२० लाख पर्यटक भित्र्याउन हामीले पूर्वाधारमा प्राथमिकता दिनुपर्छ

dipak-raj-joshi

सरकारले सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य अनुरुप भ्रमण बर्ष घोषणा गरेको छ । नेपालमा २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएपनि सोही अनुरुप पूर्वाधार तयार नहुँदा लक्ष्य पुरा नहुने सम्बद्ध होटल व्यवसायीले बताउँदै आएका छन् । नेपालमा पर्यटक भित्र्याउन अन्तरराष्ट्रिय विमानस्थलको अभाव, होटल तथा सडक संचालनमा समस्या, प्रचारप्रसारको अभावजस्ता विषयले गर्दा लक्ष्य अनुरुप पर्यटक नभित्रने व्यवसायीहरुको दाबी छ । तर, सरकारले भने अन्तरराष्ट्रिय स्तरमा प्रचारप्रसारलाई बढी प्राथमिकता दिएको र नयाँ अन्तरराष्ट्रिय विमानस्थल निर्माणको अन्तिम चरणमा रहेको भन्दै उक्त लक्ष्य सहजै पुरा हुने दाबी गर्दै आएको छ । नेपाल भित्रने पर्यटकको गुणस्तर, उनीहरुले गर्ने खर्चको पारदर्शिता, २० लाख पर्यटक भित्र्याउन नेपाल सरकारले अघि सारेका योजनाजस्ता विषयमा केन्द्रित रहेर बिजखबरका राङडोल लामाले पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृति दिपकराज जोशीसँग गरेको कुराकानीको सार :

हामीले सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने घोषणा गरेका छौं । तर पर्याप्त पर्यटकीय पुर्वाधार उपलब्ध नहुँदै भ्रमण बर्षको घोषणा गर्दा अलि छिटो भए जस्तो लाग्दैन ?

भ्रमण बर्षको घोषणा छिटो भएको होईन, तर हाम्रो गति भने ढिला भएको हो । गति ढिलाहुनुको मुख्य कारण आजको आजै कहाँ काम हुन्छ र भन्ने हाम्रो पुरानो मानसिकताले पनि हो । तर, समग्रमा भन्नुपर्दा भ्रमणको तयारी राम्रै भइरहेको छ । हामीले सबै भन्दा ठूलो कुरा पूर्वधार निर्माणका ध्यान दिनुपर्नेछ तर सोचेअनुरु निर्माण गर्न सकेका छैनौं । पछिल्लो ५÷७ महिनाको कार्यविवरण हेर्ने हो भने राम्रै प्रगति भएको देखिन्छ । उदाहरणका लागि लुम्बिनी विमानस्थल पनि यो बर्षको अन्त्य तिर संचालनमा आउँछ, त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको पनि रनवेको रिह्यावको काम सुरु भएको छ । यो पनि समयमै सम्पन्न भयो भने ठूलो सहयोग पुग्ने छ भन्ने विस्वास लिएको छु ।

यसैगरी काठमाडौं वरिपरिको गन्तब्यहरुको बाटो जस्तो नगरकोट, धुलीखेल नागढुंगा यस्तो बाटोहरु पनि द्रूत गतिमा बन्दैछन । यो हिसावले हामीलाई लक्ष्य प्राप्ती गर्न त्यति गाह्रो हुँदैन । तर पूर्वधारलाई निकै ठूलो फोकस दिनु पर्छ, त्यो नभई अरु कुनै पनि विकासको आधार बन्दैन ।

भ्रमण बर्षको खास उद्देश्य नेपालमा २० लाख पर्यटक भित्र्याउने भन्ने छ । पर्यटकको संख्यामा मात्र हामीले किन जोड दिइरहेका छौ ?

त्यस्तो होईन, अहिले आएका पर्यटक पनि कम खर्चालु छैनन् । संख्या चै बढाउनु पर्ने नै हुन्छ किन भने नेपाल जस्तो धेरै भन्दा धेरै टुरीजम एट्रयाक्शन र डेस्टिनेशन भएको ठाउँमा २०÷२५ लाख भनेको ठूलो संख्या होईन । लिमिट नपुगेसम्म हामीले संख्या बढाउनै पर्छ । तर संख्याको साथसाथै बढी खर्च गर्ने गुणात्मक पर्यटक तान्न पनि ध्यान केन्द्रित गर्नुपर्ने जरुरी छ । हामीले मध्यपूर्वी एसियाका देशहरुबाट सबैभन्दा बढी पर्यटक भित्र्याउन पहल गरिरहेका छौं । किनकि त्यहा हाम्रो कनेक्टिभिटी राम्रो छ भने त्यहाँका मानिसहरुको खर्च गर्ने क्षमता राम्रो छ । युरोपिएन मुलुकहरुमा जर्मनी हाम्रो हराईसकेको मार्केट थियो । कुनै समय बार्षिक ४०÷४२ हजार जर्मनीहरु नेपाल घुम्न आउने गरेकोमा अहिले त्यो संख्या २०÷२२ हजारमा झरी सकेको छ । तर, त्यसलाई पनि विस्तारै सुधार गर्दैछौं ।

अहिले पर्यटकको संख्या बढ्ने तर सोही अनुरुप राजस्वमा योगदान नदेखिने भइरहेको छ । अझ भनौ पर्यटकले सम्बन्धित देशमै एप्समार्फत पे गर्ने प्रवृत्ति बढिरहदा नेपालले त लाभ लिन नपाउने भयो नि ?

पक्कै पनि कम लाभ भइरहेको छ सोचे अनुरुप प्रतफल लिन सकेका छैनौं । अहिले नेपालमा पर्यटक बढे तर आम्दानी घट्यो भन्ने हल्ला आईरहेको छ । तर एउटा सामान्य मानिसको रुपमा सोच्ने हो भने पनि होटलको भाडा विगतको भन्दा अहिले कति बढेको छ ? जहाजको, ट्याक्सीलगायत यातायातको, गाईडको शुल्क बढेको छ । सबै क्षेत्रमा शुल्क बढ्दा पर्यटक आम्दानी कसरी घट्न पुग्यो भन्ने प्रश्न खडा भएको छ । हामीमा विद्युतीय कारोबारलाई नियमन गर्ने संयन्त्र नुहँदा समस्या देखिएको छ । उदाहरणका लागि एयर वी एण्ड वी, चीनमा वीच्याटजस्ता माध्यमबाट कारोबार हुँदा समस्या देखिएको छ । यसरी कारोबार गर्दा नेपालमा पर्यटक आउँछन् तर उनीहरुले नेपालमा खर्च गरेको देखिँदैन । जसले गर्दा नेपालमा संख्यात्मक रुपमा बढी पर्यटक नेपाल भित्रिएपनि त्यसबाट बढी प्रतिफल प्राप्त गर्न सकेका छैनौं ।

यो प्रवृत्ती कम गर्न बोर्डको केही भुमिका हुन सक्छ ?

हामीले यस विषयमा नियमन गर्न अरु नै निकायलाई भन्ने हो । यो समस्या विश्वभर नै कठिन बन्दै गएको छ । यसलाई नियमन गर्नु त्यति सहज छैन । मैले सुने अनुसार केही देशले अनलाईन पेमेन्ट गेटवेलाई नियमन गरेर कर उठाउने प्रणालीको पनि विकास गरेका छन् । अन्यथा धेरै देशहरुमा यस्ता खालका समस्या छन् । तसर्थ यसलाई नियमन गर्न सरकारले नै विशेष खालको उपाय अनपाउनुपर्छ कुनै एउटा निकायले मात्र निमयन गरेर हुँदैन ।

पर्यटन बोर्डले गर्ने प्रवर्द्धनका काम खासगरी विदेश केन्द्रित प्रचारप्रसार गरेपनि खास प्रभावकारी भने हुन सकेन भन्ने आरोप बारम्बार लाग्ने गर्छ नि ?

हामीले एग्रेसिभ रुपमा पर्यटन प्रवर्द्धन गर्न सकिरहेको छैनौं । किनकि यसको मुख्य कारण हामीलाई पहिला पर्यटन पूर्वाधारको क्षमता बढाउनुपर्ने छ । यद्यपि हामीले ट्राभललाई लक्षित गरी बजारीकरण गर्दै आएका छौं । सो कार्यका लागि केही समय अघि मात्र बजेट र कार्यविधि स्वीकृत भएको छ । अब पर्यटन प्रवर्द्धन गर्न मेगा क्याम्पियनहरु र केही इभेन्टस गर्दैछौं । तसर्थ हामीले पर्यटन प्रवर्द्धनका लागि कामै नगरेका भन्न मिल्दैन । उदाहरणका लागि सिमित स्रोधसाधनका बावजुत पनि नेपाल आउने पर्यटकको संख्या २५÷३० प्रतिशतले बढ्नु भनेको सामान्य कुरा होइन ।

मलाई लाग्छ बार्षिक यति धेरै प्रतिशतमा पर्यटक भित्र्याउने मुलुकमा हामी विश्वमै टप ५ देश भित्र पर्छौं । कनकि अहिले विश्वमा पर्यटन आवागमनको वृद्धिदर ६ देखी ७ प्रतिशतमात्रै छ । दक्षिण एशियाको पर्यटक वृद्धिदर ७ देखी ८ प्रतिशतको हाराहारीमा छ । यसरी तुलना गर्ने हो भने हामीले पर्यटन प्रवर्द्धनमा कुनै कन्जुस्याई गरेका छैनौ । तर हामीले लिएको लक्ष्यअनुसार सख्यात्मक र गुणात्कम रुपमा पर्यटक भित्र्याउन विशेष खालका प्रचारप्रचार गर्नु जरुरी छ ।

अहिले पनि १० हजार जनशक्तिलाई तालिम दिने भन्ने योजना अनुरुप कार्यक्रम संचालन गर्दै आएका छौं । प्रचारप्रचारका लागि २÷३ सय अन्तरराष्ट्रिय मिडियाहरुलाई नेपाल बोलाउने लक्ष्य लिएका थियौं । जसमध्ये पनि १ सय २२ वटा अन्तरराष्ट्रिय मिडियालाई नेपाल भ्रमण गराएर विश्वमा नेपालको बारेमा प्रचारप्रसार गर्न लगाईसकेका छौं ।

विदेशमा पर्यटन दूत नियुक्त गर्दा कुनै खास मापदण्ड बिना सम्बन्धको आधारमा चयन हुन थाल्यो भन्ने गुनासो छ । त्यसरी नियुक्त भएका दूतले आफ्नो नाम मात्र प्रचार गर्ने तर पर्यटन प्रवद्र्धनका लागि उल्लेखनीय काम गर्न सकेन भन्ने आरोप छ नि ।

हो पक्कै पनि यो आरोप सहि छ । केही हदसम्म, किनकि हामीले नियुक्त गरेका त्यो दूत होईन, त्यहाँ एउटा कन्फ्युजन छ । हामीले अवैतनिक जनसम्पर्क प्रतिनिधि भनेर नियुक्त गरेका हुन्छौं । तर त्यसलाई पर्यटन दूत भन्ने हिसावले सोचियो भने गलत हुन्छ । किनकि उनीहरु पर्यटन दूत होइनन् । अबैतनिक भनेको विदेशमा बसेर राम्रो प्रोफाईल बनाएको र उसले नेपाललाई केही योगदान गर्न चाहन्छ भने त्यसलाई प्लेटफम दिनका लागि नियुक्त गरिने एउटा पद हो । तर पछिल्ला दिन त्यसलाई पर्यटनसँग जोडेर दुरुपयोग गर्ने काम भइरहेको छ । यस्ता धेरै घटना आएपछि अहिले हामीले कुनै पनि जनसम्पर्क प्रतिनिधि राखेका छैनौं । सबै बन्द गरेका छौं । मन्त्रालय, पर्यटन बोर्डलगायतको एउटा मापदण्ड बनाउनको लागि समिति बनाएका छौं । उक्त मापदण्ड बनेपछि मात्रै पर्यटन दूत नियुक्त गर्नेछौं । यसका सुधार गरिसकेका छौं ।

आन्तरिक पर्यटन प्रवर्द्धनमा बोर्डको सक्रियता अलि कम भएको हो ?

यस्तो होइन । अहिले मानिसको सोचाइमा परिवर्तन भयो । टेलिभिजन तथा पत्रिकाहरुमा केही बिज्ञापनहरु आउँदा चै केही प्रचारप्रसाारका काम भयो जस्तो लाग्ने तर, रणनीतिकरुपमा फेसबुक, ट्वीटरजस्ता सामाजिक क्षेत्रमा गरेको प्रचारप्रसार चाहिँ नदेखिदो रैछ । यसैगरी प्रचार गर्दा प्रभावकारी हुने तर सामान्य मानिसले चाहिँ केही पनि गरेको नदेख्ने हुँदो रैछ । आन्तरिक पर्यटन
प्रवर्द्धनकै लागि केही समय अघि ५०÷६० वटा गाडीमा रारामा कर्पोरेट आईकनहरुको भ्रमण गरायौं । उहाँहरुले फोटो तथा भिडियोहरु आफ्नो सामाजिक संजालमार्फत सार्वजनिक गरेका छन् जसले अन्य थुप्रै कर्पोरेट क्षेत्रलाई आकर्षण गरेको छ । हामीले मिडियामार्फत गर्ने प्रचारप्रसार भन्दा पनि यस्ता खालका कार्यक्रमलाई बढी महत्व दिएका छौं । बाहिर झट्ट हेर्दा ब्यानर होडिङबोर्डहरु देखिँदैनन् तर नतिजा भने एकदम राम्रो आईरहेको छ ।

पूर्व पश्चिम जहाँ हेरे पनि अहिले आन्तरिक पर्यटनमा वृद्धि भएको छ । तर उनीहरुलाई शिक्षित गर्नु जरुरी छ । अहिले आन्तरिक पर्यटक आफुलाई मन लाग्ने वित्तिकै कुनै योजना नबनाई घुम्न हिड्ने चलन बढेको छ । जसले गर्दा सम्बन्धित स्थानमा खाने बस्ने सुविधा मिलाउन गाह्रो हुन्छ भने कतिपय अवस्थामा बास नै नपाएको भन्ने पनि गुनासो आएको छ । अर्को कुरा धेरै जसो नेपाली पर्यटकहरु खानपिनमा बढी खर्च गर्ने तर अन्य मनोरञ्जनमा कम खर्च गर्ने प्रविृति छ । उनीहरुले खानपिनभन्दा पनि अन्य क्षेत्रमा बढी खर्च गर्ने हो भने त्यसले राज्यलाई दिने योगदान पनि बढी नै हुन्छ । तसर्थ यस्ता विषयमा एजुकेट गर्नु जरुरी छ ।

अर्को गन्तब्यवालाहरुलाई पनि गर्नु पर्ने छ । नेपालीहरु घुम्न जाने भनेको ३, ४ ओटा सिजनहरु छन । उदाहरणका लागि अहिले बच्चाबच्चीको विदाको समय छ । यो बेला परिवार सहित आन्तरिक भ्रमणमा जान सकिन्छ । त्यस्तै दशैं, जाडो विदा तथा अन्य चाडवाड केन्द्रित टूरका प्याकेज तथा सोही अनुरुपको होमस्टे प्याकेज ल्याउनु जरुरी छ ।

यसका लागि हाम्रो आगामी नयाँ योजना के छ त ?

हामीसँग आन्तरिक पर्यटकको डाटा नै छैन । जुन हामीले गर्न सकेका छैनौं । कुन स्थानमा कति मुभमेन्ट छ, आधिकारीक तथ्याङ्क छैन । यस्तै आन्तरिक पर्यटनको मुभमेन्टले सो क्षेत्रलाई कस्तो प्रभाव पारेको छ कस्तो खालका मान्छेहरु घुम्छन, कुन ठाउँ पुग्छन, कुन ठाउँ घुम्नको लागि चासो राख्छन भन्ने अध्ययन पनि छैन । यो बर्षदेखि सो विषयमा अध्यन गर्न लागेका छौं । त्यसको नतिजा छिट्टै आउँनेछ ।

मौलिक खानपानको परिचय गराउने अभियान कति सफल भए जस्तो लाग्छ ?

त्यो पनि एउटा नयाँ क्षेत्र हो । गतबर्ष हामीले एक्सपिरेन्स नेपाल कल्चरल एण्ड क्युजिन नेपाल भन्ने एउटा क्याम्पेन चलायौं । जसमा हाम्रो कर्ण शाक्यले नेतृत्व लिनु भएको थियो । होटल एशोसियसन, रेष्टुराँ एण्ड बार एशोसिएसनको सहयोग पनि थियो । र यसमा हामीले बाहिरको एनआरएन कमिटिसँग पनि काम गर्यौं । त्यतिवेला छनौटमा परेका खानाको मेनु सहितको २० वटा भिडियो बनाउँदै छौं । छनौटमा परेका मेनु हामीले नेपाल बाहिर रेष्टराँ खोल्नु भएका ब्यवसायीहरुलाई दिएका छौं । यसलाई नेपालको खाना प्रवर्द्धनको प्लेटफर्म बनाउने भनेर लागेका छौं । यो सुरुवात मात्रै हो ।

३ बर्षे कार्यकालको यो समयमा अहिलेसम्मको कामलाइ कसरी समीक्षा गर्नुहुन्छ ?

व्यक्तिगत रुपमा एकदमै सन्तुष्ट छु । म बोर्डको प्रमुख कार्यकारी हुँदा नेपालको पर्यटन क्षेत्र थिलथिलो अवस्थामा थियो । मनोबल गिरेको अवस्थामा थियो । धेरै संरचनाहरु भताभुङ्ग अवस्थामा थियो । जस्तो यो पर्यटनबोर्ड आफैमा पनि ३÷४ बर्षको बिभिन्न खालको अबरोधबाट गुज्रिएको थियो । तर, पछिल्लो ३ बर्षमा रिजल्ट हामीले एकदम राम्रो पाएका छौं । हरेक बर्ष हरेक महिना हामीले कम्तिमा पनि २० प्रतिशतको बृद्धि हासील गर्न सकेका छौं । पर्यटन बोर्ड निजी क्षेत्रसँग सहकार्य गरेर देशमा पर्यटन प्रवर्द्धन गर्न स्थापना गरिएको हो । तर विगतमा निजी क्षेत्रसँगै लडाई भएर एक खालको दुर्घटनामा पर्न पुगेको थियो । अहिले निजी क्षेत्रसँगको सहकार्य धेरै राम्रो भएको छ । यो मैले भन्नुभन्दा पनि निजी क्षेत्रले नै भन्दै आउनुभएको छ ।

अन्तरराष्ट्रिय क्षेत्रले हामीलाई यतिको भिजिबल नेपाल कहिल्यै थिएन भनेर धेरैले यो कमेन्ट गर्नु हुन्छ । यो कुरा नेपाल भित्र देखिने होइन । विदेशी संस्थाहरुले नेपालको पर्यटन अहिले धेरै समय पछि भिजिबल भएको छ भन्दै आउनु भएको छ । ब्यक्तिगत रुपमा जुन खटाई रह्यो मैले यो ३ बर्षमा सम्भवत कुनै पनि दिन विदा लिईन होला, लिनै पाईएन । बिहान देखी एउटा जागिर एउटा पेशा भन्दा पनि मिशनका हिसावले हिँड्यो त्यो हिसावले हेर्दा आफ्नो कार्यकालमा गर्न सक्ने जती मैले गरे जस्तो लाग्छ । कुनै पनि क्षेत्रमा इमान्दारी पूर्वक काम गर्दा रिजल्ट आउँदो रहेछ । यसमा म सन्तुष्ट छु ।

चाहेर पनि गर्न नसकिरहेको केही काम छ कि ?

किन नहुनु त्यस्ता चिज धेरै छन । वास्तवमा भन्नुपर्दा नेपाल भित्र काम गर्न त्यति राम्रो वातवरण चाहिँ छैन । एउटा हाम्रो प्रक्रियामुखी कल्चरका हिसावले अर्को चाहिँ टिमको मोविलाईजेशन पनि वास्तवमा साह्रै गाह्रो हुँदोरैछ ।

एउटा ब्यक्ति कुदेर हुने भन्दा पनि सिस्टमबाट काम गर्नुपर्छ जसले राम्रो नजिता ल्याउँछ । तर हामीकहाँ सिस्टम नै छैन । हाम्रो अफिसमा पनि सुधार गर्न चाहेको र खोजेको सेक्टर सिस्टम बसाल्नु नै हो । त्यसैगरी कुनै पनि कामलाई धेरै गृहकार्य गरेर मात्र अघि बढाउनुपर्छ । जुन हामीेले गर्न सकेका छैनौं । हामी भोल्युममा काम गर्न खोज्छौं तर नजिता आउँदैन । हामीले समर, विन्टर र मन्सुन गरी ३ ओटा सिजनमा फोकस गरेर मार्केटिङ गरिरहेका छौं । यसको रिजल्ट चाहिँ विस्तारै देखिँदै छ । जस्तो अघिल्लो बर्षको जुन जुलाईमा करिब ७० प्रतिशतको बृद्धि हासील गर्यौ । यो फेब्रुअरी पनि अफसिजननै मानिन्थ्यो तर ४० प्रतिशतको बृद्धि हासिल गर्यौं त्यो हिसावले पनि त्यो ग्याव हटाउने मेरो चाहाना थियो मलाई लाग्छ आगामी दिनमा त्यो पुरा हुन्छ ।

सबैभन्दा सन्तुष्ट काम कुन गरे जस्तो लाग्छ ?

नेपालको डेस्टिनेशन इमेज चाहिँ हाईटमा पुर्याउन सफल भइयो । संसारले अहिले हामीलाई नमुना देशका हिसावले हेर्छन । ठूलो विपतमा पनि रिकभर गर्न सफल भइयो । सामान्यत यस्तो ठूलो डिजास्टर हुँदा कम्तीमा दुई बर्ष लाग्दो रहेछ । हामीले ठूलो मेहनत गरी एक बर्षमै गर्यौ । जसबापत मलाई पुरस्कृत पनि गरियो । टुरिजममा हामीले केही हदसम्म इनोभेसन ल्यायौं । आन्तरिक पर्यटनमा पनि ठूलो परिवर्तन ल्याउनु पर्छ भनेर पहिलो पल्ट घुमफिर बर्ष २०७३ भनेर मनायौं । निजी क्षेत्रसँगको सहकार्य बढेको छ । विगतमा हुन नसकेका इनटरनेश्नल ट्राभलमार्ट हामीले गरेका छौं । हिमालयन ट्राभलमार्ट हामीले नेपालमा २ पटक गरिसक्यौ अव तेस्रो पटक हुँदै छ । विआईटिएम बुद्धिष्ट ट्राभलमार्ट भर्खरै सम्पन्न गरेका छौं । यो काम हामीले नै अघि बढाएका हौं । युवा उद्यमी सिड क्याम्प गरेका छौं जसबाट नयाँ नयाँ आईडिया भएका १६ जना उद्यमीहरु छानिएका छन ।

भ्रमण बर्ष सुरु हुन अब केही समय मात्रै बाँकी रहेको छ अहिले सम्म नेपाल पर्यटन बोडले कसरी तयारी गरिरहनु भएको छ ?

हामीले अहिले ४ भागमा विभाजन गरेर काम अगाडी बढाईरहेका छौं । पूर्वधारको लागि ठूलो लबिङ गर्नु पर्छ । त्यसमा पनि क्षेत्रगत प्राथमिकताका आधारमा काम गर्नुपर्छ । काठमाडौंको एयरपोर्टको रिह्याव र म्यानेजमेन्ट सुधार्नको लागि र भैरहवाको एयरपोर्ट छिटो सक्नको लागि हामीले एकदम लबिङ गर्दै आएका छौं । यसैगरी पर्यटन प्रवर्द्धनका लागि नीतिगत सुधारमा पनि काम भइरहेको छ भने भिजिट २०२० का लागि आगामी दिनमा आउने बजेटबाटै विशेष कार्यक्रम ल्याउने योजना बनाउँदैछौं ।

अर्को मुख्य विषय भनेको जनचेतना फैलाउनु नै हो । त्यसका लागि हामीले विभिन्न सेलिब्रेटीहरु र आईकनहरुसँग मिलेर भिडियोजहरु बनाउँदै छौं । पर्यटकलाई आतिथ्यता दिऔं स्वागतसत्कार दिऔं नठगौं, हाम्रो हेरिटेजहरु सफा राखौं भन्ने खालका म्यासेज दिने गरी अर्वेनेस क्याम्पेनहरु गर्दै छौं । र चौथो अन्तरराष्ट्रिय स्तरमा प्रवर्धन गर्न जिटुजी, बिटुबी मिटिङ तथा सम्झौता गर्नु पर्नेछ । कति केसमा चै हाम्रा विजनेस कमिटि र त्यहाँ का विजनेस कमिटिहरुलाई बिटुबी गर्नु पर्नेछ ।

सरकारले १ सय गन्तब्य पहिचान गरेर केही बजेट समेत विनियोजन गरेको थियो अहिले ति स्थानहरुमा पर्यटक लैजान हामी कति सक्षम भयौं त ?

सय गन्तब्यमा पर्यटक पुर्याउँन सकिँदैन । त्यहा डिफ्रेन्ट फेज छ त्यो सय गन्तब्यमा केही नयाँ गन्तव्य छन् भने केहीलाई पुरै विकास गर्नु पर्ने छ । केही नयाँ गन्तव्यमा पर्यटक पुर्याउने प्रयास गरिरहेका छौं । कुनै पनि गन्तव्यलाई आकर्षक बनाएर गुणात्मक पर्यटक तान्नुपर्ने बाध्यता छ । जसका लागि हामीले धेरै गृहकार्य गरिरहेका छौं । हरेक गन्तब्यलाई ५० लाख रुपैयाँ वजेट विनियोजन गरेको हो र २५ लाख रुपैयाँ वजेट निकास भइसकेको छ ।


फेसबूक कमेन्ट गर्नुहोस्

DMCA.com Protection Status