन प्राधिकरणले भने अन्तरराष्ट्रिय उडानमा हुने हवाई भाडा बृद्धिको नियमक निकाय आफुहरु नभएको जानकारी दिएका छन । प्राधिकरणका उप महानिर्देशक राजन पोख्रेलका अनुसार अन्तरराष्ट्रिय उडानको बिभिन्न भाडादर हुने भएकाले नियन्त्रण गर्न नसकिने बताउँछन् । अन्तरराष्टिय उडान भर्दै आएका वायुसेवा कम्पनीहरुले अन्य देशको भाडादर यथावत राखेपनि नेपालको भने उच्च वृद्धि गरेका हुन् ।

उनका अनुसार आन्तरिक उडानको लागि भने हवाई भाडा दर राख्न प्राधिकरणले मन्त्रालयलाई सिफारिस गर्ने र सोही अनुरुप भाडा लिन पाउनेछन । उक्त तोकेको भाडादर भन्दा कसैले बढी लिएमा आफुहरुले कारवाही गर्ने उनको भनाई रहेको छ ।

प्राधिकरणका अनुसार आन्तरिक उडानमा भने सरकारले तोकेको काठमाडौं पोखराको भाडादर ५ हजार ५० रुपैयाँ रहेको छ । उक्त रकम भन्दा बढी लिएमा सरकारले कारवाही गर्छ तर एयरलाईन्स कम्पनीहरुले २ हजार रुपैयाँमा पनि उडान भरिरहेका छन् ।

वायुसेवा कम्पनीहरुको उडान सुरक्षा तथा भाडादर नियमन गर्ने निकाय प्राधिकरणले भने माग र पूर्तिको आधारमा भाडादर तय हुनेभन्दै कालोबजारी गर्ने कम्पनीलाई कारबाही गर्नुको सट्टा उन्मुक्ती दिने पक्षमा देखिन्छ । अन्तरराष्ट्रिय नियमानुसार चल्ने भएकाले यात्रुको संख्या कम भएमा भाडादर घटने र यात्रुको संख्या बढ्ने भन्दै उच्च भाडा लिँदा पनि कुनै कारबाही गर्न नसकिने पोख्रेल बताउँछन् ।

पछिल्लो समयमा हवाई भाडा बढ्नुमा पनि यात्रुको चाप बढी हुने र उडान कम हुने भएकाले भाडा बढेको हो । साथै जेट एयरवेजको उडान बन्द भए पछि त्यसको भार अन्य एयरलाईन्सहरुमा परेकाले पनि भाडा बढेको प्राधिकरणले जानकारी दिएको छ ।

काठमाडौं कतारको भाडा दर २० हजार देखी ५० हजार रुपैयाँ सम्म छ । तर जस्ले पहिले बुक गर्यो उसले २० हजार रुपैयाँमा पनि टिकट पाउन सकिन्छ भने भोलीको उडानमा आज टिकट लियो भने ५० हजार रुपैयाँ पनि पर्न जाने उनको तर्क थियो ।

प्राधिकरणका अनुसार अन्तरराष्ट्रिय प्रचलन अनुसारनै डिमाण्ड र सप्लाईमा बजारले नै भाडादर निर्धारण गर्ने गर्छ । तर प्राधिकरणले भने भाडा बढाएको नभई पहिले नै निर्धारण भएकै भाडा लागू गरेको भन्दै एयरलाईन्स कम्पनीको बचाउ गरेको छ । केही समय अगाडी भाडादर बढेको भए पनि अहिले त्यस्तो नभएको समेत प्राधिकरणले स्पष्ट पारेको छ । अहिले साविककै भाडादरमा अन्तरराष्ट्रिय उडान भईरहेको समेत पोख्रेलको दावी छ ।

पर्यटन क्षेत्रलाई नियमन गर्ने संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिकृष्ण लामिछानेले भने, ‘खुला बजारमा कसैलाई नियन्त्रण गर्न सकिँदैन । अन्तरराष्ट्रिय उडानमा हुने भाडा बृद्धिमा हामीले केही गर्न सक्दैनौं । भाडा बढ्यो भन्दैमा हामीले घटाउनु पर्छ भनेर भन्न पनि मिल्दैन किनकि त्यो खुला बजार हो ।’

ट्रेकिङ एजेनसिज एशोसिएशन अफ नेपाल (टान) का अध्यक्ष नवराज दाहालले भने निश्चित ब्यक्तिहरुको चलखेलले गर्दा हवाई भाडालगायत भिसा शुल्क, ट्रेकिङ शुल्क बढ्नु दुर्भाग्य भएको बताएका छन ।

भ्रमण बर्ष २०२० सफल गर्न गईरहेको अवस्थामा निजी तथा सरकारी दुबै क्षेत्रमा रहेका पर्यटन माफियाहरुको चलखेलले गर्दा भाडालगायतका सेवाहरुमा जुन बृद्धि भएको छ यसले पर्यटन उद्योग अघि बढन सकिँदैन ।

यदि सरकारले यस्ता माफियाहरुको पहिचान गरी कारवाही नगरे भ्रमण बर्ष नारामा मात्रै सिमित हुन्छ हुने दाहालको तर्क थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL