Logo

५ महिनादेखि अन्यौलमा रहेको मेलम्चीले निकास पाउँदै, अप्रिल भित्रै मल्टीप्याकेजमा टेण्डर आह्वान

५ महिनादेखि अन्यौलमा रहेको मेलम्चीले निकास पाउँदै, अप्रिल भित्रै मल्टीप्याकेजमा टेण्डर आह्वान



काठमाडौं । करिब ५ महिनादेखि अलपत्र परेको मेलम्ची खानेपानी आयोजना अघि बढ्ने भएको छ ।

‘यो आयोजना अब ब्रेकिङ न्युज बन्ने छ,’ आयोजनाका प्रवक्ता राजेन्द्र पन्तले भने, ‘हामीले सबै कागजपत्रलाई ब्याकप हुने गरी प्रोगाम बनाईरहेका छौं । कुन काम कतिखेर गर्ने, कति जनशक्ति आवश्यक पर्छ लगायतका कामहरु कम्प्युटरराईज गर्दै छौं ।’

अप्रिल पहिलो हप्तामै बोल कबोल (टेण्डर) गर्ने तयारी गरेको आयोजनाले यही महिना भित्रै कम्प्युटरराईजको काम सम्पन्न गरेर टेण्डर गर्ने भएको छ । तर हालसम्म के कसरी टेण्डर प्रकृयामा जाने भन्नेबारे भने कुनै निर्णय भएको छैन ।

निर्णय नभए पनि आयोजनाले हाललाई दुबै प्रकृया खुला राखेको पन्तले बताए । उनका अनुसार आयोजनालाई अगाडी बढाउन एउटै प्याकेजमा जानेकी मल्टिपल प्याकेजमा जाने भनेर दुबै प्रकृयालाई खुला राखेको हो ।

आयोजनाका अनुसार एउटै प्याकेजमा गयो भने मेलम्चीको पानी काठमाडौं आईपुग्न करिब ३ बर्ष भन्दा माथी समय लाग्ने देखिन्छ । तर मल्टिपल प्याकेज मार्फत जाँदा भने २ बर्ष भित्रै काठमाडौंबासीलाई मेलम्चीको पानी वितरण गर्न सकिने पन्तले जानकारी दिएका छन ।

उनका अनुसार सो आयोजनाको बाँकी काम सम्पन्न गर्न अझै करिब १ अर्ब रुपैयाँ भन्दा बढी लागत लाग्ने देखिन्छ । १ अर्ब रुपैयाँ भन्दा माथी गईसके पछि ग्लोबल टेण्डरमा जानु पर्ने हुन्छ । त्यसैले अबका दिनमा मल्टिपल प्याकेज बनाएर अघि बढ्ने तयारी गरेको समेत उनले जानकारी दिए ।

मल्टिपल प्याकेजमा (हेडबक्स र टनेल हाउस) बनाएर अघि बढेमा आन्तरिक टेण्डर गरी काम छिटो सम्पन्न गर्न सकिन्छ । तर एउटै प्याकेज बनाउँदा ग्लोबल टेण्डर गर्नु पर्ने हुन्छ जसले गर्दा काठमाडौंमा पानी आउन अझै ३÷४ बर्ष लाग्ने प्रवक्ता पन्तले बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL