Logo

ग्राहकलाई गुणस्तरीय सेवा नदिएपछि टेलिकम र एनसेललाई कारबाही गर्दै प्राधिकरण, सेवामा सुधार ल्याउन १ महिनाको म्याद

ग्राहकलाई गुणस्तरीय सेवा नदिएपछि टेलिकम र एनसेललाई कारबाही गर्दै प्राधिकरण, सेवामा सुधार ल्याउन १ महिनाको म्याद



काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले आफ्नो कल सक्सेस रेटको (कल स्थापना हुन लाग्ने समय) न्युनतम मापदण्ड नपुर्याएको भन्दै टेलिफोन सेवा प्रदायकलाई कारबाही गर्ने भएको छ ।

प्राधिकरणले तोकेको कल सक्सेस रेटको न्युनतम मापदण्ड ५ सेकेन्डभन्दा कम नभएकाले ३ ओटै सेवाप्रदायक नेपाल टेलिकम, एनसेल र स्मार्ट टेलिकमलाई प्राधिकरणले कारबाही गर्न लागेको हो ।

प्राधिकरणले टेलिफोन सेवा प्रदायकका लागि कल सक्सेस रेट अर्थात कल स्थापना हुन लाग्ने समय ५ सेकेन्ड वा सो भन्दा कम राखेको छ । तर हाल सेवा दिइरहेका ३ ओटै टेलिफोन सेवाप्रदायकले सो रेटको मापदण्ड समेत पुर्याउन सकेका छैनन ।

प्राधिकरणले गरेको मोबोईल सेवाको गुणस्तर परिक्षण (ड्राईभ टेस्ट) प्रतिवेदन अनुसार भक्तपुरमा नेपाल टेलिकमको कल स्थापना हुन लाग्ने समय १२ दशमलव ३९ सेकेन्ड रहेको छ । यस्तै एनसेलको ७ दशमलव ८८ सेकेन्ड र स्मार्टसेलको १५ दशमलव ६५ सेकेन्ड रहेको छ ।

प्रतिवेदनमा उल्लेख भएअनुसार भक्तपुर लगायत बागलुङ, पोखरा र पृथ्वी राजमार्गमा ३ ओटै सेवाप्रदायकको कल सक्सेस रेट कम भएको पाईएको छ । नेपाल टेलिकमले समेत उक्त मापदण्ड पुरा नगरेकाले त्यसमा सुधार गरी मापदण्ड पुरा गर्न १ महिनाको म्याद दिइएको प्राधिकरणका निमित्त कार्यकारी अध्यक्ष पुरुषोत्तम खनालले जानकारी दिए ।

उनका अनुसार नेपालको भौगोलिक परिस्थितीका कारण सेवाप्रदायकले आफ्ना सेवाग्राहीलाई चाहेर पनि भनेजस्तो सेवा दिन सकेका छैनन । ‘हामीले सेवाप्रदायककलाई उहाँहरुको सेवामा सुधार ल्याउन १ महिनाको समय दिएका छौं,’ उनले भने, ‘१ महिनाभित्रमा के कारणले उक्त सेवा पुर्याउन नसकेको हो सोही अनुसार कारण सहित कारबाही गर्छौ ।’

हाल नेपालमा टेलिफोन सेवा प्रदान गरिरहेका नेपाल टेलिकम, एनसेल तथा स्मार्ट टेलिकमले टेलिफोन सेवाको गुणस्तरमा हेलचेक्र्याईँ गरेकाले कारबाही गर्न लागेको समेत उनले जानकारी दिए । विशेषगरी भौगोलिक कारणले नै उक्त सेवाको न्युनतम मापदण्ड पुरा गर्न नसकेको हुनसक्ने उनको अनुमान छ ।

प्राधिकरणले टेलिफोन सेवा र ईन्टरनेट सेवाको गुणस्तर पत्ता लगाउनका लागि पोखराको विभिन्न स्थान, पृथ्वी राजमार्गको नारायणगढ, कास्की सडक, बागलुङ बजारका विभिन्न स्थानमा र भक्तपुरकै विभिन्न स्थानमा मोबाईल ड्राईभ टेस्ट गरेको थियो ।

सेवाप्रदायकको सेवामा विभिन्न समयमा कल आफै काटिने दर पनि उच्च रहेको उक्त प्रतिवेदनले देखाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL