Logo

भारतीय लगानीकर्ता आएसँगै एग्रेसिभ रुपमा अघि बढ्दै सौर्य एयर : २ वर्ष भित्रमा १२ जहाज थपिने, यस्तो छ अन्तरराष्ट्रिय उडानको तयारी

भारतीय लगानीकर्ता आएसँगै एग्रेसिभ रुपमा अघि बढ्दै सौर्य एयर : २ वर्ष भित्रमा १२ जहाज थपिने, यस्तो छ अन्तरराष्ट्रिय उडानको तयारी



काठमाडौं । संचालन गर्न नसक्ने अवस्थामा पुगेको सौर्य एयर भारतीय लगानीकर्ताले खरिद गरसँगै एग्रेसिभ रुपमा अघि आउने भएको छ । सौर्यलाई भारतीय कुबेर समुहले खरिदगरेसँगै अबको २ बर्ष भित्रमा थप १२ ओटा जहाज ल्याउने घोषणा गरेको छ ।

कुबेर समुहले स्वामित्व लिएर संचालन गर्ने भए पछि अवको २ वर्ष भित्रमा ६०० सिरिजका थप १२ ओटा जहाज ल्याउन लागेको हो । कम्पनीले हाल एटिआर ४२ जहाज ३ ओटा र एटिआर ७२ जहाज ९ ओटा ल्याउने तयारी गरेको सौर्यका प्रमुख सेल्स एन्ड मार्केटिङ म्यानेजर मुकेश खनालले जानकारी दिए । उनका अनुसार एटिआर ४२ जहाज ५० सिटको हुनेछन भने एटिआर ७२ जहाज ७२ सिटको हुनेछन ।

नयाँ आउने जहाजबाट काठमाडौं पोखरा, सिमरा, भरतपुर लगायतका ठाउँहरुमा आन्तरिक उडान गर्ने योजना समेत रहेको खनालले जानकारी दिएका छन ।

त्यस्तै लामो समय देखि ग्राउण्डेड रहेका सौर्य एयरका जहाज सिआरजे २०० जहाजले भने मार्च ८ बाट सेवा दिने भएको छ । भारतीय लगानीकर्ता कुवेर समुहले जहाज खरिद गरे पछि उक्त जहाज मार्च ८ बाट संचालनमा आउने भएको हो ।

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थललाई बक्यौता बापतको रकम आइतबार बुझाउने भए पछि मार्च ८ बाट जहाज संचालनमा ल्याउन लागेको खनालले जानकारी दिएका हुन ।

विमानस्थलका महाप्रवन्धक राजकुमार क्षेत्रीका अनुसार शुक्रबार कुबेर समुहको नयाँ प्रोपाईटर आएर आफुलाई बक्यौता रकमको पहिलो किस्ता बापतको ५० लाख रुपैयाँ रकम बुझाउने बताएका छन । विमानस्थलले उक्त जहाजलाई बक्यौता रकम नबुझाएको भन्दै लामो समय देखि ग्राउण्डेड गर्दै आईरहेको छ ।

विमानस्थललाई बक्यौता रकम बुझाए पछि उक्त जहाजले पहिलो उडान भने काठमाडौं विराटनगर गर्ने भएको छ । २ वर्षको लागि उडान अनुमति (एओसी) पाएको कम्पनीले सेफ्टी अडिट लगायतको काम समेत सम्पन्न गरिसकेको छ । ‘हामीले अडिडको काम पनि सम्पन्न गरिसकेका छौं । खनालले भने, ‘अव हामी मार्च ८ बाट जहाज उडाउन सक्छौं ।’

सिआरजे २०० जहाजले पहिलो उडान काठमाडौं विराटनगर गरे पछि भैरहवा, भद्रपुर नेपालगञ्ज लगायतका स्थानहरुमा समेत उडान भर्नेछ । साथै कम्पनीले ल्याउने थप १२ ओटा जहाजले भने आन्तरिक उडान गर्ने र अहिले संचालन भईरहेको उक्त जहाज र ग्राउण्डेड जहाजलाई मर्मत गरेर अन्तरराष्ट्रिय उडान गर्ने योजना समेत बनाएको खनालले जानकारी दिएका छन ।

उनका अनुसार सिआरजे २०० सिरिजका ५० सिटे २ ओटा जहाजले भारतका लखनउ, दिल्ली, कोलकाता लगायतका स्थानहरुमा उडान भर्ने छ । कम्पनीको अहिले भएको सिआरजे जहाजले उडान भरे पछि तत्कालै थप जहाज ल्याउन मन्त्रालयमा आवेदन दिने तयारी गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL