Logo

अनलाईन ट्रेडिङको उद्घाटन गर्दै अर्थमन्त्रीले भने, मान्छेको बोली र व्यवहार होइन कम्पनीको वासलात हेरेर लगानी गर्नुस

अनलाईन ट्रेडिङको उद्घाटन गर्दै अर्थमन्त्रीले भने, मान्छेको बोली र व्यवहार होइन कम्पनीको वासलात हेरेर लगानी गर्नुस



काठमाडौं । ‘म निहुँरिएर बोल्दा सेयर बजार वियरिस र ठाँडो भएर बोल्दा बुलिस हुन्छ भन्लान त्यसैले म सिधा भएर बोल्छु,’ अर्थमन्त्री डा. युवराज खतिवडाले नेप्सेको अनलाईन ट्रेडिङको उद्घाटन गर्दैै भने ।

कार्डक्रममा बोल्दै उनले व्यक्तिको बोली र व्यवहार भन्दा पनि कम्पनीको वासलात र त्यसको समग्र पक्ष हेरेर लगानी गर्न आग्रह गरे । ‘लगानीकर्ताले मान्छेले के बोल्छ कसले के गर्छ भन्ने भन्दा पनि आफुले लगानी गर्न चाहेको कम्पनीको वासलात र त्यसको समग्र अवस्था अध्ययन गर्नुस,’ उनले भने, ‘नेप्सेमा सुधारको लागि धेरै विषयको स्तरोन्नती गर्नुछ त्यसमध्ये आजबाट अनलाईन ट्रेडिङको सुरुवात गरेका हौं ।’

कार्यक्रममा उनले हाल संचालनमा रहेका म्युचुअल फण्डले नेप्से सुधारका लागि काम गर्न नसकेको भन्दै अबका दिनमा नयाँ संस्थागत लगानीकर्ता भित्र्याउनुपर्ने बताए । ‘मैले पनि केही लगानीकर्ताहरुलाई संस्थागत रुपमा पूँजी बजारमा आउन आग्रह गरेको छु,’ उनले भने, ‘अहिले भएका संस्थागत लगानीकर्ताले पूँजीबजारमा राम्रो काम गर्न सकेनन् त्यसैले अब नयाँ भित्र्याउनु पर्छ ।’

कार्यक्रममा नेप्सेमा प्रमुख कार्यकारी अधिकृति चन्द्र सिंह साउदले नेप्सेको अनलाईन कारोबारसँगै पूँजी बजारमा कोशेढुङ्गा हुने बताए । ‘लगानीकर्ताको लामो समयको प्रतिक्षा पछि नेप्सेले अनलाईन कारोबार संचालनमा ल्याएको छ,’ उनले भने, ‘अबका दिनमा सहज रुपमा कारोबार गर्न सकिनेछ ।’

यसैगरी धितोपत्र बोर्डका अध्यक्ष डा. रेवतबहादूर कार्कीले सबै स्थानीय तहमा पूँजीबजारको विकास भइरहेको भन्दै अनलाईन कारोबारले पूँजी बजार विकासमा ठूलो सहयोग पुग्ने बताए । साथै यसले ब्रोकर कम्पनीको शाखाहरुको नियमनमा पनि सधाउ पुग्ने उनको दावी थियो । ‘अहिले ब्रोकरले ४१ स्थानमा शाखा संचानलमा ल्याएका छन् तर ती शाखाले शाखाको रुपमा नभई स्वतन्त्र रुपमा काम गर्दै आएका छन्,’ उनले भने, ‘यसलाई नियमन गर्न जरुरी छ ।’

प्रतिक्रिया दिनुहोस्
MBL