Logo

ग्राउण्डेड भएको २१ दिन पछि निगमको वाईडबडी अन्नपूर्ण संचालनमा, पहिलो उडान हङकङ

ग्राउण्डेड भएको २१ दिन पछि निगमको वाईडबडी अन्नपूर्ण संचालनमा, पहिलो उडान हङकङ



काठमाडौं । नेपाल वायुसेवा निगमको वाईडबडी जहाज ‘अन्नपूर्ण’ ग्राउण्डेड भएको २१ औं दिन पछि संचालनमा आउने भएको छ । निगमका जहाज अन्नपूर्णको ब्रेक सिस्टममा खराबी आए पछि मर्मतको लागि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ग्राउण्डेड गरिएको थियो ।

बुधबार बेलुकानै कतारको दोहामा उडान गर्ने भनिए पनि दोहाको लागि एयरबस मकालुले उडान भरे पछि अन्नपूर्णले अहिले दिउँसो हङकङको उडान गर्ने भएको हो । गत कार्तिक २२ गते देखि ग्राउण्डेड भएको सो जहाजको ब्रेक सिस्टम, कार्गोडोर लगायतका समस्या आए पछि विगत २१ दिन देखी ग्राउण्डेड भएको थियो ।

निगमका प्रवक्ता अशोक सिग्देलका अनुसार जहाज मर्मत गरीसकेपछि ‘पिटोटिक स्टाटिक टेस्ट’ गरेर मात्रै संचालनमा ल्याउनु पर्ने भएकाले केही ढिला भएको बताएका छन ।  दैनिक करोड रुपैयाँ भन्दा बढी घाटामा रहेको निगमले उक्त जहाज गत बुधबार देखि संचालमा ल्याउने बताउँदै आए पनि पटक पटक भाका राख्दै बिहीबारबाट उडाउन लागेको हो ।

त्यस्तै निगमको ग्राउण्डेड एनए ६० जहाज बुधबारबाटै संचालनमा ल्याउने तयारी गरे पनि लामो समय देखि ग्राउण्डेड भएकाले शुक्रबार मात्रै उडाउने तयारी गरेको निगमले जानकारी दिएको छ । लामो समय सम्म ग्राउण्डेड हुँदा यात्रु नभए पछि शुक्रबारको लागि टिकट काटेर मात्रै संचालनमा ल्याउन लागेको प्रवक्ता सिग्देलले जानकारी दिएका छन ।

शुक्रबार देखि संचालनमा आउने एनए ६० जहाजले भने विराटनगर, भद्रपुर, धनगढी र नेपालगञ्ज उडान गर्ने भएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL