Logo

लगानी सम्मेलनलाई ६ क्षेत्रका ३९ परियोजना ‘सोकेस’मा राखियो, प्राथमिकतामा पर्यटन र पूर्वाधार

लगानी सम्मेलनलाई ६ क्षेत्रका ३९ परियोजना ‘सोकेस’मा राखियो, प्राथमिकतामा पर्यटन र पूर्वाधार



काठमाडौं । सरकारले लगानी सम्मेलनमार्फत विभिन्न ६ सेक्टरका ३९ ओटा परियोजनामार्फत लगानी भित्र्याउन पहल गर्ने भएको छ । लगानी सम्मेलनका लागि १ हप्तामात्रै समय बाँकी हुँदा लगानी बोर्डले विभिन्न ३९ वटा परियोजना सार्वजनिक गरेको छ ।

काठमाडौंको सोल्टी होटलमा हुने लगानी सम्मेलनमा स्वदेशी तथा विदेशी लगानीकर्तालाई कृषि, शिक्षा तथा स्वास्थ्य, उद्योग, पर्यटन, यातायात र शहरी विकास क्षेत्रमा लगानी गर्न आव्हान गर्ने भएको छ । बोर्डले सोकेसमा राखेका परियोजनाको विस्तृत विवरण सहित सार्वजनिक गरेको छ ।

लगानी बोर्डका अनुसार सबैभन्दा बढी आयोजना पर्यटन पूर्वाधारको रहेको छ । पर्यटन पूर्वाधारको १० वटा आयोजना छनौंट हुँदा यातायात पुर्वाधारमा ९ ओटा परियोजनामा छनौट भएको छ ।

यस्तै शहरी विकास पुर्वाधारका लागि ७ ओटा परियोजना, उद्योग पुर्वाधार क्षेत्रका ३ ओटा परियोजना तथा शिक्षा तथा स्वास्थ्य क्षेत्रका ३ परियोजनामा लगानी खुला गर्ने बोर्डले जानकारी दिएको छ ।

शहरी विकास अन्तर्गतका परियोजनामा भने हेटौडा स्मार्ट सिटी लगायत देशका विभिन्न ५ क्षेत्रमा एकिकृत फोहोर ब्यवस्थापन तथा अन्तरराष्ट्रिय प्रदर्शनी स्थल रहेका छन ।

यस्तै पर्यटन क्षेत्रमा भने विभिन्न स्थानमा होटल, रिसोर्ट, पर्यटन क्षेत्र, दोलखामा फिल्म सिटी लगायत अस्पतालमा पनि लगानी भित्र्याउन पहल गरिने बोर्डले जानकारी दिएको छ ।

यातायात क्षेत्रमा भने काठमाडौंकै रिङरोडमा चल्ने ७० देखि ७५ ओटा विद्युतिय बस, विराटनगर क्षेत्रीय विमानस्थल, पूर्वपश्चिम विद्युतिय रेल, काठमाडौं–पोखरा–लुम्विनी रेलमार्ग लगायतका परियोजनामा लगानीका लागि आग्रह गरिने भएको छ ।

चैत १५ र १६ गते हुने लगानी सम्मेलनका लागि २३ देशका ५ सय भन्दा बढी सहभागिले भाग लिने बोर्डले जानकारी दिएको छ ।

बोर्डका अनुसार लगानी सम्मेलनलाई नै लक्षित गर्दैै २ सय ५० भन्दा बढी बैदेशिक लगानीकर्ताहरुले भाग लिने भएका हुन । सम्मेलनमा विभिन्न क्षेत्रका ६० जनाले बक्तब्य राख्ने कार्यक्रम रहेको छ ।

उक्त सम्मेलनको उद्घाटन यही चैत १५ गते विहान ९ बजे प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने भएका छन् । उनले सबै लगानीकर्ता तथा सम्मेलनमा सहभागीहरुलाई स्वागत तथा धन्यबाद दिने भएका छन । यस्तै साढे ९ बजे अर्थमन्त्री डा. युवराज खतिवडाले स्वागत मन्तव्य राख्ने कार्यक्रम रहेको छ ।

सम्मेलनको उद्घाटन सत्रमा प्रधानमन्त्री, अर्थमन्त्री लगायत विश्व बैंकका प्रमुख हार्टिग साफर, लगानी तथा वैदेशिक आर्थिक सम्बन्ध म्यानमारका एकाई मन्त्री यु थुङ तुङ, लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी लगायत ७ जनाले बोल्ने समयतालिका रहेको छ ।

बोर्डका अनुसार २ दिनसम्म चल्ने सम्मेलनमा विभिन्न ८ सेसनहरु चल्नेछन । जसमा सम्बन्धीत क्षेत्रका जानकार तथा विज्ञहरुले बहस गर्नेछन ।

लगानीबोर्डले छनोट गरेका ३९ ओटा परियोजनाहरु
कृषि पूर्वाधार क्षेत्र
१ केमिकल फर्टिलाईजर प्लान्ट
२ एकिकृत कृषि परियोजना, विरेन्द्रनगर सुर्खेत
३ एकिकृत कृषि परियोजना, चितवन र बनेपा
४ एकिकृत कृषि परियोजना, गोदावरी र अत्तरिया
५ एकिकृत कृषि परियोजना हेम्जा पोखरा
६ एकिकृत कृषि परियोजना पर्सागढी पर्सा
७ एकिकृत कृषि परियोजना तिलोत्तमा मनिग्राम
८ एकिकृत कृषि परियोजना उर्लाबारी मोरङ

शिक्षा तथा स्वास्थ्य क्षेत्र
१ धुलिखेल मेडिसिटी
२ एजुकेशन, हेल्थ एण्ड स्पोर्टस सिटी
३ गण्डकी प्राविधिक विश्वविद्यालय

उद्योग क्षेत्र
१ औद्योगिक पार्क मोतिपुर
२ औद्योगिक पार्क नौबस्ता बाँके
३ विशेष अर्थिक क्षेत्र सिमरा

पर्यटन पूर्वाधार क्षेत्र
१ दमौली बहुउद्देषिय परियोजना
२ दोलखा माउन्टेन एकेडेमी
३ ड्रिमल्याण्ड धुलिखेल
४ फिल्म सिटी दोलखा
५ गौतमबुद्ध अन्तरराष्ट्रिय प्रसुती अस्पताल
६ जानकी हेरिटेज होटल एण्ड कल्चरल भिलेज्
७ लक्जरी रिसोर्ट से फोक्सुन्डो
८ स्कि रिसोर्ट मनाङ
९ तालतलैया थिमपार्क विथ होटल
१० द खप्तड टुरिजम

यातायात पूर्वाधार क्षेत्र
१ विराटनगर क्षेत्रिय विमानस्थल
२ बस र्यापिड ट्रन्जिट, काठमाडौं रिङरोड
३ धनगढी क्षेत्रिय विमानस्थल
४ पूर्वपश्चिम विद्युतिय रेलमार्ग
५ आन्तरिक र बाह्य यातायात सेवा सुदुरपश्चिम प्रदेश
६ काठमाडौं–पोखरा–लुम्बिनी रेलमार्ग
७ काठमाडौं उपत्यका मेट्रो
८ निजगढ अन्तरराष्ट्रिय विमानस्थल बारा
९ र्यापिड पब्लिक ट्रान्सपोर्ट रामग्रा–तिलौराकोट

शहरी विकास पूर्वाधार क्षेत्र
१ हेटौडा स्मार्ट सिटी
२ एकिकृत फोहोर ब्यवस्थापन धुलिखेल
३ एकिकृत फोहोर ब्यवस्थापन जितपुर सिमरा
४ एकिकृत फोहोर ब्यवस्थापन रात्ननगर
५ एकिकृत फोहोर ब्यवस्थापन बुटवल
६ एकिकृत फोहोर ब्यवस्थापन जनकपुर
७ नेपाल अन्तराष्ट्रिय छलफल तथा प्रदर्शनी स्थल केन्द्र

प्रतिक्रिया दिनुहोस्
MBL